एनसेलले एक वर्षको अवधिमा १२ अर्ब रुपैयाँ थप लगानी गरेको छ।
प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को एकीकृत वार्षिक प्रतिवेदनअनुसार नेटवर्क विस्तार तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब थप लगानी भएको छ।
प्रविधि तटस्थताको अनुमति प्राप्त गरेसँगै फोरजी सेवा संचालन, थ्रिजी नेटवर्क विस्तार लगायत आधुनिकीकरण कार्यमा लगानी खर्चिएको प्रतिवेदनमा उल्लेख छ।
एनसेलले २०१७ मा आफ्नो फोरजी सेवा २१ शहरमा विस्तार गरेको जनाएको छ। १५.५ प्रतिशत जनसंख्यालाई फोरजीको पहुँचमा पुर्याइएको आजियाटाले उल्लेख गरेको छ।
थ्रिजी सेवा कुल जनसंख्यामध्ये ५४ प्रतिशतको पहुँचमा पुर्याएको आजियटाको दावी छ। एनसेलले सन् २०१७ को अन्त्यसम्ममा २ हजार ६९९ थ्रिजी साइटहरु जडान गरी सेवा संचालन गर्दै आएको छ।
फोरजी र थ्रिजीको विस्तारकै कारण डाटा ग्राहक संख्या तथा इन्टनेटबाट हुने आम्दानी पनि बढेको प्रतिवेदनमा औंल्याइएको छ। कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको बताइएको छ।
इन्टरनेट खपतको भोल्युम पनि १३१ प्रतिशतले वृद्घि भएको कम्पनीले जनाएको छ। प्रतिवेदनअनुसार एनसेलले सन् २०१७ मा कुल ५८.१ अर्ब आम्दानी गरेको छ। एनसेलका कुल १ करोड ६४ लाख ग्राहक छन्। जसमा ७१ लाखले मोवाइल इन्टरनेट सेवा लिएका छन् ।