पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको रमेशचोकबाट दक्षिणट्टि लहरै आँपका ढेरी छन्।
ढाकी र क्रेटमा सजाएर राखिएका राता र पहेँला आँपले बाटो हिँड्ने जोकोहीको मन लोभ्याउँछ। प्रायः बिहानीपख सुनसान देखिने यस ठाउँमा अचेल बिहान पाँच बजेदेखि नै आँप किनबेच गर्नेको घुइँचो लाग्छ।
यहाँ राति करिब ९ बजेसम्म आँप बेच्नेहरू भेटिन्छन्। कतिपय त अझ ढिलोसम्म पनि बसेका हुन्छन्। यसरी आँप बेच्नेमा केही किसान र केही स्थानीय साना व्यापारी हुन्छन्।
यहाँ वरिपरिका गाउँबाट मात्र होइन, निकै टाढाबाट पनि मानिसहरू आँप किन्न आउँछन्। गाडीका यात्रु पनि आँप किन्न उत्रिन्छन्। उनीहरू निकै सस्तोमा पाएको ठान्छन् र मख्ख परेका देखिन्छन्।
रमेशचोकमा यस्तै ग्राहकलाई आँप बेच्दै गरेकी भेटिइन् ५५ वर्षीया उर्मिला राम। उनी सप्तरीको बलानबिहुल नगरपालिकाको चकदह गाउँबाट आँप बेच्न आएकी थिइन्।
गुलिया आँप बेच्न बसेकी उर्मिलाको मन भने केही अमिलो हुँदै थियो। बिहान ६ बजे आँप बेच्न बसेकी उनले १० बजेसम्ममा दुई केजी मात्र बेचेकी थिइन्।
बमोई र लालगुलाब प्रजातिका पहेँलो र गुलाबी देखिने आँप प्रतिकेजी ४० रूपैयाँमा दिँदा पनि ग्राहकहरू तर्किन्थे। कोही केजीको २० रूपैयाँ मोल्थे त कोही ३० रूपैयाँ।
उनले तीन क्रेट बमई र लालगुलाब एक क्रेट ल्याएकी थिइन्।
‘मेरोमा आँपको बोट चारवटा छ। वर्षभरिमा एकपटक फल्छ। पैसाका लागि आफूले नखाइकन बेच्न ल्याएकी छु। सिटी रिक्साले ३० रूपैयाँ करेट (क्रेट) को भाउमा भाडा लियो। मेरो भाडा ४० रूपैयाँ लियो। बजारमा बट्टी (कर) सय रूपैयाँ लियो,’ उनले भनिन्, ‘आउनजानमै तीन सय रूपैयाँभन्दा धेरै खर्च हुन्छ। मान्छे सस्तोमा माग्छन्, हाम्रो कष्ट देख्दैनन्।’
आँपका लागि लहान निकै प्रख्यात ठाउँ हो। यहाँ आँपको निकै ठूलो व्यापार हुन्छ। सिरहाका मात्रै नभई सप्तरीका किसान पनि आँप बेच्न लहानमै आउँछन्।
स्थानीयवासी जानकारहरूका अनुसार लहानभन्दा बढी आँप सप्तरीमा फल्छ। सप्तरीको आँप चम्किलो पनि देखिन्छ। मलिलो माटो भएकाले दाना पनि ठूला हुन्छन्। यसो भए पनि सप्तरीमा भाउ राम्रो आउँदैन। बजार ठूलो छैन। लहानमा आँपको बजार ठूलो हुने भएकाले सप्तरीका बगैंचा किनेका व्यापारी पनि लहानबाटै बेच्छन्।
कृषहरू भने उचित भाउ नपाएको गुनासो गर्छन्।
सप्तरीको सुरुंगा नगरपालिका–२ भेरिया निवासी आँप व्यापारी विश्वेश्वर महतोले यसपालि घाटा लाग्न सक्ने सम्भावना देखेका छन्, उनलाई चिन्ता परेको छ।
उनले यसपालि सप्तरीमा १२ लाख रूपैयाँको बगैंचा किनेका छन्। उनले गएको शनिबार लहान बजारमा स्थानीय व्यापारीलाई बमोई र मालदह आँप प्रतिकेजी ३५ रूपैयाँमा बेचे, त्यो पनि निकै कर गरेर।
‘३० रूपैयाँ (प्रतिकेजी) भन्दा बढी भाउ नै लगाउँदैनन्। आज १२ करेट (क्रेट) टिपेर ल्याएको थिएँ, धेरै भनसुन गरेर ३५ रूपैयाँ (प्रतिकेजी) मा बेचे,’ उनले भने, ‘हामीले किनेको भाउ नै त्यति हुन्छ। त्यस हिसाबले त हामीले कम्तीमा ५० रूपैयाँ (प्रतिकेजी) मा बेच्नुपर्ने थियो।’
विश्वेश्वरका अनुसार व्यापार यस्तै हो भने घाटा हुने पक्का छ।
