भदौ २४ गते मंगलबार प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरका २८ मध्ये २१ वटा शाखामा हमला गरे। उनीहरूले ती शाखामा घुसेर तोडफोड र आगजनी गर्नुका साथै बिक्रीका लागि राखिएका सरसामान लुटेर लगे।
प्रदर्शनकारीहरूको निशानामा परेका २१ शाखामध्ये १२ वटामा लुटपाटपछि आगो झोसियो भने ९ वटामा तोडफोड र लुटपाट मात्र भयो।
देशभर छरिएका सातवटा शाखामा भने कुनै क्षति पुगेको छैन। त्यसैमध्ये एक हो – टोखा भाटभटेनी।
यो शाखालाई सेना, प्रहरी वा अन्य कुनै सुरक्षा निकायको सतर्कताले जोगाएको होइन। यो स्थानीय बासिन्दाको एकता र सुरक्षाका कारण आक्रमणबाट जोगिएको हो।
स्थानीय बासिन्दा आपसमा एकजुट भए टोल वा क्षेत्रमा भएका कुनै पनि संरचनालाई कसरी आक्रमणबाट बचाउन सक्छन् भन्ने उदाहरण टोखावासीले देखाएका छन्।
'आफ्नो टोल र छरछिमेकमा रहेका संरचना जोगाउनु हाम्रो दायित्व हो,' टोखाकी स्थानीय सुशीला अधिकारीले भनिन्, 'हामीले यसपालिको हमलाबाट भाटभटेनी शाखा जोगाएर आफ्नो दायित्व पूरा गर्न सक्यौं जस्तो लाग्छ।'
सुशीलाको स्थायी घर नुवाकोट हो। उनी केही वर्षदेखि परिवारसहित टोखा बस्दै आएकी छन्। भाटभटेनी सुपरस्टोर अगाडि उनको भाँडा पसल छ।

उनका अनुसार मंगलबार बिहान भाटभटेनी लगायतका सबै पसल खुला थिए। पसलमा ग्राहकको चहलपहल थियो। दस बजेतिर केही प्रदर्शनकारीले ग्रिनल्यान्ड र गणेस्थान चोकमा टायर बाल्न थाले। प्रहरी चौकीमा पनि टायर बाल्न सुरू भयो।
'त्यसपछि प्रदर्शनकारीको भिड हाम्रो टोलतिर बढ्यो। हामीले पसल बन्द गर्न थाल्यौं,' उनले भनिन्, 'भाटभटेनीका कर्मचारी पनि स्टोर बन्द गर्दै थिए।'
त्यसैबीच प्रदर्शनकारीहरू 'भाटभेटनी जलाउनुपर्छ' भन्दै स्टोरको अगाडि आइपुगे।
त्यही बेला स्थानीय एकजुट भएर भाटभटेनी परिसर पुगे र प्रदर्शनकारीलाई भित्र छिर्नबाट रोके। तिनैमध्ये केही स्थानीयले प्रदर्शनकारीलाई सम्झाइबुझाइ पनि गर्दै थिए।
स्थानीय नै संरक्षणमा ओर्लिएपछि प्रदर्शनकारीको केही जोड चलेन।
केही बेरमा उनीहरू तितरबितर भए।
यसरी टोखाका स्थानीयले पहिलो खेपको हमलाबाट भाटभटेनी जोगाए पनि संकट टरिसकेको थिएन।
सुशीलाका अनुसार त्यसै रात १० बजे पहिलेको भन्दा ठूलो समूह भाटभटेनी जलाउन आइपुग्यो। यसपालि पनि स्थानीयहरू भाटभटेनी जोगाउन अघि सरे।
भिड आएको देख्नेबित्तिकै दुई सय जनाभन्दा बढी स्थानीय तुरून्तै भाटभटेनी परिसरमा जम्मा भए। केही व्यक्तिले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गर्न थाले भने केहीले सेनालाई खबर गरे।
'सेनालाई खबर गरेको थाहा पाएपछि प्रदर्शनकारीहरू भागे,' सुशीलाले भनिन्, 'हामी त्यसपछि पनि त्यो ठाउँ छाडेर गएनौं। राति २ बजेसम्म त्यहीँ बस्यौं।'
यसबीच सेना आइपुग्यो र भाटभटेनीको जिम्मा लियो।
सेनाले नै 'अब हामी सुरक्षा दिन्छौं, तपाईंहरू जानुस्' भनेपछि स्थानीय फर्किए।

टोखाका स्थानीयले अहिले पनि भाटभटेनीको साथ छाडेका छैनन्। रातको समय युवाहरू सुरक्षा निम्ति आउने गरेको स्थानीय कृष्ण अर्जुन बानियाँले बताए।
'पहिले त बूढापाका पनि आउँथे,' उनले भने, 'अहिले युवाहरूले हामी बस्छौं, तपाईंहरू आउनु पर्दैन भनेपछि उहाँहरू आउनुभएको छैन।'
टोखा क्षेत्रमा पछिल्लो समय द्रुत गतिमा विकास भइरहेको छ। स्थानीय स्तरमा मार्ट, अस्पताल, औषधि पसल, खाद्यान्न तथा लत्ताकपडा पसल ठूलो संख्यामा खुलेका छन्। भाटभटेनी जस्ता ठूला व्यवसाय सञ्चालनले स्थानीयलाई सहज भएको बानियाँ बताउँछन्।
'यहाँ हाम्रै सहजताका लागि भाटभटेनी खुलेको हो। यो टोखावासीहरूकै आवश्यकता हो। त्यसैले यसलाई मेटिन नदिनु हाम्रो कर्तव्य हो,' उनले भने।
टोखा भाटभटेनीका कर्मचारी पनि स्थानीय बासिन्दाको सहयोगमा यो शाखा सुरक्षित रहेको बताउँछन्।
'स्थानीयले साथ नदिएको भए टोखा शाखा पनि भाटभटेनीका अरू शाखाजस्तै जलेर खरानी भइसक्थ्यो,' एक कर्मचारीले भने, 'स्थानीयहरू अहिले पनि बिहान र साँझ आउनुहुन्छ र सुरक्षा दिएर बस्नुहुन्छ।'
स्थानीय सँगसँगै सेनाले पनि सुरक्षा दिइरहेका छन्। बिहान र दिउँसो अनुगमनका लागि आउँछन्, रातभरि यहीँ तैनाथ रहन्छन्।
देशभरिका स्टोरमा ठूलो क्षति पुगेकाले यो शाखा कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको ती कर्मचारीले बताए।

