रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ।
यसअघि उद्योग स्थापना र सञ्चालनको अनुमति लिएर पनि वर्षौसम्म उद्योग स्थापना नगरेका उद्योगहरूको इजाजत खारेज गरेको सेज प्राधिकरणले नयाँ उद्योग स्थापना तथा सञ्चालनका लागि यही फागुन १५ गते प्रस्ताव आह्वान गरेको हो।
सेजका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार भैरहवामा खाली रहेका ४५ वटा प्लटमध्ये ब्लक ‘ए’ मा रहेका २२ वटा प्लटमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको हो।
फागुन १५ गतेदेखि आह्वान गरिएको प्रस्ताव फागुन ३० गतेसम्म बुझाउन पाइने सेज प्राधिकरणले जनाएको छ।
पटक/पटक प्रस्ताव आह्वान गरिए पनि उद्योगीहरू आउन अनिच्छिुक देखिएपछि स्थापना हुने उद्योगहरूलाई विभिन्न प्रोत्साहन सुविधासँगै यसअघिको भाडादरमा समेत कमी गरिएको भट्टले बताए।
यसअघि प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडा लिने गरिएकोमा उद्योगीहरू आकर्षित नभएपछि भाडादर घटाएर प्रतिवर्गमिटर प्रतिमहिना १० रुपैयाँ लागू गरिएको छ।
यस्तै, विशेष आर्थिक क्षेत्रले भौतिक पूर्वाधार, आन्तरिक सडक, पानी, विद्युत, पेट्रोलियम पम्प, धर्मकाटा, सुरक्षा पोष्ट, पानी प्रशोधन केन्द्र, बैंक, बीमा लगायतका सुविधा उपलब्ध गराउने जनाएको छ।
यसैगरी, सेजमा स्थापित उद्योगमा उत्पादित वस्तुहरूको निर्यात प्रावधानलाई पनि फेरबदल गरिएको छ।
सेज सञ्चालनको सुरूआती समयमा यहाँ उत्पादित उद्योगलाई पहिलो १ वर्ष निर्यातमा छुट गरिएकोमा अहिले १ वर्ष थप गरी २ वर्षसम्म शून्य निर्यात प्रावधान राखिएको छ।
त्यसपछि भने स्थापनाको तेस्रो वर्ष कुल उत्पादनको २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौ वर्षदेखि उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राखिएको छ। यसअघि उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्नेमा त्यसलाई घटाएर ६० प्रतिशतमा झारिएको भट्टले जानकारी दिए।
देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने सेजमा हाल ६ वटा उद्योगले उत्पादन गरिरहेका छन्।
कुल ५२ बिघा क्षेत्रफलमा स्थापना गरिएको सेजमा सुरूमा २२ वटा उद्योगले सञ्चालन अनुमति लिएका थिए। तर अनुमति लिए पनि लामो समयसम्म उद्योग स्थापनाको कुनै प्रक्रिया नै सुरू नगरेका उद्योगहरूको अनुमति खारेज गरिएको छ।
गत पुसमा मात्रै ७ वटा उद्योगको इजाजत खारेज गरिएको थियो।
यसरी इजाजत खारेज हुने उद्योगहरूमा अरिहन्त एग्रो प्रोसेसिङ प्रालि, नेसनल अर्गनिक्स प्रालि, कुराकानी अनलाइन प्रालि, आइडिएस इलेक्ट्रिकल्स प्रालि, नीर इन्डष्ट्रिज प्रालि, शक्ति मिनरल्स प्रालि र क्रिएसन वर्ल्डवाइड प्रालि रहेका छन्।
तीन वर्ष पहिले नै उद्योग स्थापनाको लागि १९ वटा प्लटको सम्झौता गरेका ती उद्योगहरूले सफाइको मौका दिँदासमेत सेजमा सम्पर्क गरेका थिएनन्।
६८ वटा प्लट रहेको सेजमा ६ वटा उद्योगले २३ वटा प्लट लिएर उत्पादन गरिरहेका छन्। सञ्चालनमा रहेका उद्योगमा शक्ति मिनरल्स प्रालिले स्वदेशी चुनढुंगालाई प्रशोधन गरी फाइनस्टोन, फ्लक्स, लाइनस्टोन र डोलोमाइटको उत्पादन गरी भारत निर्यात गर्दै आएको छ। शक्ति मिनरल्स सेजमा स्थापना हुने पहिलो उद्योग समेत हो।
त्यस्तै, ब्रिलियन्ट लाइटिङ इण्डष्ट्रिज प्रालिले यलइडी बल्ब, भिस्टार ग्लोबल प्रालिले स्टिलका भाँडा, पञ्चकन्या एसएस एक्स्पोर्ट प्रालिले पानी ट्यांकी, तिरुपति मेटल इण्डष्ट्रिज प्रालिले बेट्रिमा राखिने सिसा, यस प्लाष्टिक इण्डष्ट्रिजले प्लाष्टिक र जयबुद्ध मेटल एण्ड क्राफ्टले पित्तलको मूर्ति, कलश, पूजाको सामग्री तथा भाँडाहरू उत्पादन गर्दै आएको छ।
यी उद्योगले गतवर्ष सवा एक अर्ब हाराहारीका वस्तु उत्पादन गरी निर्यात गरेको सेजले जनाएको छ।
सेजमा छाला, जडिबुटी, फलफूल, प्लाष्टिक, इलेक्ट्रिक, गार्मेन्टलगायत १७ प्रकारका उद्योगलाई प्राथमिकतामा राखिएको छ। यहाँ स्थापना हुने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, कच्चा पदार्थ तथा मेसिनरी उपकरणको आयातमा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता पाउने गरेका छन्।
सरकारले निर्यातजन्य उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने र मुलुकको आर्थिक वृद्धि गर्ने उद्देश्यले ५२ बिघा जग्गा अधिग्रहण गरी २०५७ सालमा नमूनाको रूपमा आयोजना अगाडि बढाएको थियो।
पाँच वर्षमा काम सम्पन्न गर्नेगरी सुरू गरिएको सेजको निर्माण कार्य भने १५ वर्षपछि २०७१ सालमा मात्रै सम्पन्न भएको थियो।
२०७१ सालमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले संयुक्त रूपमा उद्घाटन गरेको सेज २०७३ साल फागुनमा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले दोस्रोपटक उद्घाटन गर्दै सेज सञ्चालन भएको घोषणा गरेका थिए।
तर दोस्रो पटक उद्घाटन गरिएको ५ वर्ष पूरा भए पनि सेज पूर्ण रूपमा सञ्चालनमा नआउँदा निर्यातमुखी उद्योगमार्फत विदेशी मुद्रा आर्जन गर्ने सरकारको योजना पूरा हुन सकेको छैन।