ललितपुर महानगरपालिकाले निर्माण गर्ने भनेको थापाथली–पुल्चोक फ्लाई ओभरको विस्तृत अध्ययनमा जापानी सहयोग नियोग (जाइका)ले सहयोग गर्ने भएको छ। जाइकाले हाल काठमाडौंको त्रिपुरेश्वरदेखि माइतीघरसम्मको फ्लाई ओभरको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महार्जनसँगको भेटमा जाइकाका पदाधिकारीहरुले महानगरको उक्त आयोजनामा सहयोग गर्न तयार रहेको बताएका हुन्।
बढ्दो सवारी चापलाई व्यवस्थित गर्न निर्माण गर्ने भनिएको उक्त फ्लाई ओभरका लागि सम्भाव्यता अध्ययन भने महानगरले स्थानीय परामर्शदाताबाटै गराउने तर डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) निर्माणमा जाइकाले सघाउने भएको महर्जनले जानकारी दिए।
जाइकासँगको सहकार्यको लागि प्रक्रियागत हिसाबले समय लाग्ने र सो अवधिसम्म सम्भाव्यता अध्ययन पनि सकिने भएकोले डिपिआरको लागि जाइकासँगको प्रक्रिया पनि अगाडि बढाउने र यता पूर्वसम्भाव्यता अध्ययन पनि गर्दै गर्ने महर्जनको योजना रहेको छ।
जाइकासँग सहकार्य गर्नको लागि महानगरले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय , मन्त्रालयले पराराष्ट्रमार्फत जाइकासँग प्रस्ताव गर्नुपर्छ। सो अवधिमा महानगरले भने सम्भाव्यता अध्ययन गर्ने र सोको प्रस्ताव छिट्टै आव्हान हुने महर्जनले जानकारी दिए।
हाल जाइकाले त्रिपुरेश्वर– माइतीघर फ्लाई ओभरका लागि डिपिआर बनाइरहेको र उक्त अध्ययनमा थापाथलीमा ललितपुरबाट पनि आउने प्राविधिक विश्लेषण गरिएकोले जाइकासँगै कुरा अगाडि बढाइएको महर्जनले जानकारी दिए।
‘मलाई त्यो कुरा थाहा थियो, त्यसैले जापानी राजदूतसँगको भेटमा उक्त कुरा उठाए’ उनले भने,‘त्यसपछि उहाँले जाइकाका पदाधिकारीहरुसँग भेट गराउनुभएको थियो।’
जाइकासँग फ्लाई ओभरजस्ता आयोजना निर्माण, अध्ययनको लामो अनुभव, प्रविधि भएकोले उनीहरुमार्फत काम गर्दा सहज हुने महानगरको आँकलन रहेको छ।
ललितपुर महानगरपालिकाले पुल्चोकदेखि कुपन्डोलसम्म १ दशमलव ५ किलोमिटर दूरीको फ्लाई ओभर निर्माणको प्रक्रिया अगाडि बढाउने यसअघि नै निर्णय गरिसकेको छ।
महानगरको मेयरमा विजयी हुनुभन्दा अगाडि नै चिरीबाबु महर्जनले ट्राफिक जामको समस्या समाधान गर्न काठमाडौंसँग जोड्न फ्लाई ओभर निर्माण गर्ने घोषणापत्रमा राखेका थिए। त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म काठमाडौं महानगरले फ्लाई ओभर बनाउने योजना बनाइरहेकोले सोही योजनामा ललितपुरबाट पनि जोड्ने योजना महर्जनले बनाएका छन्।
त्यसैको लागि महानगरले काठमाडौं महानगर, जाइकासँग छलफल अगाडि बढाएको हो। महानगरले सम्भाव्यता अध्ययन गरी सम्भावित लागत अनुमान गर्ने र त्यसपछि विस्तृत अध्ययन प्रतिवदेन तयार पार्नलाई जाइकालाई जिम्मेवारी दिने महर्जनको तयारी रहेको छ।