नेपाल राष्ट्र बैंकका कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको भन्दै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चिन्ता व्यक्त गरेका छन्। राष्ट्र बैंकको ६३ औं वार्षिकोत्सवका अवसरमा उनले अनुशासनहीन कर्मचारीको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको टिप्पणी गरे।
बैंकले प्रदान गर्ने पोशाक भत्ता लिने तर पोशाक नलगाउने परिपाटी कर्मचारीहरुमा देखिएको उनले बताए। आफ्ना जिम्मेवारीका कामहरु तोकिएको समयमा सम्पन्न नगर्दा फाइलहरु लामो समयसम्म अड्किने गरेको उनले स्पष्ट पारे।
आफ्ना जिम्मेवारी पुरा गर्ने सम्वन्धमा राष्ट्र बैंकको सम्पत्तिमाथि नै हानी हुने कामहरु समेत हुने गरेको जनाउँदै उनले यस्ता विषयको व्यवस्थापन गर्नुपर्ने खाँचो औंल्याए।
कर्मचारीहरुलाई कारबाही गरिएका फाइलहरु समेत लुकाउने गरेको उनले गुनासो गरे। यस्ता गतिविधिप्रति राष्ट्र बैंक गम्भीर रहेको उनले बताए। ‘यस प्रकारका काम नरोकिए, अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गर्न राष्ट्र बैंक पछि पर्दैन’ उनले भने।
राष्ट्र बैंकका कर्मचारीहरुले विभिन्न मागहरु राख्दै बेलाबेलामा कामकारबाही अबरुद्ध पार्दै आएका छन्। औषधि तथा बिमा खर्चको सुविधा दिइनुपर्ने, जेष्ठ नागरिकका लागि निशुल्क आवासको व्यवस्था गरिदिनुपर्नेजस्ता मागहरु कर्मचारीले गर्दै आएका छन्। यिनै माग सम्वोधन गराउन दवाव दिँदै उनीहरुले विरोधका कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएका छन्।
सिवाकोटीले कर्मचारीको सेवा सुविधा बृद्धि गर्ने सम्वन्धमा पुनरावलोकन गरिएको जानकारी दिए। राष्ट्र बैंकमा चैत मसान्तसम्म १ हजार ५० कर्मचारी कार्यरत छन्।
बैशाख र जेठ महिनामा ७४ कर्मचारी सेवा निबृत्त हुने छन्। त्यसपछि कर्मचारीको संख्या ९७६ कायम हुने राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार विभिन्न पदमा १५१ कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान भई प्रक्रियामा गएको छ।
वार्षिकोत्सवका अवसरमा २० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। पूर्व गभर्नर गणेशबहादुर थापा र नोट तथा सिक्का डिजाइनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सुन्दर श्रेष्ठलाई सम्मान गरियो।