चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर करिब सात प्रतिशत हुने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको बृद्धिदर ६ दशमवल ९४ हुने छ।
बृद्धिदरको यो प्रक्षेपण २४ वर्षपछिको सबैभन्दा बढी हो। यसअघि २०५० सालमा ८ दशमलव ६ प्रतिशत आर्थिक बृद्धिदर थियो।
मौसमी अनुकुलता, नियमित बिजुलीको आपूर्ति तथा देशमा निर्माण कार्यले तिव्रता पाएकोले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर करिब सात प्रतिशत पुग्ने अनुमान गरिएको विभाग अन्तर्गत राष्ट्रिय लेखा शाखाका कार्यकारी निर्देशक ईश्वरीप्रसाद भण्डारीले सेतोपाटीलाई जानकारी दिए।
विभिन्न स्रोतबाट प्राप्त आयको उत्पादनमुलक क्षेत्रमा लगानी बढ्दै गएको, मल, बिउ तथा मौसमी अनुकुलताको कारण कृषि उत्पादन उकालो लागेको जस्ता कारणहरूले यस वर्ष नेपालको आर्थिक बृद्धिदर विगतको तुलनामा उच्च रहने विभागले दाबी गरेको छ।
रेमिट्यान्स तथा अन्य क्षेत्रबाट आएको प्रतिफल उत्पादनमुलक क्षेत्रमा परिचालन हुँदै गएकोले प्रक्षेपित बृद्धिदर सहजै भेटिने अधिकारीहरुको विश्वास छ।
नयाँ संविधान निर्माणपछि देशमा बन्द हडतालको ठाउँमा लगानीको उत्साह बढ्नु, नीतिगत सुधार हुनु जस्ता कारणले निजी क्षेत्रमा सकारात्मक ऊर्जाको सञ्चार भएकोले बृद्धिदर अपेक्षित आँकडामै आउने विभागका महानिर्देशक सुमनराज अर्यालले सेतोपाटीसँग बताए।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही वृद्धिदर गत आर्थिक वर्ष २०७२–७३ मा ० दशमलव १ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७१–७२ मा २ दशमवल ९७ प्रतिशत हुने अन्तिम अनुमान थियो।
यसअघि विभिन्न निकायले नेपालको बृद्धिदर विगतको तुलनामा उच्च रहने प्रक्षेपण गरेका थिए। जसमा एशियाली विकास बैंकले ५.२ देखि ६, विश्व बैंकले ६ प्रतिशत सम्मको बृद्धिदर हुने प्रक्षेपण गरेको थियो।
चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रले ३० प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ। अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३–७४ मा यस क्षेत्रको कुल मूल्य अभिबृद्धि वृद्धिदर ५ दशमलव ३२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। चालू आर्थिक वर्षमा मौसम अनुकुल भएको, कृषि व्यवसायीकरणमा उल्लेख्य प्रगति हुँदै गएको, पुनर्निर्माणका लागि वन पैदावरका सामाग्री उत्पादनमा बृद्धि भएको तथा उत्खनन् क्षेत्रको उत्पादन बृद्धि जस्ता कारणहरुले यस क्षेत्रको उत्पादनमा निकै बृद्धि भएको तथ्यांकले देखाएको छ।
निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी क्षेत्र चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा १४ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३–७४ मा यस क्षेत्रको कुल मूल्य अभिबृद्धिको बृद्धिदर १० दशलमव ९७ प्रतिशतले बृद्धि हुने प्रारम्भिक अनुमान छ। खासगरी पुनर्निर्माण तथा अन्य निर्माण कार्यको तिब्रता, ऊर्जा क्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन बृद्धि लगायतका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दरमा उल्लेख्य प्रगति देखिन्छ।
थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाले चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ५५ दशलमव ९९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३–७४ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ६ दशमवल ९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। स्वदेशी वस्तुहरुको उत्पादनमा भएको बृद्धि तथा आयातित वस्तुहरुमा भएको बृद्धिले व्यापार क्षेत्रको उत्पादन सकारात्मक भएको देखिन्छ। पर्यटनहरुको आगमनमा भएको बृद्धि, व्यावसायिक वातावरण अनुकुल हुनुजस्ता कारणले होटल, रेष्टुरेण्ट, यातायात तथा सञ्चार क्षेत्रको आर्थिक प्रगति उल्लेखनीय भएको छ।
शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाहरुमा पनि क्रमिक रुपमा प्रगति भइरहेको तथ्यांकले देखाएको छ।
चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रले ५.६७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७२-७३ को तुलनामा आर्थिक वर्ष २०७३-७४ मा कुल मूल्य अभिबृद्धि ९ दशमवल ७ प्रतिशतले बृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
गत आर्थिक वर्षमा भूकम्पको प्रभाव तथा सीमानाकामा भएको अवरोधका कारण संकुचित भएको यस क्षेत्र, चालु आर्थिक वर्षमा भने अनुकुल वातावरणका कारण अधिक मात्रामा उत्पादन हाशिल गर्न सफल भएको छ। चालु आर्थिक वर्षमा यस क्षेत्रले इन्धन तथा कच्चा पदार्थको पर्याप्त आपूर्ति प्राप्त गर्नुका साथै बन्द तथा हड्ताल जस्ता अवरोध सामना गर्नु परेन जसका कारण उत्पादनमा उल्लेख्य बृद्धि हुन गएको छ।
जीडीपीमा निर्माण क्षेत्रले ७ दशमलव १८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३–७४ मा निर्माण क्षेत्रको कुल मूल्य अभिबृद्धि ११ दशमलव ६६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ। निर्माण तथा पुनर्निर्माणका कार्यहरुमा बढोत्तरी हुनु नै यस क्षेत्रको उत्पादन बृद्धि हुनुका प्रमुख कारण भएको तथ्यांकले देखाएको छ।
खासगरी मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जल विद्युत आयोजनालगायत अन्य ठूला ठूला आयोजनाहरुको निर्माण कार्यले गर्दा यो क्षेत्रको उत्पादन उल्लेख्य बृद्धि हुन पुगेको हो।
थोक तथा खुद्रा व्यापारले जीडीपीमा १३ दशमलव ५२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा होटल तथा रेस्टुरेन्ट क्षेत्रले १ दशमलव ९८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ।