नेपाल राष्ट्र बैंकले एउटा मात्रै बाघको तस्वीर अंकित गरेर छापेको नयाँ पाँच सयको नोट चलनचल्तीमा ल्याएको छ। यसअघि दुई वटा बाघ अंकित पाँच सयका नोट चल्तीमा थिए।
साविककै आकार तथा रंगमा नयाँ नोट चल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। संकेत नम्वर ङ ४६ ०००००१ देखि छ ४०९९९९९९ सम्मका नोटहरु चल्तीमा ल्याइएको हो।
नोटहरु आजैदेखि चल्तीमा आएको जनाउँदै राष्ट्र बैंकले साविकका नोटहरु पनि चल्तीमै रहने जनाएको छ। नयाँ नोटमा गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर छ।
बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालिगुराँसको पानीछाप, नोटको तल्लो भागमा वि.सं. २०७३ अंकित गरिएको छ।
भित्र रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र नोटलाई ढल्काएर हेर्दा हरियो देखिने हुनाले सोही अनुसार सर्वसाधारणले नक्कली/सक्कली छुट्याउन सक्नेछन्।