‘अहिले त आँप व्यापारी मरिरहेका छन्। हाम्रो अवस्था बहुत नाजुक छ। टिप्नेलाई तीन टाइम खाना दिएर पाँच सय रोजमजदुरी (दैनिक ज्याला) दिनुपर्छ,’ उनी भन्छन्, ‘यसपालि पनि घाटा लाग्ला जस्तो छ। पोहोर साल १६ लाख (रूपैयाँ) को बगैंचा किनेको थिएँ। मूल धनमै अढाई लाख घाटा लाग्यो। मिहिनेत र हैरानीको हिसाबै छैन।’
कोल्ड स्टोर (शीतभण्डार) नभएका कारणले व्यापारी र किसान दुबैले घाटा खानु परेको उनको भनाइ छ। कोल्डस्टोर भएको भए मौकामा राम्रो भाउ लिएर बेच्न पाउने थिए। किसानलाई पनि फाइदा हुने थियो।
व्यापारीले नै सस्तोमा बेच्नु परेकाले किसानले पनि राम्रो भाउ पाउन नसकेको उनले बताए।
उनले भने, ‘वर्षमा दुईपटक फूलबारी (बगैंचा) जोताउनुपर्छ। कम्तीमा तीनपटक औषधि छर्किनुपर्छ। पानी पटाउनुपर्छ। औषधि, लेबर (मजदुर) सबै महँगो भयो। किसानको फलफूल र तरकारी सबै सस्तो भयो।’
काठमाडौं र अरू सहरमा आँप बेच्न जाँदा प्रशासनले कडाइ गरेको र दुःख दिएको भन्ने आफूले सुनेको उनले बताए। भारतबाट आउने आँपका कारणले पनि नेपाली आँपले राम्रो भाउ नपाएको उनको ठहर छ।
उनी भन्छन्, ‘इन्डिया (भारत) बाट सस्तोमा आँप आउँछ। त्यो आँप विषादीवाला हुन्छ। सरकारले इन्डियाबाट आउने विषादीवाला आँप मात्र रोकदिने हो भने हाम्रो आँपको भाउ राम्रो हुन्छ। नेपालको आँपमा विषादी हुँदैन।’
लहानमा किसान र व्यापारीले थोकमा ३५ रूपैयाँ प्रतिकेजी बेचिरहेको मालदह र बमोई आँप काठमाडौंमा कम्तीमा ८० रूपैयाँमा बिक्री हुने गरेको पनि उनको भनाइ छ।
लहानको ‘सरस्वती कृषि फर्म’ ले लहान नगरपालिकाको सहकार्यमा आँप ग्रेडिङ र ब्रान्डिङ गरेर बेच्ने गरेको छ। फर्म सञ्चालक नागेश्वर महतोका अनुसार काठमाडौंमा अलिक महँगोमा बिक्री हुन्छ।
उनी भन्छन्, ‘अहिले म ग्रेडिङ र ब्रान्डिङ गरेको आँप काठमाडौंमा केजीको ८० रूपैयाँमा बेच्दैछु। अनलाइनबाट बेच्नेले १२० रूपैयाँ केजीमा बेच्ने गरेका छन्।’
नागेश्वरले काठमाडौंको शान्तिनगरमा लहानको आँप ग्रेडिङ र ब्रान्डिङ गर्दै बेच्ने प्रबन्ध मिलाएका छन्।
उनका अनुसार लहानमै बेच्दा खर्च कम पर्छ। काठमाडौं पुर्याउन गाडीभाडा, घरभाडा, कामदारको पारिश्रमिक, खानपिन लगायतमा खर्च हुन्छ। सबै खर्च जोड्दा काठमाडौंमा लहानको भन्दा दोब्बर महँगो पर्छ।
लहानको आँप काठमाडौं उपत्यका र देशका सबैजसो सहरमा प्रख्यात छ। लहानमा आँपको फलमात्र होइन, बिरुवाको पनि व्यापार हुन्छ। लहान बजार क्षेत्रमा मात्रै ८ वटा नर्सरी छन्।
लहानका नर्सरी व्यवसायीहरूमध्ये एक जना हुन् शिवजी महतो। उनले ‘युगलकिशोर नर्सरी’ नाम राखेर आँपको नर्सरी चलाएका छन्। गत वर्षको १२ लाख रूपैयाँको बिरुवा बेचेको उनले बताए।
‘बिक्री कम हुँदा पनि पोहोर साल १२ लाखको बिक्यो। यसपालि अलिक बढीको बिक्ने आशा छ,’ उनी भन्छन्, ‘साइज (आकार) अनुसार बिरुवाको दाम सय रूपैयाँदेखि चार सय रूपैयाँसम्म हुन्छ।’
उनको नर्सरीमा सिरहाको पूर्वी क्षेत्र, सप्तरी र पहाडका ओखलढुंगा, उदयपुर र खोटाङसम्मका मानिस आँपको विरुवा किन्न आउने गरेका छन्।
हेर्नुहोस् यी स्टोरी पनि :
लहानको कुन आँप कहिले पाक्छ, कहिलेदेखि आउँछ बजारमा?
जहाँसम्म नजर पुग्छ, त्यहाँसम्म आँपै आँप