अन्तिम समयमा आएर आफू प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहमत भएकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलपछि यस्तो सहमति भएको हो।
यसअघि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषय टुंगो लागे पनि संसद विघटन कसको सिफारिसमा गर्ने भन्नेबारे कुरा नमिल्दा नियुक्तिमा विलम्ब भइरहेको थियो।
कार्कीले पहिले संसद विघटन गरेपछि मात्र आफू प्रधानमन्त्री नियुक्त हुने अडान लिइरहेकी थिइन्। उनले 'पहिले तपाईं संसद विघटन गर्नुहोस् अनि मात्र म प्रधानमन्त्री बन्छु' भनेर राष्ट्रपतिलाई भनेकी थिइन्।
कार्कीलाई प्रधानमन्त्रीका रूपमा नाम सिफारिस गर्ने जेन-जी युवाहरूको अडान पनि पहिला संसद विघटन गर्नुपर्छ भन्ने थियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सुरूदेखि नै संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका थिए। मंगलबार राति कार्कीको नाममा समर्थन जनाउँदै सामाजिक सञ्जालमा लेख्दा पनि बालेनले संसद विघटनको कुरा उठाएका थिए।
तर शीतल निवासमा दिनभरि भएको छलफल क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कसको सिफारिसमा संसद विघटन गर्ने भनेर संवैधानिक जटिलताको प्रश्न उठाए। संविधान अनुसार प्रधानमन्त्रीको सिफारिसमा मात्र राष्ट्रपतिले संसद विघटन गर्न सक्ने कुरा कार्कीसँग राखेका थिए।
'प्रधानमन्त्रीको सिफारिसमा मैले विघटन गरेँ भने मात्र त्यसले वैधानिकता पाउँछ, राष्ट्रपतिले आफैले संसद विघटन गरे सर्वोच्च अदालतले भविष्यमा उक्त निर्णय उल्टाउन सक्छ,' राष्ट्रपति पौडेलको भनाइ थियो।
उनले कार्कीलाई प्रधानमन्त्री भएपछि पहिलो बैठकबाट प्रतिनिधिसभा विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउन भने।
मन्त्रिपरिषदको उक्त निर्णय आफूले स्वीकृत गर्ने र यसका लागि वातावरण तयार गर्न आफूले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई सहमतसमेत गराइसकेको राष्ट्रपति पौडेलको भनाइ थियो।
राष्ट्रपति पौडेलले विभिन्न दलका शीर्ष नेताहरूसँग कुराकानी गरेर कार्की निर्वाचित भएर संसदमा आउनु नपर्ने र आफूले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने कुरामा पनि सहमत गराएका छन्। संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ।
'संविधानको पालनकर्ता र संरक्षकका हिसाबले कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ' भन्ने खालको भाषा लेखेर नियुक्त गर्ने राष्ट्रपतिको तयारी छ। यसका लागि दलहरू समेत सहमत रहेको राष्ट्रपतिले बताउने गरेका छन्।
यही विषयमा कुरा लम्बिँदै गएपछि नयाँ सरकार गठनमा ढिलाइ हुँदै गए सेनाले संवैधानिक निर्णयबिना आफूहरूलाई लामो समय सडकमा परिचालित हुन अप्ठ्यारो पर्ने बतायो।
'सेना अहिले सडकमै छ। तर कुनै संवैधानिक प्रबन्धबिना हामी लामो समय सडकमा परिचालित रहिरहन सक्दैनौं' भन्ने सेनाको भनाइ थियो।
त्यसपछि बल्ल पूर्वप्रधान्यायाधीश कार्की आफू प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा विघटनको सिफारिस गर्न तयार भएकी थिइन्।
यसमा अधिवक्ता ओमप्रकाश अर्यालले सहजकर्ताको भूमिका खेले। उनी दिनभरि कार्कीसँगै शीतल निवासको वार्तामा उपस्थित थिए। कार्कीसँग निकट उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्। उनले नै संसद विघटन गर्न मन्त्रिपरिषदले सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधानबारे बालेनसँग कुराकानी गरेका थिए।
त्यसपछि सबै पक्षको सहमतिमा पहिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने, त्यसपछि उनको मन्त्रिपरिषद बैठकले नै प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गर्ने सहमति जुटेको हो।
यो सहमति अनुसार आज राति ९ बजे कार्कीको शपथ ग्रहण गरिने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।
'मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,' पोखरेलले भने।
शीतल निवासमै रहेका एक जेन–जीका प्रतिनिधिले पनि शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने बताए।
'आजै सानो आकारको मन्त्रिपरिषद बन्नेछ, लगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ,' ती सदस्यले भने। उनका अनुसार मन्त्रिपरिषद सहभागी हुनेहरूको नाम भने यकिन भइसकेको छैन।
'नाम तय हुन बाँकी छ। केही नामहरू आएका छन्। छलफलकै क्रममा रहेकाले सार्वजनिक गर्न मिलेन,' ती सदस्यले भने।
प्रधानमन्त्री बनेपछि कार्कीले के-के काम गर्ने भन्ने लगभग टुंगो लागिसकेको छ। नयाँ बन्ने सरकारको मुख्य काम निर्वाचन गराउनु हो।
त्यसबाहेक भदौ २३ र २४ गते जेनजी प्रदर्शन क्रममा भएका घटनाबारे छानबिन गर्ने, भ्रष्टाचार र नेताहरूका सम्पत्ति छानबिन गर्ने जस्ता काम कार्की नेतृत्वको सरकारले अघि बढाउने छ।