नेपालमा रहेका भारतीय नागरिकहरुलाई साउदी अरब पठाउन लागि नेपालले उडान अनुमति दिने निर्णय गरेको छ।
पछिल्लो समय भारतीयहरु नेपाल हुँदै रोजगारीका लागि साउदी जाने गरेका थिए। साउदीले भारतबाट सिधै यात्रामा रोक लगाएपछि उनीहरुले नेपालको बाटो रोज्दै आएका थिए।
भारतबाट नेपाल आएर १४ दिनको क्वारेन्टिन पूरा गरेर उनीहरु साउदी अरब लगायतका खाडी मुलुकमा जाँदै आएका थिए। तर नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुनु केही दिन पहिले नेपाल हुँदै तेस्रो मुलक जान रोक लगाएको थियो।
भारतीयहरुलाई नेपाल हुँदै विदेश जान नदिने निर्णय गर्नुअघि नै आएर बसेका सयौंको संख्यामा रहेको अनुमान गरिएको छ। उनीहरुलाई साउदी अरब पठाउनका लागि उडान अनुमति दिइएको हो। तर अहिले पनि नयाँदिल्ली-काठमाडौं रुटमा सातामा दुई उडान भइरहेका छन्।
भारत सरकारको अनुरोधमा नेपाल सरकारले भारतीय साउदी अरबका लागि विषेश उडान अनुमति दिने निर्णय गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिएको जानकारीअनुसार नेपाल एयरलाइन्सले हप्ताको सात र हिमालयले तीन उडान गर्ने अनुमति पाएको छ।
एयरलाइन्सहरुले उडान तालिका पेश गरेपछि उडान मिति तय हुने उनले जानकारी दिए।
नेपालमा पछिल्लो समय संक्रमण बढ्दै गएपछि विभिन्न मुलुकहरुले आफ्ना नागरिक लिनका लागि चार्टर्ड उडानको अनुमति माग गरेका छन्। रसिया, अमेरिका, थाइल्यान्ड लगायतका मुलुकले आफ्ना नागरिक लिनका लागि उडान अनुमतिका लागि अनुरोध गरेका छन्।