नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनको वातवरण बनाउनको आग्रह गरेको छ।
महासंघले शुक्रबार देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोग जस्ता विषयमा युवा पुस्ताले देखाएको चासो सकरात्मक रहेको जनाएको छ।
यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ।
देशको समुन्नतिको लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ समन्वय र सहकार्य गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघले आग्रह गरेको छ।
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा समेत तोडफोड तथा आगजनीका घटना भएको महासंघले जनाएको छ।
यसरी व्यक्तिगत तथा व्यवसायिक सम्पत्ति माथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गरिएको छ।
महासंघले व्यावसायिक र व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ।
मुलुकभरका उद्योग व्यवसाय प्रतिष्ठानमा अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ। यस बारे थप विवरण संकलन भइरहेको भए पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ।
निजी क्षेत्रका गतिविधिहरू निर्वाध रुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघको भनाइ छ।
त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन आग्रह गरिएको छ।
निषेधाज्ञा र कर्फ्यूका समयमा पनि अत्यावश्यक सेवा तथा पेसाकर्मीहरूको आवतजावत र वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि आग्रह गरिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेकाले अत्यावश्यक लगायतका सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ।
नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको छ।
बुधबार महासंघको कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूसँगको बैठकमा पनि छलफल भई निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय भएको थियो।
महासंघले स्थायित्वका लागि युवाहरूको चाहना अनुरुप सुशासन, वाक् स्वतन्त्रता र स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितताका साथै लगानी र रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघले सबैमा पुनः आग्रह गरेको छ।