दाङमा सिसाको बोतलबाट माला बनाइँदै आएको छ।
दाङ देउखुरीको गढवा गाउँपालिकामा मदिरा प्रयोगपछि फालेका बोतलबाट विभिन्न गरगहनाहरू तयार पारिँदै आएको हो।
मुक्त कमलहरीहरूले वियर तथा अन्य विभिन्न खाले मदिराका बोतलहरूबाट घाँटी, कान र हातमा लगाउने विभिन्न आकर्षक गरगहना निर्माण गर्दै आएका छन्। उनीहरूले निर्माण गरेका गरगहाना हालसम्म क्यानडामा मात्रै विक्री वितरण हुँदै आएका छन्।
गढवा गाउँपालिका वडा नं. ५ निवासी मुक्त कमलहरी शारदा चौधरीले मुक्त कमलहरीको क्षेत्रमा काम गर्दै आएको गढवा गाउँपालिका वडा नं. ५ स्थित क्रियटिङ पोसिविलिटीज नेपालको सहयोगले आफूहरूले मदिरा सेवनपछि फालिएका उपयोगहिन बोतलबाट विभिन्न गरगहना बनाउँदै आएको बताइन्।
क्रियटिङ पोसिविलिटीज नेपालले चारजना महिलाहरूलाई सिसाको बोतलबाट गरगहना कसरी बनाउने? भन्ने बारेमा काठमाडौंमा लगेर ४० दिने तालिम दिएपछि आफूहरूले बोतलबाट गरगहना बनाउन जानेको चौधरीले सेतोपाटीलाई बताइन्।
गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी असारती कुमालले आफूहरूले विगत तीन महिनादेखि सबैले उपयोगहिन देख्ने सिसाको बोतलबाट बिट्स, माला, झुम्का, हातमा लगाउने बाला बनाउँदै आइरहेको जानकारी दिइन्। ‘हामीले उत्पादन गरेका सबै गरगहाना हाल क्यानडा जाने गरेको छ, एउटा माला कतिमा बिक्छ हामीलाई थाहा छैन,’ कुमालले भनिन्।
गढवा ५ गढवास्थित क्रियटिङ पोसिबिलिटीज नेपालको कार्यालयमा चारजना महिलाहरूले सिसाका बोतलहरू होटलबाट खोजेर ल्याएर त्यसबाट माला बनाउँदै आएका छन्। आफूहरूले प्रतिव्यक्ति दैनिक चारसयमा ज्यालादारीमा काम गर्ने गरेको माला बनाउँदै गरेकी अर्की मुक्त कमलहरी कलिला चौधरीले बताइन्।
चौधरीले हालसम्म सिसाको बोतल सित्तैमा होटलहरूमा गएर ल्याउने गरेको बताइन्। ‘हालसम्म बोतलको अभाव पनि भएको छैन र किन्नु पनि परेको छैन,’–चौधरीले थपिन्, ‘दुईदिनमै होटलमा बोतलको चाङ लागिसकेको हुन्छ त्यो हामीले उठाउँदा उल्टै होटल धनि खुसी हुने गर्छन्।’
उनीहरूले सिसाको बोतल ल्याएर स्थानीयस्तरमै निर्मित ओखल(सिसा पगाल्ने भट्टी)मा हालेपछि माटोको साँचोमा राखेर बिट्स (दाना, गेडा) तयार पार्ने गर्दछन्। त्यही विट्सबाट माला, झुम्का र हातमा लगाउने बाला तयार पार्ने गरेको गढवा ६ निवासी बबिता कुमालले बताइन्।
आफूहरूले सबै खालका सिसाको बोत्तलबाट गरगहना बनाउँदै आएको कुमालले बताइन्। ‘जस्तो बोतलको रङ हुन्छ त्यस्तै विट्स निस्कन्छ,’– कुमालले थपिन् ‘त्यसैबाट हामीले रङ्गिविरङ्गी गहनाहरु तयार पार्दै आएका छौं।’
उनले दैनिक पाँच सयजति विट्स (गेडा) बनाइने तथा कम्तिमा एकसय ५० जति कानमा लगाउने झुम्का बनाउन सकिने बताइन्। ‘उपयोगहिन सिसाको बोतलबाट यति सुन्दर र महंगा गहना निर्माण गर्ने सिप सिक्न पाउँदा औधी खुसी छौं,’– कुमालले सेतोपाटीलाई भनिन् ‘यसले हाम्रो परनिर्भरता अन्त्य भएको छ , स्वावलम्बी हुन सकेकोमा औधी खुसी छौं।’
आर्थिक अवस्था कमजोर भएका पूर्व मुक्त कमलहरीहरूले मिलेर काम गर्दा रमाइलो हुने गरेको अनुभूति मात्रै साटेनन् बरु दैनिक चारसय कमाउने भएपछि घर परिवारको दैनिक समस्या समेत टार्न सक्ने भएकोमा खुसी साटेका थिए। ‘हामी जस्ता असाक्षर महिलाको अन्य कुनै उपाय थिएन, यो सीपले गर्दा आज हाम्रो पौरख पनि बिक्ने भएको छ,’– कुमालले भनिन् ‘ अब सधैँ श्रीमानले देलान र चुरा पोते किनौंला भन्ने छै। बालबालिकलाई खाजाको लागि पैसा समेत दिन सक्ने भएका छौं।’
आफूले मेहनत गरेर मासिक साढे दश हजार कमाउन थालेपछि श्रीमान र घर परिवारका सदस्यले समेत आफूहरूबाट आस गर्न थालेको उनीहरूले बताए। ‘घरमा हाम्रो इज्जत बढेको छ अब त उल्टै हामीसँग अप्ठेरो पर्दा पैसा माग्छन् र श्रीमानलाई पैसा दिन सक्दा खुसी लाग्ने गर्छ,’ कुमालले भनिन्।
उनले हालसम्म काठमाडौंमा र दाङमा मात्र उपयोगहिन सिसाको बोत्तलबाट गरगहना बनाउने गरिएको जानकारी दिइन्। उनले यसको सिको अन्यत्रपनि हुन सकेमा मदिराका सिसाका बोतलहरू सदुपयोग गर्न सकिने धारणा व्यक्त गरिन्। ‘बोतलको सिसा फुटेको छ भने त्यो बिझेमा के दसा हुन्छ ? त्यो खोलाहरूबाट किसानका खेतमा पुगेमा झनै समस्या हुन्छ,’ कुमालले भनिन्, ‘त्यसैले त्यसलाई भण्डारण गरि हामीलाई खबर गर्नुहोस् त्यो हामी लिन्छौं र गरगहना बनाउँछौं।’