आउँदो बैशाख १ गतेबाट गोगंबु–सितापाइला रुटमा १७ वटा नयाँ बस चल्ने भएका छन्। ति बस चक्रपथको बाटो नभई हाल माइक्रो र टेम्पो चल्दै आएको भित्री बाटोबाट गुड्ने छन्। यी बसहरु दिगो शहरी यातायात प्रालिले ल्याउने छ। सो रुटमा हाल सञ्चालनमा रहेका टेम्पो र माइक्रो व्यवसायीको यो साझा कम्पनी हो।
यी बस एयरपोर्ट–सिनामंगल–पुरानो बानेश्वर–मैतिदेवी–डिल्लीबजार रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्ने छन्। फर्किने क्रममा नयाँबसपार्क–गोगंबु–सामाखुसी–गल्कोपाखा–लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामंगल हुँदै एयरपोर्टसम्म आउने छन्।
हाल सिनामंगलदेखि सुन्धारासम्म र नयाँ बसपार्कदेखि सुन्धारासम्म गरी दुई रुटमा टेम्पो र माइक्रो चलिरहेका छन्। यी दुई रुटलाई एकीकृत गरी एउटै रुट बनाएर बस गुडाउन लागिएको हो।
‘दुई वटालाई एकीकृत गरी एउटा रुटमा परिणत गरेर बस चलाउँदा यात्रुलाई सहज मात्र हुने छैन, यसले सो रुटमा सवारी चाप समेत उल्लेख्य रुपमा घट्ने छ’ कम्पनीका सचिव लालप्रसाद गुरागाईँले भने।
भारतीय बस निर्माता कम्पनी टाटासँग ती बस निर्माणको सम्झौता भइसकेको गुरागाईँले जानकारी दिए।
‘
टाटासँग हामीले दिएको डिजाइन अनुसारको बस निर्माण गर्ने सम्झौता भइसकेको छ। चैतभित्रमा बस काठमाडौँ आइपुग्छन्, वैशाख १ गतेबाट विधिवतरुपमा सञ्चालन गर्ने तयारी छ’ उनले भने।
बन्दका बेला चल्ने, ह्विल चेयरको सुविधागुरागाईँका अनुसार यी बस २३ सिट क्षमताका हुनेछन् भने ५० जना यात्रु ओसार्न सक्नेछन्। यसमा साझाकोझैं चढ्न र ओर्लनका लागि दुई फरक ढोका हुनेछन्।
यी बसमा सुरक्षा निगरानीका लागि ३ सिसिटिभी, एलइडी टिभी, इन्टरनेटका लागि जिपिआरएस, बस पुगेको ठाउँको जानकारी दिने जिपिएस तथा दुबै ढोकामा सन्देशमुलक डिजिटल बोर्ड रहनेछन्।
यसका साथै बस अपाङ्गमैत्री हुनेछन्। ‘बसमा अपाङगता व्यक्तिहरुलाई चढ्न र ओर्लन सहज होस भनेर दुई वटै ढोका चार बाइ चार साइजमा डिजाइन गरेका छौँ’ उनले भने ‘ह्विलचेयरको समेत व्यवस्था गरिएको छ।’
बस चलिरहेको बेला हुन सक्ने चोरी, वादविवाद वा अन्य कुनै आपतकालीन अवस्था आएमा प्रहरिलाई तत्काल खबर गर्न सकियोस भनेर चालकलाई सञ्चार सेटको उपलब्ध गराइने छ।
नयाँ आउने बसमा युरो तीन मापदण्डको इन्जिन प्रयोग हुने भएकाले गुड्दा कार्बन उत्सर्जनको परिमाण समेत न्युन हुने गुरागार्इँले दाबी गरे।
यसबाहेक ती बसलाई बन्दको समयमा समेत चलाइने गरी योजना बनाइएको उनले बताए। ‘सरकारी आयोजनाअन्र्तगत हामीले बस ल्याउने भएकाले ती बसहरु कुनै राजनैतिक दल वा अन्य समूहले गरेको बन्दमा पनि गुड्ने छन्’, उनले भने। बिहान र बेलुकाको छुट्ने समय एकरुपता हुने र निश्चित स्टेसनबाट मात्र रोक्ने र चढाइने उनको भनाइ छ।
कसको लगानी कति?गुरागाईँका अनुसार बस खरिद, डिपो निर्माण तथा आवश्यक मर्मत लगायत गरेर १० करोड रुपैयाँको लगानी छ। उत्पादक कम्पनी टाटासँग भएको सम्झौताअनुसार एउटा बसको लागत ४० लाख ९५ हजार पर्ने भएको छ।
