असार पहिलो साताको एक दिन।
बिहान राम्ररी उज्यालो नहुँदै अच्युत केसी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित घर पुगे।
अच्युत पहिलो पटक माधवकुमारको घर पुगेका थिए। गेटमा भएका व्यक्तिलाई उनले आफ्नो परिचय दिए र भित्र गए।
उनले माधवकुमार विरूद्ध काठमाडौं विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको र त्यसबारे जानकारी गराउन म्यादपत्र बोकेर आएको सुनाए।
परिवारले माधवकुमार घरमा नभएको भनेर उनलाई फर्काइदियो।
अच्युत दोस्रो दिन पनि सबेरै पुगे। त्यस दिन पनि भेटेनन्।
तेस्रो दिन पनि त्यस्तै!
चौथो पटक भने माधवकुमारसँग भेट भयो। अच्युतले उनलाई म्यादपत्र बुझ्न आग्रह गरे। तर उनले मानेनन्।
'कानुनी सल्लाहकारले तत्काल म्याद पत्र नबुझ्नू भनेको छ, केही दिन पर्खिनू' भन्दै माधवकुमारले अच्युतलाई फर्काइदिए।
अच्युत अर्को पटक फेरि म्यादपत्र बोकेर उनको घर पुगे। फेरि त्यसैगरी फर्काइए।
'धेरै पटक उहाँको घर धाउनुपर्यो। असार ११ गते बल्ल अदालतमा उपस्थित हुनुपर्ने बेला उहाँले म्यादपत्र बुझ्नुभएको हो,' अच्युतले भने, 'मेरो समय कति धेरै खर्च भयो।'
केही महिनाअघि पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको घरमा म्यादपत्र बुझाउन जाँदा पनि उनले त्यस्तै समस्या भोग्नुपर्यो। १०–१२ पटक गए, तर मोहनबहादुरलाई भेट्नै पाएनन्। झन्डै एक महिनापछि मात्र उनले म्यादपत्र बुझेको अच्युतले बताए।
'त्यो बेला पनि निकै दुःख भयो,' उनले भने, 'एकै ठाउँ बारम्बार धाउनुपर्दा निकै समस्या हुन्छ।'
यसरी म्यादपत्र बोकेर मानिसका घरघर धाउने अच्युत 'तामेलदार' हुन्। उनी बबरमहलस्थित विशेष अदालतमा कार्यरत छन्। उनको काम मुद्दा परेका मानिसको घरघरमा त्यसबारे सूचना पुर्याउनु हो।

मुद्दाका सम्बन्धमा आफ्नो भनाइ राख्न निश्चित अवधिभित्र प्रमाणसहित अदालतमा उपस्थित हुनु भनेर मुद्दा परेको व्यक्ति वा संस्थालाई सूचना दिइन्छ। यसरी दिइने सूचनालाई म्यादपत्र भनिन्छ, सूचना बुझाउने प्रक्रियालाई म्याद तामेली। त्यसैले यो काम गर्ने व्यक्तिलाई तामेलदार भनिन्छ।
सम्बन्धित व्यक्ति वा उसको परिवारले म्यादपत्र नबुझुन्जेल तामेलदार यसरी नै धाइरहन्छन्। दुई दशकदेखि तामेलदारका रूपमा काम गरिरहेका अच्युत यसरी सूचना दिन एउटै घरमा सय पटकसम्म पुगेका छन्।
'सुन्दा त अरूको घर जाने, सूचना दिने, आउने काम हो। सजिलै देखिन्छ। तर गर्न धेरै गाह्रो छ,' उनले भने, 'कुनै घरमा त म सय पटकसम्म धाएको छु।'
कहिलेकाहीँ त पुग्नुपर्ने घर पनि पत्ता लाग्दैन।
एक पटक विशेष अदालत भएकै वडा काठमाडौं महानगरपालिका–११ मा एक प्रतिवादीको घरमा म्यादपत्र बुझाउनु थियो। वडा सबै चहारिसक्दा पनि उनले घर भेटेनन्।
'मलाई त कार्यालय नजिकैको घर पनि भेटेन भनेर सहकर्मीहरूले उडाए,' अच्युतले भने, 'तर यहाँ एउटा घरको मान्छेले अर्का घरमा बस्नेलाई चिन्दैन। कतिको कागजातमा र बोलाउने नाम फरक भएकाले कतिपयले आफ्नै घरमा बस्नेलाई समेत चिन्दैनन्।'
