मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रूपैयाँको बजेट ल्याएको छ।
शुक्रबार प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले प्रदेश सभामा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिशत र पुँजिगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत बजेट प्रस्तुत गरेका हुन्।
वित्तीय व्यवस्थापनतर्फ २० करोड अर्थात् ०.४५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
सरकारले गत आर्थिक वर्षभन्दा करिब दुई अर्ब कमको बजेट ल्याएको हो।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार रूपैयाँ, नेपाल सरकारबाट राजश्व बाँडफाँटवापत प्राप्त ११ अर्ब ३८ करोड १९ लाख र समानीकरणवापत प्राप्त अनुदान ७ अर्ब ४१ करोड ५० लाख रूपैयाँ र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख गरी ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रूपैयाँ छ।
यद्यपि २ अर्ब कम हुने देखिएकाले सो कम पूर्ती गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने अर्थमन्त्री यादवले बताए।
बजेटमा सरकारले कृषिमा विद्युतीकरणका लागि ४० करोड रूपैयाँ छुटयाएको छ।
आगामी आर्थिक वर्षमा 'एक टोल, एक सामूहिक कृषि उत्पादन', 'एक वडा, एक विशेष उत्पादन' र 'एक पालिका, एक उत्पादन क्षेत्र नमूना कार्यक्रम' का लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षमा प्रदेश सरकारले किसान कार्ड समेत वितरण गर्ने भएको छ।
त्यस्तै मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि सरकारले १५ करोड रूपैयाँ विनियोजन गरेको छ।
सरकारले 'हरेक खेतमा पानी, किसानको आम्दानी' नारा पनि ल्याएको छ।
स्वास्थ्य क्षेत्रमा मानव सेवा आश्रममा घुम्ती स्वास्थ्य सेवाका लागि पाँच करोड रूपैयाँ विनियोजन भएको छ।
मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमले निरन्तरता पाएको छ।
हेल्थ पार्कका लागि पाँच करोड रूपैयाँ राखिएको छ भने सिरहाको प्रादेशिक अस्पताललाई एक सय ५० शैय्याको बनाइने र क्यान्सर रोग अस्पताल सुधार गर्न दस करोड विनियोजन गरिएको छ।
त्यसैगरी 'मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ' कार्यक्रमअन्तर्गत वितरण गर्दै आएको साइकल वितरण कार्यक्रमलाई निरन्तरता नदिइने भएको छ।
सो कार्यक्रम अन्तर्गत छोरी बीमा, छात्रवृत्ति, लोकसेवा तयारी र कक्षा आठदेखि १२ सम्मको छात्राका लागि मासिक स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम मात्रै प्रस्तुत गरिएको छ।