राष्ट्रिय परिचयपत्र वितरणको लागि स्थानीय तहमा थप जनशक्तिको व्यवस्था गरिने भएको छ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको सहयोगमा माघ मसान्तसम्ममा जिल्ला प्रशासन कार्यलयहरूमा थप जनशक्तिको व्यवस्था गरिने बताएका हुन्।
'स्थानीय तहको समेत सहयोगमा माघ मसान्तभित्र जनघनत्वको आधारमा जिल्ला प्रशासन कार्यलयहरूमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधी छोट्याइनेछ,' प्रधानमन्त्रीले भने।
यसबाहेक राहदानी छपाइ कार्यलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाइने समेत उनले बताए। राहदानी नवीकरणको प्रक्रिया अनलाइनबाटै अघि बढाउने तयारी समेत भइरहेको उनले बताए।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म नेपालको विभिन्न जिल्लाका १५ लाख बढी मानिसले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन् जबकी एक करोड ३५ लाख बढीले परिचयपत्रको लागि विवरण दर्ता गराएका छन्।