साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से ५० अंकले बढेको छ। ५० दशमलव १८ अंकको वृद्धिसँगै परिसूचक १४३८ अंकमा कायम भएको छ। परिसूचक मात्रै नभई कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ।
यस दिन एक अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भयो। विगतका वर्षहरुमाजस्तै सिजन सुरु भएको भन्दै लगानीकर्ताले खरिद बढाएपछि समग्र बजारमा केही दिनयता उल्लेख्य वृद्धि देखिँदै आएको छ। गत वर्षका बैशाखमा नेप्से साढे १६ सय अंकमा थियो। हाल यो अंक साढे १४ सयमुनि छ।
‘सस्तो मूल्यमा सेयर झरिसकेपछि स्वभाविक रुपमा किन्नेहरु अत्याधिक सक्रिय हुन्छन्’ अहिले त्यही देखिएको हो’ लगानीकर्ता पिताम्बर खरेलले भने ‘अर्कोतर्फ बैंकहरुले पनि व्याजदर घटाउन थालेका सूचनाहरु आउन थालेको छ।’
त्यस्तै केही महिनामा अनलाइन ट्रेडिङ आउने चर्चाले पनि बजार बढेको उनले बताए। नेप्सेले अनलाइन ट्रेडिङको काम ८२ प्रतिशत सकिएको दावी गर्दै आएको छ।
असारभित्र अनलाइन ट्रेडिङ कार्यान्वयनमा ल्याउने नेप्सेको तयारी छ। यसअघि शुक्रबार मात्रै नेप्सेले ब्रोकरहरुबाट अनलाइनमा राखिएका सुविधाबारे जानकारी दिँदै थप सुझावहरु माग गरेको थियो।
यस दिन बिमा उपसमूह सबैभन्दा धेरै अंकले बढेको छ। एकै दिन सो उपसमूह ३५२ अंकले बढेको छ। त्यस्तै माइक्रोफाइनान्स समूह १ सय अंकले बढेको छ। जलविद्युत ८९, बैंकिङ ३९, होटल ६५, विकास बैंक ६१, फाइनान्स २३ तथा उत्पादन ४० अंकले बढे। अन्य समूह १२ अंकले बढ्यो।
कारोबारका आधारमा यस दिन कुमारी बैंक अग्रस्थानमा रह्यो। कम्पनीको हकप्रदका लागि सेयर किन्नुपर्ने आज अन्तिम दिन भएपछि उसको ५ करोड ३९ लाखको सेयर कारोबार भयो।
त्यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापकतर्फको ४ करोड ४० लाखको सेयर कारोबार भयो। सानिमा बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र सानिमा माइ हाइड्रोको ३–३ करोड बढीको कारोबार भयो।
अरुण काबेली, एनएमबि माइक्रोफाइनान्स र राष्ट्रिय बिमा कम्पनीको साधारण तथा संस्थापक दुवैतर्फका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। एनएमबि माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स र वमी माइक्रोफाइनान्सको मूल्य ९. ९ प्रतिशतले बढ्यो।
समग्र बजारमा ठूलो वृद्धि हुँदा १० कम्पनीको मूल्य भने घटेको छ। गुमाउनेमा रिडी हाइड्रोपावरका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ३ दशमलव ३ प्रतिशतले घटेको छ। ङादी ग्रुप पावर, सिनर्जी पावर, नेपाल हाइड्रो डेभलपर्स तथा छ्याङ्दी हाइड्रोपावरको मूल्य घटेको छ।
कारोबारका आधारमा बाणिज्य बैंक समूह सबैभन्दा अगाडि रहेको छ। सो समूहको ४१ करोडको कारोबार हुँदा बिमाको २३ करोड ३२ लाखको कारोबार भयो। बजारको पुँजीकरण १६ खर्ब ८६ अर्ब कायम भएको छ।