निर्माणका कामले गति लिन नसक्दा पछिल्लो तीन महिनायता निर्माण सामग्रीको मूल्य घटेको छ। गत वर्षको तुलनामा पनि यो वर्ष निर्माण सामग्रीको मूल्य घटेको निर्माण सामग्री विक्री वितरक बताउँछन्।
अघिल्ला केही वर्षमा निर्माण सामग्रीको मूल्य बढेको भन्दै उपभोक्ताहरूले आवास निर्माण गर्न नसकिएको गुनासो गरेका थिए। ०७२ को महाभूकम्पले भत्काएका घर निर्माण धमाधम भइरहेको समयमा निर्माण सामग्रीको भाउ बढ्दा उपभोक्ता निराश बनेका थिए।
अहिले भने निर्माण सामग्रीको मूल्य घटेको छ।
फलाम र डन्डीको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेको ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए। उनले प्रति केजी डन्डीको मूल्य तीन महिनायता १२/१३ रुपैयाँले घटेको जानकारी दिए।
हाल निर्माण सामग्रीको मूल्य घट्नुमा भूकम्पले भत्काएका धेरैजसो संरचना पुनर्निर्माण भइसकेकाले माग घट्नु एक कारण रहेको निर्माण सामग्री विक्रेता दीपक श्रेष्ठले बताए।
‘अहिले निर्माणका काम नै सुस्त भइरहेका छन्, भूकम्पले भत्काएका कतिपय संरचना पनि बनिसकेका छन्, यसकारण अहिले निर्माण सामग्रीको माग पनि घटेको हुँदा मूल्य घट्नु स्वभाविक हो’ उनले भने।
गत वर्षभन्दा यो वर्ष सिमेन्टको मूल्य प्रतिबोरा ७५ देखि १०० रुपैयाँले घटेको श्रेष्ठले जानकारी दिए। त्यसैगरी, डन्डीको मूल्य किलोमा १० देखि १५ रुपैयाँले घटेको छ। अहिले डन्डीको मूल्य बजारमा प्रतिकेजी ७२ देखि ७५ रुपैयाँ रहेको श्रेष्ठले बताए।
त्यसैगरी, पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ६०० देखि ६५० रुपैयाँसम्म रहेको छ भने ओपिसी सिमेन्टको मूल्य बोरामा ७ सय ५० देखि ८ सयसम्म रहेको छ।
यता नेपाल हेभी इक्वुपमेन्ट व्यवसायी संघका अध्यक्ष गोकुल कुँवरले भने इँट्टा, बालुवा तथा गिट्टीको मूल्य नघटेको बताए।
उनकाअनुसार हाल एक नम्बर एलपी इँट्टाको मूल्य १५ रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षकै मूल्य हो। त्यसैगरी, ‘वासिङ’ बालुवा एक टिप बराबर २५ हजार रहेको छ भने खोलाको बालुवा प्रति टिपर २४ हजार रहेको छ।
गिट्टीको मूल्य पनि अघिल्लो वर्षको तुलनामा घटबढ नभएको कुँवरले बताए। मेलम्चीको सेतो गिट्टीको मूल्य प्रति टिप २० हजार रहेको छ।
निर्माण सामग्रीले बजार नपाउँदा उद्योग नै धरापमा परेको इँट्टा व्यववसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकारले बताए।
‘अहिले निर्माणका काम नै भएका छैनन्, यसकारण बजार ठप्प हुँदा उद्योग नै चलाउन नसकिने अवस्था छ’उनले भने ।