अरिवल बर्षासँगै आएको बाढीपहिरोको जोखिमबाट भएको क्षतिको कारण बिमा कम्पनीहरूमा पर्ने दाबीको मूल्यांकन गर्न बिमा प्राधिकरणले निर्देशन दिएको छ।
‘बिमा कम्पनीहरूसँगको छलफलमा यो विपदको तथ्यांक छिटो संकलन गर्न हामीले कम्पनीहरूलाई निर्देशन दिएका हौं,’ प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले भने।
मुलुकभर देखिएको बाढी प्रकोपको कारण कम्पनीहरूलाई देखिएको दायित्व संकलनको लागि कम्पनीहरूले प्राधिकरणसँग केही समय माग गरेका छन्।
बाढी तथा पहिरोको कारण मुलुकभर २६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको उर्जा मन्त्रालयले उल्लेख गरेको छ। जलविद्युत कम्पनीहरूको अनिवार्य बिमा गरिएको हुन्छ।
बिमा कम्पनीहरूले यस्ता विपत्तिको दायित्व भुक्तानको लागि आफैले पनि विपत्ति कोष खडा गरेका हुन्छन्। केही समयअघिको तथ्यांक अनुसार निर्जीवन कम्पनीहरूसँग करीब चार अर्ब बराबरको महाविपत्ति जगेडा कोष थियो।
केही दायित्व कम्पनीहरूले पुनर बिमा कम्पनीमा पनि सारेका हुन्छन्। पुनरबिमा कम्पनीहरूले पनि आफुले २७ प्रतिशत हाराहारी जोखिम बहन गरेर करिब ७३ प्रतिशत जोखिम दायित्व विदेशी पुनर बिमा कम्पनीहरूमा सार्ने गरेका छन्।