कुनै घरमा पटक पटक धाउँदा पनि सम्बन्धित मान्छे भेटिएन र उसको परिवारले पनि म्यादपत्र बुझ्न मानेन भने घरमा टाँसिदिन मिल्छ। यसरी टाँस्दा दुई–तीन जना साक्षी बस्ने मानिस चाहिन्छ।
कानुनी प्रक्रिया अनुसार साक्षी बस्नेहरूको नाम र हस्ताक्षर चाहिन्छ। तर अदालती प्रक्रिया भन्ने बित्तिकै कोही साक्षी बस्न नमान्ने उनले बताए।
'एक त सम्बन्धित घरको अनुमति नलिई म्यादपत्र टाँस्न मिल्दैन। अर्को, छरछिमेकी वा कोही साक्षी बस्न मान्दैनन्,' उनले भने, 'कोही त सूचना टाँस्छौं भन्दा रिसाएर गाली पनि गर्छन्।'

उनले जिन्दगीमा एक पटक गाली खाएका छन्।
त्यो बेला अच्युत काठमाडौं जिल्ला अदालतमा काम गर्थे। वैदार (अभिलेख शाखाको कर्मचारी) का रूपमा काम गरिरहेका उनलाई साविकको काठमाडौं वडा नम्बर ३२ (हाल वडा नम्बर २९) को तामेलदार तोकियो।
तामेलदार बनेको पहिलो दिन उनी अनामनगरस्थित एक अधिवक्ताको घरमा म्यादपत्र बुझाउन गए।
अदालतले उनलाई भनेको थियो — कसैले म्यादपत्र नबुझे घरमा टाँस्न पाइन्छ!
नभन्दै ती अधिवक्ताले बुझ्न मानेनन्।
कामको पहिलो दिन थियो, अच्युतसँग अनुभव थिएन। उनले अदालतले भनेको सम्झिए। अनि घरमा टाँसिदिन्छु भन्दै निस्किन खोजे।
उनले यति भनिसकेका मात्र थिए, ती अधिवक्ता जंगिए।
'के भनिस् रे, यो तेरो घर हो जहाँ मन लाग्छ टाँस्न भन्दै कुर्सीमा बसेका मान्छे जुरूक्कै उठेर जंगिए,' अच्युतले सम्झिए, 'मलाई त उनको व्यवहार देखेर डर लाग्यो। कतिपय साथीहरूले कुटाइ नै खाएको सुनाएका थिए। त्यसैले फेरि आउँछु भन्दै चुप लागेर निस्किएँ।'
उनका अनुसार सम्बन्ध विच्छेदका, अंश मुद्दाका म्यादपत्र बोकेर गएका केही तामेलदारमाथि कुटपिट भएको छ। आफूले भने सक्दो नरम भएर अवस्था सम्हालेको र अहिलेसम्म त्यस्तो दुर्व्यवहार खेप्नु नपरेको उनले बताए।
'मान्छे जति रिसाएको भए पनि आफू नरम बोलेपछि उसको ५० प्रतिशत रिस कम हुन्छ,' उनले भने, 'त्यसैले ममाथि हातपात नभएको हुन सक्छ।'
हाल ५५ वर्षका अच्युत २०७१ सालमा तामेलदार भएका हुन्। त्यसअघि वैदार थिए।
ललितपुरको गोदावरी नगरपालिका–१३ मा जन्मिएका उनी घरका जेठा छोरा हुन्। उनका एक भाइ र तीन बहिनी छन्। उनका बुबा नेपाली सेना थिए।
फुल्चोकी माध्यामिक (हाल उच्च माध्यामिक) विद्यालयमा कक्षा १० सम्म पढेका उनको पढाइ राम्रै थियो। तर उनको पढाइ बीचमै रोकियो।
२०४४ सालतिरको कुरा हो।
कक्षा दसको अन्तिम परीक्षा 'टेस्ट' दिइसकेर उनी साथीहरूसँग बयर खान गएका थिए। रूख चढेर बयर टिप्दा उनी लडे। ढाड नराम्ररी भाँचियो।
उनी झन्डै ८ महिना अस्पताल बसे। एसएलसी र पढाइ त छुटिहाल्यो। दुई वर्ष अस्पताल धाएपछि बल्ल हिँडडुल गर्न सक्ने भए।
'म हिँड्न सकूँला भन्ने कसैले सोचेका थिएनन्। दुई वर्षपछि बल्ल बिस्तारै हिँडडुल गर्न सक्ने भएँ,' अच्युतले सम्झिए, 'त्यति बेला सय रोपनी जग्गा आउने पैसा उपचारमा सकियो। ६/७ हजारमा एक रोपनी आउँथ्यो।'