यसका लागि नगर विकास कोषले दिगो शहरी यातायात प्रालिलाई ८ वर्षसम्मको लागि ५ प्रतिशतको सहुलियत ब्याजदरमा कुल लागतको ८० प्रतिशत ऋण उपलब्ध गराएको छ।
अपुग २० प्रतिशत रकममा कम्पनीले ५ प्रतिशत रकम हालेको छ भने काठमाडौँ दिगो शहरी आयोजनाले १५ प्रतिशत अनुदान दिएको छ।
‘यो रुटमा गुड्ने माइक्रो र टेम्पो व्यवसायीको भागमा करिब ५० लाख रुपैयाँ परेको छ। अरु रकममध्ये आयोजनाले अनुदान र नगर विकासले सहुलियत दरमा ऋण दिएको छ।
सो रुटमा चल्ने माइक्रो र टेम्पो के हुने ?काठमाडौँ दिगो शहरी यातायात आयोजना एसियाली विकास बैंकको सहयोगमा सञ्चालित छ। आयोजनाले काठमाडौँका सबै खाले गरेर करिब २ सय वटा रुटलाई ६६ मा झारेको छ। तीन प्रकारले वर्गीकरण गरी रुट गाभिएको हो। झारिएको रुट कार्यान्यवनका लागि यातायात व्यवस्था विभागलाई सिफारिस गरिएको छ।
आयोजनाले दुरी, बाटोको अवस्था, यात्रुको संख्या लगायतका स्थितिलाई ध्यानमा राखेर प्राइमरी, सेकेण्डरी र टर्सरी गरी तीन तहमा रुट वर्गिकरण गरेको छ।
कम्तीमा पनि २७ सिट भएका ठूला बस सहज रुपमा छिर्न सक्ने रुट प्राइमरीमा परेका छन्। यसमा ८ वटा रुट छन्।
सेकेण्डरी रुटमा मध्यम सिट क्षमताका बस सहज रुपमा ओहोरदोहार गर्न सक्ने परेका छन्। यसमा १६ वटा रुट छन्। टर्सरीमा भने टेम्पो, माइक्रो जस्ता साना सवारीलाई प्राथमिकतामा राखिएको छ। यसमा ४२ वटा रुटहरु परेका छन्।
यिनै नयाँ ६६ वटा सिफारिस गरिएका रुटहरुलाई आधार मानेर विभागले ‘पाइलट प्रोजेक्ट’का रुपमा सेकेण्डरीमा परेको गोगंबु–जमल–मैतीदेवी–सिनामंगल रुटलाई अघि सारेको हो। हाल सो रुटमा खण्डीत रुपमा २७ वटा माइक्रो र ३५ वटा टेम्पो चल्ने गरेका छन्। यिनै दुई प्रकारका साना सवारीलाई गाभेर नयाँ रुटमा ती बसहरु सञ्चालन गर्ने तयारी गरिएको हो।
खण्डीत रुटलाई एकीकृत गरी नयाँ बस चलाउने भनिएको दिगो शहरी यातायात प्रालिका सचिव गुरागाईँ आफै माइक्रो व्यवसायी हुन्। उनका अनुसार अब ती माइक्रोहरु नयाँ रुटमा चल्नेछन्।
त्यस्तै हालको सो खण्डीत रुटमा विद्युतीय सफा परिवाहन व्यवसायी संघले सफा टेम्पो गुडाउँदै आएको छ। संघका अध्यक्ष कमल सापकोटाकाअनुसार हाल सो रुटमा चलिरहेका टेम्पोहरु टर्चरी रुटमा पर्ने भएकाले तिनीहरु पूर्णरुपमा विस्थापित हुनुपर्ने छैन।
सापकोटाले सरकारले टर्चरीमा वर्गिकरण गरेको रुटको वरीपरी नै आफूहरु हाल चलिरहेकाले केही पोइन्ट मात्र तलमाथि हुने बताए।
‘हाल हामी सिनामंगलबाट मैतिदेवी हुँदै सुन्धारासम्मको रुटमा छौँ। यसपश्चात हामी रत्नपार्कबाट हालकै भित्री रुट हुँदै तिलगंगासम्म जाने गरी विभागसँग छलफल गरिरहेका छौँ, सबै पोइन्टहरुका बारेमा एकीन भइसकेको छैन’ सापकोटाले भने।
उनले धेरै यात्रु क्षमताका बस हुँदा सबैलाई सहज हुने भएकाले आफूहरुले त्यसलाई स्वागत गरेको बताए।