चीनबाट ल्याइएका जहाजलाई बिक्री वा भाडामा दिनका लागि अर्थमन्त्रालयले सहमति दिएको छ। जहाज व्यवस्थापनका लागि भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मागेको सहमतिमा अर्थले दुई बिकल्पसहितको राय दिएको छ।
जहाज चलाउन नसक्नेभन्दै नेपाल एयरलाइन्सले पठाएको प्रस्तावका सन्दर्भमा सहमति माग गरिएकोमात्र अर्थबाट प्रतिक्रिया सहितको जवाफ आएको र त्यसमा लिज वा बिक्रीका लागि सहमति दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता तरानाथ अधिकारीले जानकारी दिए।
'अर्थको पत्र हामीकहाँ प्राप्त भएको छ। अर्थले जहाज सकेसम्म लिजमा दिनुपर्ने तर त्यो सफल नभएमा बिक्रीको प्रक्रिया अघि बढाउन भनिएको छ' अधिकारीले सेतोपाटीसँग भने।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले चलाउन नसक्ने भन्दै बिक्री गर्नका लागि अनुमति माग्दै सरकारसमक्ष पत्राचार गरेको थियो।
एयरलाइन्सको प्रस्ताव अर्थबाट स्वीकृत भएपछि मन्त्रालयले मन्त्रिपरिषदमा लिएर पारित गराउने तयारी गरेको छ। यद्यपी मन्त्रिस्तरीय निर्णयबाट पनि गर्न सकिने अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाल एयरलाइन्ससँग २ एमए ६० र तीन वाइ१२ जहाज छन्। सरकारीस्तरको सम्झौतामा नेपाल एयरलाइन्सले कूल ६ जहाज ल्याएको थियो। यसमा एउटा वाइ १२ जहाज दुर्घटनाग्रस्त भइसकेको छ।
सम्झौताअनुसार वाइ १२ र एमए ६० १/१ वटा अनुदानमा आएका थिए भने बाँकी चार जहाज चीन सरकारकै सहुलियत ऋणमा आएका थिए।
जहाज आएदेखि नै सञ्चालन गर्न नसकेको एयरलाइन्सले गएको साउनदेखि नउडाउने निर्णय गरेको थियो। त्यसपछि जहाज व्यवस्थापन गर्नका लागि सरकारलाई अनुरोध गरेको थियो।
२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच जहाज खरिद बिक्री तथा ऋण लगानी सम्बन्धि सम्झौता भएको थियो।
जसअनुसार चीनमा निर्माण भएका जहाज नेपाल एयरलाइन्सले ल्याउने व्यावसायिक सम्झौता २०७० सालमा भयो। सोही सहमति अनुसार चिनियाँ पक्ष नेपाल एयरलाइन्सलाई २ जहाज अनुदानमा दिन सहमत भयो।
२ वटा अनुदानमा पाएको जहाजसँगै नेपालले चीनसँग सहुलियत ऋणमा थप चार जहाज किन्ने सहमति गर्यो। यसपछि पहिलो जहाज २०७१ मा आएको थियो भने अन्तिम जहाज २०७५ मा।
एयरलाइन्सले एमए ६० को लागि १ अर्ब ६५ करोड को लागि ऋण लिएको छ भने वाइ १२ इ एउटाको लागि ४७ करोड २७ लाख लिएको छ। यस बाहेक जहाज किनेदेखि २ अर्ब जति नोक्सानी यी जहाजबाटै भएको एयरलाइन्सले हिसाब निकालेको छ।
एयरलाइन्सले यन्त्रउपकरण नपाइएको, पाइलट प्रशिक्षण महंगो भएका जस्ता कारण देखाउँदै उडान नसकिएको बताउँदै आएको थियो।
नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज विमानस्थलमै थन्किएपनि तिनको ऋणभार भने संस्थाले बोकिरहेको छ। ६ वटा जहाज ल्याएको एयरलाइन्सले २ वटा अनुदान र ४ सहुलियत ऋणमा ल्याएको थियो।
सम्बन्धित समाचार
उडाउने प्रयास नगरी ग्राउन्डेड भए चिनियाँ जहाज
चिनियाँ जहाजबाट २ अर्ब नोक्सानी, चलाउन नसकिने भन्दै साउन १५ देखि उडान बन्द गर्ने निर्णय
नेपाल एयरलाइन्सले चलाउन नसकेका चिनियाँ जहाजको ऋण ३ अर्ब