नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लंग पारेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै नहुने पनि बताएका छन्।
‘२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरुले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लंग पारेका छन्।
हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै हुने छैन। अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौं। यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु,’ उनले भनेका छन्।
नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै आफूहरूलाई विभाजित गरेको उनको भनाइ छ। उनले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार हुनुपर्ने पनि बताएका छन्।
‘म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरू, खास गरी एमाले र माओवादीको स्कुलिङबाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई आह्वान गर्न चाहन्छुः हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौं भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔं,’ उनले भनेका छन्।
गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए, त्यो नेपालको राजनीतिक इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता रहेको पनि भूसालले बताएका छन्।
भदौ २४ गते मुलुकमाथि तोडफोड, आगजनी, लूटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक भएको उनको बुझाए छ।
‘यसबाट प्रत्यक्ष देखिएको राष्ट्रिय क्षतिको घाउ जति असह्य छ त्यसभन्दा बढि यी घटनाले अदृष्य ऐठनका रुपमा दशकौंसम्म हाम्रा सन्तान दरसन्तानलाई झस्काइ रहने छ। यी घटनाहरू सरकारको दुर्बुद्धिका कारणले मात्रै भएका होइनन् बरू सत्तासीन खलनायकका बेबकुफीमाथि सुनियोजित षडयन्त्रकारीहरूले कलमी गरेर फलाएकोे हलाहल विष थिए भन्ने कुरा स्पष्ट हुँदै छ,’ उनको भनाइ छ।
यस क्रममा आन्दोलनका अग्रजहरू र आफूहरूले सदियौं-दशकौंदेखि निर्माण गरेका देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरू खेलबाड भइरहेको पनि बताएका छन्।
‘त्यसले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौं इमान्दार सदस्य तथा समर्थक–शुभचिन्तकहरुमा कहिल्यै नव्यहोरिएको पीडा, ग्लानी र छलपटी उत्पन्न गरेको छ। लोकतान्त्रिक गणतन्त्रले जुन जिम्मेवारी र नैतिक मूल्यको नेतृत्व खोजेको थियो त्यसको अभावमा आज हामीले यो दिन देख्नु पर्यो, हाम्रा पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाईं चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दैछौं। राम्रो पार्टी बन्यो भने आफ्नो सुबिधा र पद खोसिने डर भएका मानिसहरु पार्टी नेतृत्वमा भर्ति गर्दै जाँदा पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो। प्रश्न उठाउने तल्लो पङ्तिका असंख्य कार्यकर्ताहरू को आवाज सबैजसो पार्टीका तथाकथित केन्द्रीय कमिटीहरूमा अल्पमतमा परिरह्यो। जसको एकमुष्ठ परिणामस्वरुप हामी आफ्नै इतिहासको भग्नावशेषका डिलमा उभिएर यो सारा विध्वंशमा नजर डुलाउँदै छौं,’ उनले भनेका छन्।