एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ।
यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ। यस सम्बन्धमा बुधबार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरूका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ।
ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावाहुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सहकार्यका बारेमा महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘‘पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु। कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ। ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहका लागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो।'
थप १० मौसममा आधारित जोखिमहरूलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहका लागि गरिएको योे सहकार्य एक अर्को कोशेढुंगा हो। एनसेल र अन्य साझेदारहरूसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरूको जीवन रक्षा गर्न सफल भएका छौं।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरूलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौं।’
'एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरूमा सहकार्य गर्न हामी तत्पर छौं।' उनले थपे।
पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरूलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ।
सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ। २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो।
एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरूमा पनि पूर्वसूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरू माथि अध्ययन भइरहेको छ।
पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्री उपकरणहरू जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरू विस्तार गरेसँगै एनसेलले त्यस्ता स्टेसनहरूलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ।