इभाज कार्ड प्रालिले नेपालमा डिजिटल भिजिटिङ कार्ड प्रविधि भित्र्याएको छ। कम्पनीले नियर-फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुआत गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष दिवाकर अर्याल र प्रबन्ध निर्देशक सरोज बानियाँले यो प्रविधि नेपाल भित्र्याएका हुन्। उनीहरू नेपालमा डिजिटल भिजिटिङ कार्ड भित्र्याउने पहिलो कम्पनी भएको दाबी गर्छन्।
एनएफसी डिजिटल भिजिटिङ कार्ड 'पेपरलेस भिजिटिङ कार्ड' हो। अर्थात् यो भिजिटिङ कार्ड बनाउन कुनै कागजको प्रयोग हुँदैन। यो चिप प्रविधिमा आधारित हुन्छ। विकसित मुलुकहरूमा यस्तो कार्डको प्रयोग दुई दशक अघिदेखिनै भइसकेको अध्यक्ष अर्याल बताउँछन्।
एनएफसी डिजिटल भिजिटिङ कार्डमा एटिएम कार्डमा जस्तै चिप हुन्छ। चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरू राख्न सकिन्छ। दोस्रो व्यक्तिले उक्त कार्डमा भएको जानकारी मोबाइल टच (कार्डलाई मोबाइलमा छोएर) गरेर वा क्यामेराबाट स्क्यान गरेर लिन सक्छन्। यसरी लिएको जानकारी दोस्रो व्यक्तिले सिधै आफ्नो मोबाइलको 'कन्ट्याक्ट लिस्ट' मा गएर सेभ गर्न सक्छ।
यसरी सहजै व्यक्ति-व्यक्तिबीच मोबाइल नम्बर, इमेल र अन्य आवश्यक जानकारीहरू सेयर गर्न सक्छन्। कागजको भिजिटिङ कार्डमा भएको जानकारीपछि मोबाइलको कन्ट्याक्ट लिस्टमा राख्दा थप समय लाग्छ। तर डिजिटल भिजिटिङ कार्डको प्रयोगले यसमा सहजता मिल्छ। व्यक्तिले लिएको जानकारी मोबाइलको कन्ट्याक्ट लिस्टमा सम्पादन पनि गर्न मिल्छ।
यसको प्रमुख विशेषता भनेको व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टै भिजिटिङ कार्ड अनलाइन र अफलाइन दुवैमा प्रयोग गर्न मिल्ने हुनु हो। त्यस्तै प्रिमियर गुणस्तरको कार्ड एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुनु पनि हो।
इभाज कार्ड प्रालिले कम्पनी वा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल 'रिभ्यू' कार्ड र फलोअर्स कार्डको पनि सुरुआत गरेको छ। जसले आफ्नो कम्पनी वा व्यवसायबारे कार्ड स्क्यान गरेर रिभ्यू दिन सकिने कम्पनीले जनाएको छ।
कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको छ। प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुन्छ। यसमा प्रयोगकर्ताले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्छ।
कार्डमा हुने डेटाहरूलाई सुरक्षित राख्न सुरक्षा प्रविधिहरू पूर्ण अपनाइएको कम्पनीले बताएको छ। डेटा हराउने वा दुरुपयोगको जोखिम नहुनेमा बानियाँ विश्वस्त छन्।
अध्यक्ष अर्याल भने वर्षेनी भिजिटिङ कार्ड छाप्ने झन्झटबाट मुक्ति पाउनका लागि यो कार्ड बहुउपयोगी हुने बताउँछन्।
उनी भन्छन्, 'यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट हुँदैन। कागजको कार्डले वातावरणमा समेत असर पुर्याउँछ। यो कार्ड वातावरण-मैत्री समेत छ।'
कार्डको सुरुआती मूल्य चार हजार राखिएको छ। जसमा कम्पनीले आकर्षक कार्ड बक्स सहित कार्ड उपलब्ध गराउने जनाएको छ।