दुर्घटनापछिका केही वर्ष उनले आफूलाई सम्हाल्नेबाहेक केही गर्न सकेनन्। बिस्तारै साथीहरूको सहयोगमा जग्गा किनबेचको काम थाले। तर यो काममा खट्न सके मात्र राम्रो कमाइ हुन्थ्यो। ज्यानले धेरै कष्ट खेप्न सकेन। चार–पाँच वर्ष जग्गाको कारोबार गरेर छाडिदिए।
२०५१ सालमा लोक सेवा आयोगले वैदार/तामेलदार पदमा जागिर खुलायो। त्यो बेला वैदारमा जागिर खान कक्षा ८ पास गरे पुग्थ्यो। अनि कार्यालयमै बसेर गर्नुपर्ने काम थियो। यी दुवै कुरा अच्युतका लागि उपयुक्त थिए।
परिवारले उनलाई हौस्यायो।
नभन्दै उनले वैदारको लिखित र मौखिक दुवै परीक्षा पास गरे र धनकुटाबाट नाम निकाले।
२०५३ जेठ १ गते संखुवासभा जिल्ला अदालतमा उनको नियुक्ति भयो।
'त्यति बेला भत्तासहित २१ सय रूपैयाँ तलब आउँथ्यो,' अच्युतले भने, 'सात सय रूपैयाँमा महिनाभरि मासुभात खान पुग्थ्यो। तीन सयमा कोठा पाइन्थ्यो।'
संखुवासभामा उनले दुई वर्ष काम गरे। त्यसपछि धादिङ सरूवा भयो। धादिङ पनि दुई वर्ष बसे र त्यहाँबाट ललितपुर जिल्ला अदालत पुगे। ललितपुरमा चार वर्ष काम गरेपछि काठमाडौं जिल्ला अदालतमा सरूवा भयो। त्यहाँ १३ वर्ष वैदार भएर काम गरे र तामेलदार भए।
'तामेलदार भएपछि वैदारजस्तो खट्नपर्दैन होला भन्ने सोचेको थिएँ,' उनले हाँस्दै भने, 'झन् साँझ–बिहान धेरै खट्नुपर्यो।'
काठमाडौं जिल्ला अदालतमा चार वर्ष काम गरेपछि २०७५ सालमा उनी विशेष अदालत आएका हुन्।

अच्युतका अनुसार जिल्ला अदालतमा तामेलदार कर्मचारी धेरै छन्। विशेष अदालतमा भने हाल ४ जना मात्र छन्। त्यसैले कामको चाप हुन्छ।
बाक्लो बस्ती भए पनि काठमाडौंका अधिकांश ठाउँमा छरछिमेक नचिन्ने भएकाले जोकोहीको घर खोज्न कठिन हुन्छ। गाउँघरमा भने कसैको नाम लिएपछि घर जाने बाटोदेखि उस्तैपरे तीनपुस्ते विवरण भनिदिने उनले बताए।
अहिले सूचना–प्रविधि विकास भइसकेकाले कम्तीमा सहरी भेगमा इमेलमार्फत म्यादपत्र पठाउन सके सजिलो हुन्थ्यो भन्ने उनलाई लाग्छ।
तामेलदारका रूपमा काम गर्दा उनले प्रतिवादीहरूको जीवनमा आएको भयंकर ठूलो उतारचढाव पनि देखेका छन्।
उनले एउटा घटना सुनाए।
एक जना धनी ठेकेदारका घरमा अच्युत पहिलो पटक म्यादपत्र लिएर गएका थिए। त्यस दिन उनलाई आलिशान महलमा छिरेजस्तो भयो।
'बिस्तारै उनीविरूद्ध मुद्दा थपिँदै गयो। पाँच/सात वर्षमा म सय पटकभन्दा बढी उनको घर पुगेँ होला,' अच्युतले भने, 'त्यस्तो आलिशान जीवन भएको मान्छेको अवस्था, कानुनी झमेलाले दयनीय भयो। बैंकिङ कारोबार सबै बन्द भएपछि अरू कुनै काम गर्न सकेनन्। करोडौं सम्पत्ति भएका व्यक्तिसँग चिया खाने पैसा समेत भएन।'
उनले थपे, 'कानुनी प्रक्रिया लामो भएकाले कयौंको जीवन नै बदलिन्छ। त्यसैले मुद्दा भनेपछि मानिसहरू डराउँछन्। त्यसैले मुद्दाकै सूचना लिएर घर घर पुग्ने तामेलदारको जागिर खान मुस्किल छ!'
अच्युतको जागिर भने अब तीन वर्ष मात्र बाँकी छ। उमेर हदका कारण उनले जागिर छाड्नुपर्ने हुन्छ।
'त्यसपछि पनि शरीरले साथ दियो भने केही काम त गर्ने सोच छ,' अच्युतले भने।
***