सामान्यतया केटी मान्छेमा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रूण पछि आएर पाठेघरमा बस्छ। बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो।
यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ। बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेशन) पद्धति भनिन्छ। सामान्य भाषामा टेष्ट्युब बेबी।
सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रूणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेस्ट्युब बेबी भनिएको हो।
महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ। यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा ३ देखि ५ दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रूणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्धति हो।
आइभिएफ पद्धतिका चरणहरू
यसका मुख्य तीनवटा प्रक्रिया हुन्छन्।
पहिलो, पूर्वतयारी अवस्था।
दोश्रो, महिलाको अण्डा बाहिर झिक्ने।
र, तेश्रो, बाहिरी रूपमा विकासित भ्रूण उपकरणमार्फत् पाठेघरमा पठाउने।
पूर्वतयारी अवस्थामा निःसन्तान दम्पत्तिको बाँझोपनसम्बन्धी अवस्थाको विस्तृत पहिचान गरिन्छ। चिकित्सकीय माध्यमबाट श्रीमानश्रीमतीको सम्पूर्ण जाँच गरिन्छ। जसअन्तर्गत श्रीमान र श्रीमतीको कुन–कुन कुरामा समस्या वा खराबी छ, के कारणले सन्तान हुन नसकेको हो भन्नेबारे सुक्ष्म अध्ययन र अनुसन्धान गरिन्छ।
सामान्यतः महिलाको पाठेघरको सुरूआती अवस्थालाई विस्तृत अध्ययन गरी तयारी गरिन्छ। त्यसपछि महिनावारी हुनेवित्तिकै सुई लगाइन्छ र उसको डिम्बाशयलाई हर्माेनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ।
जतिबेला डिम्बाशयमा अण्डा परिपक्व हुन्छ, एउटा सुई दिएर ३४ –३५ घण्टापछि अण्डा बाहिर निकालिन्छ। यो प्रक्रिया शल्यक्रियामार्फत् हुन्छ। यसरी झिकिएको अण्डालाई इन्कुबेटर उपकरणमा विर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ। त्यहीँ भ्रूण विकास हुन्छ।
यदि विर्यको मात्रा कम छ वा कुनै खराबी भए एउटा मात्र विर्य डिम्बाशयमा छिराएर भ्रूण विकास गर्नुपर्छ। इन्कुबेटरमा राखिएको भ्रूणको ३ देखि ५ दिनमा अवस्था नियालिन्छ। विकसित भ्रूणको अवस्था र गुणस्तर हेरेर ट्युबको माध्यमबाट पाठेघरमा राखिन्छ।
बिरामीलाई आवश्यक औषधी दिएर १४ दिनमा अस्पताल बोलाइन्छ र त्यसपछि गर्भाधारण अवस्थाबारे जाँच गरिन्छ। विश्वव्यापी रुपमा आइभिएफ विधिको सफलता ४५ देखि ५० प्रतिशत रहेको मानिन्छ।
सामान्यतया, पहिलो चरणको प्रक्रियामा पाँच वटाभन्दा बढी भ्रूण बनाइन्छ। महिलाको अवस्था हेरर एक वा दुई वटा भ्रूण पाठेघरमा हाल्ने गरिएको छ। बाँकी भ्रूण सुरक्षित राखिन्छ। यदि पहिलोपटक सफल नभए, अर्काेपटक बाँकी रहेकाबाट पुनः पाठेघरमा हालिन्छ।
दोस्रो पटक पाठेघरमा भ्रूण हाल्दा सुरूको प्रक्रियामा जानुपर्दैन। प्रयोगशालामा राखिएको भ्रूण राख्ने मात्र हो। अहिलेसम्मको नतिजा हेर्दा यसरी सुरक्षित भ्रूण राख्दा पहिलेकोभन्दा प्रभावकारी नतिजा आएको छ।
दम्पत्तिले एक वर्षसम्म परिवारनियोजनका कुनै साधन प्रयोग नगरिकन नियमति यौनसम्पर्क गर्दा पनि बच्चा बसेन भने त्यसलाई बाँझोपन भनिन्छ। त्यो अवस्थामा ट्युब, डिम्बाशय, हार्मोन या पुरुषमा केही खराबी छ कि भनेर हामी पत्ता लगाउँछौं। त्यसपछि मात्रै उसको उपचार सुरू हुन्छ।
आइभिएफबारे धेरैको कमजोर बुझाइ रहेको पाइन्छ। आइभिएफ गरेर बच्चा जन्माएको भन्ने कसैलाई थाहा नहोस् भन्नेहरू पनि हुन्छन्। कतिपयले यसरी जन्मिने बच्चा नियमित प्रक्रियाबाट जन्मिनेभन्दा फरक हो भन्ने गलत धारणा पनि बनाएको पाइन्छ।
आइभिएफ पद्धतिबाट जन्मने बच्चा सामान्य हुन्। जुन प्रक्रियाले पाठेघरभित्र बच्चा बन्छ त्यही प्रक्रिया प्रयोगशालामा गरिएको मात्र हो। नेपालमा यसको प्रयोगबारे विस्तारै सचेतना फैलिँदैछ।
यदि महिलाको डिम्बाशयमा अण्डा छैन वा उसको उमेर ४०-४५ भइसक्यो भने सामान्य प्रक्रियाबाट आमा बन्न नसक्ने पक्का हुन्छ। यस्तो अवस्थामा अरू महिलाको अण्डा र महिलाको श्रीमानको विर्य मिलाएर पाठेघरमा राखिन्छ। विर्य पनि अज्ञात दाताबाट लिन मिल्छ। सायद यही कारणले मानिसमा गलत धारणा परेको हुनसक्छ। तर जसले बच्चा जन्माउँछ, त्यो बच्चा उसकै हो।
यो प्रक्रियाबाट बच्चा जन्माउँदा महिलालाई पूर्णरुपमा आराम लिएर सुत्नुपर्छ, कामै गर्न सकिँदैन, औषधी मात्रै खानुपर्छ भन्ने गलत बुझाइ छ। तर यो पूरा सही होइन। सुरूआती समयमा आराम गर्न परे पनि बेड रेस्ट नै भन्ने होइन। भ्रूण राखेको ८ देखि १० हप्ता पुगेपछि सामान्य गर्भवती झैं भइन्छ। सामान्य गर्भवतीलाई एक-एक महिनामा अस्पताल बोलाएजस्तै आइभिएफ गरेकालाई पनि बोलाइन्छ। त्यस्तै सामान्य टिटनास खोप, आइरन र क्याल्सियम दिइन्छ। सुत्केरी पनि सामान्य प्रक्रियाबाटै हुन्छ।
(डा. नुतन शर्मा अल्का टेस्टट्युब बेबी सेन्टरकी सञ्चालक हुन्।)