प्रिफ्याबको घर भूकम्प प्रतिरोधी मात्रै होइन, हेर्दा उत्तिकै आकर्षक र कम लागतमा तयार हुन्छ। यस्तो घर फायर प्रुफ, वाटर प्रुफ, साउन्ड प्रुफ हुनुको साथै तापक्रम समेत सन्तुलन गर्छ।
त्यसैगरी यो घरलाई अर्को ठाउँमा सार्नु परेको खण्डमा ९० प्रतिशत सामाग्री पुनः प्रयोग गर्न सकिने भएकाले उपयोगी भएको व्यवसायीहरु बताउँछन्।
यसको लोकप्रियता बढ्दै जाँदा नेपालमा अहिले एक दर्जन भन्दा धेरै प्रिफ्याब कम्पनीहरु खुलेका छन्। प्रिफ्याब प्रविधिको घर भूकम्पपछि मात्रै बन्न थालेको भने होइन। पहिले पहिले नेपालका पहाडी भू–भागमा विभिन्न संघ संस्था तथा आयोजनाले क्याम्प, विद्यालय, स्वास्थ्य चौकी बनाउन प्रिफ्याब नै प्रयोग गर्ने गरेको सुत्र कन्स्ट्रक्सन प्रालिका डाइरेक्टर तथा इन्जिनियर लक्ष्मण थापाले जानकारी दिए। सुत्र कन्स्ट्रक्सन लामो समयदेखि प्रिफ्याबको काममा सक्रिय छ।
प्रिफ्याबको घर हालका दिनमा धेरै नै बन्ने गरे पनि विदेशमा जस्तो सबैको विश्वास जितिसकेको छैन। ‘यहाँ गिट्टी तथा सिमेन्टको घर बनाउन थालेको धेरै भयो त्यही भएर त्यसप्रति धेरैको विश्वास छ तर प्रिफ्यावको घर बनाउन थालेको ५–६ वर्ष मात्र भयो’ उनले भने ‘अबको २०–२५ वर्षपछि प्रिफ्यावप्रति विश्वास बढ्ने मात्रै होइन, घरहरु पनि धेरै देखिनेछन्।’
प्रिफ्यावको घर कमजोर हुने र सामान्य बल पर्दा भत्किन्छ भन्ने भ्रम फैलिँदा यसप्रति केही नकारात्मक सोच बढेको उनको अनुभव छ। ‘घरको संरचनाका लागि फलामको प्रयोग हुने भएकाले नै हल्लाउँदा हल्लिन्छ, हल्लिनु भनेकै सुरक्षित हुनु हो’ इन्जिनियर थापाले भने ‘त्यसैगरी भूकम्पले हल्लाउँदा पनि घरलाई असर गर्दैन, १० केजीको घनले हान्दा पनि यो फूट्दैन।’
उनका अनुसार प्रिफ्यावको घर अस्थायी र स्थायी दुवै माध्यममा बनाउन सकिन्छन्। यस्तो घर स्टिलमा मात्र नभई कंक्रिट संरचनामा पनि बनाउन सकिन्छ।
पहाडी भूभागमा स्टिल संरचनामा बनाउनेको संख्या अधिक रहेको थापा बताउँछन्। काठमाडौं र तराई क्षेत्रमा भने तला थप्नको लागि प्रिफ्यावको प्रयोग बढेको उनले बताए।
माथिल्लो तलामा प्रिफ्याब प्रयोग गर्दा तल्लो भागलाई भार कम पर्ने र भूकम्पले नभत्किने भएकाले हालका दिनमा तला थप्न पनि यसको प्रयोग ज्यादा हुने गरेको व्यवसायी बताउँछन्।
प्रिफ्याव घर बनाउने क्रम बढेपनि यसको लागि चाहिने उपकरणहरु पर्याप्त भित्रिन नसकेको उनीहरुको गुनासो छ। ‘जस कारण विदेशमा १ दिनमा भुइँतलाको घर बनाउन सकिन्छ भने नेपालमा त्यही काम १ महिना लाग्ने गरेको छ’ थापाले भने।
नेपालमा प्रयोग हुने प्रिफ्याको स्ल्याब भारत र चीनबाट धेरै आउँछ। रुफिङ अर्थात छानाको मेट्रियल चीनबाट र खाडी मुलुकबाट बढी आउँछ। पछिल्लो समय स्वदेशमै पनि स्ल्याब बन्न थालेको उनले बताए। सामान्यतया प्रिफ्याबको घर बनाउँदा अरु घरको तुलनामा ५० प्रतिशत कम खर्च लाग्ने सम्वद्ध व्यवसायीहरुको दावी छ। किचन, ट्वाइलेट, विद्युतीय सामान तथा रङ्गमा भने उत्तिकै खर्च लाग्छ।
यस्तो घरमा काठको झ्याल प्रयोग गरिँदैन। आल्मुनियम र युपिभिसिको झ्याल प्रयोग गर्ने गरिन्छ। त्यस्तै यसको बोर्ड ८ फुट, ९ फुट र १० फुटमा आउँछ।
नेपालमा प्रिफ्याबको उपयोगिता बुझाउन गाह्रो भइरहेको ब्यवसायीहरुको अनुभव छ। उनीहरुका अनुसार इन्टरनेट प्रयोग कर्ता र विदेश गएर फर्किएकाहरुले भने निर्धक्क सँग बनाइरहेका छन्।
कति लाग्छ त खर्च ?सामान्यतया नेपालमा स्टिल संरचनामा ४ कोठाको प्रिफ्याब घर बनाउने प्रचलन छ। जसमा ट्वाइलेट बाथरुम र बरण्डा पनि समावेस हुन्छ।
कति क्षेत्रमा कतिवटा कोठा बनाउने त्यो अनुसार खर्च लाग्ने थापाले बताए।
६०० स्क्वाएर फुटको ४ कोठा भएको, एट्याच बाथरुम ट्वाइलेट भएको घर तयार गर्दा १३ देखि १५ लाखमा हुने इन्जिनियर थापाले बताए। यसमा रङगरोगन समेत समावेश हुनेछ।
त्यस्तै धेरै फिनिसिङ नचाहिने, डेकोरेसन नगर्ने हो भने १० लाखैमै पनि बन्ने उनले बताए।