विगत केही वर्ष अघिदेखि अधिकांश स-साना युट्युब पत्रकारहरूले टिआरपीका लागि समाजका झिनामसिना झगडा एवं झुटलाई बढवा दिने खालका अप्राकृतिक घटनाहरू सम्प्रेषण गरिरहे।
अरुलाई बिल्ला गरेको, तल झारेर खिसी गरेको जस्ता कुरामा भ्युज आउने निहुँमा सोझै भाइरल गर्दिन्छन्। देशका हरेक समस्यामा खबरदारी गर्नु आम सञ्चार माध्यमको जिम्मेवारी हो तर पनि हरेक समाचारमा बोलिने वाक्यहरू 'छ' भन्दा पनि 'छैन' मा गएर टुंगिँदा घरमा बसेर हेरिरहेका दर्शक वा स्रोताले कस्तो अनुभूति गर्छन् र यसले मनोवैज्ञानिक असर कस्तो पार्छ? भन्नेमा पनि सजग हुनुपर्छ।
अझ सत्यलाई बंग्याएर कसरी समाजमा बिकाउन र धेरै मानिसको सामु सर्वप्रथम पुर्याउन सकिन्छ, त्यस्तो होडबाजीले समाचारका हेडलाइन रचिन्छन्। भित्रको गुदी जति सकरात्मक भए पनि हेडलाइन नकारात्मक नै बनाउनु पर्छ भन्ने आम बुझाइ छ। किन हो कुन्नी, कतै हाम्रो समाजले नै यस्तै ग्रहण गर्ने भएर हो कि? अनि नरक मिठो लाग्ने र स्वर्ग तितो लाग्ने हाम्रो समाजको हविगत नै भएर हो? विश्लेषण गर्नुपर्ने जरुरी छ।
समाजका आम घरायसी गतिविधि पनि सामाजिक सञ्जालको कण-कणमा भिजेको पाइन्छ। फलानोको छोराले कान्छी ल्याएको देखि, ढिस्कानोको छोरी पोइला गएको सम्मका घटनाहरू सामाजिक सञ्जालमा हुने आम गफगाफबाट नै छताछुल्ल हुन्छन्। छिमेकीले चोर बाटोबाट कमाएर घर ठड्याएको देखि तल्लाघरेको नाति चार विषयमा फेल भएको घटना सुन्न पनि सबैजना अनलाइन बस्छन्।
सबै नेताहरू चोर भए, मन्त्रीहरू घुस्याहा भए, देश डुब्ने भो, खत्तमै हुने भो जस्ता राजनीतिक वृत्तका घटनाहरू पनि सामाजिक सञ्जालमा नसुनिने होइनन्। 'माथिल्ला घरे साइलो अरबबाट आएको एक हप्ता भइसक्यो अझै मलाई भेट्न कोसेली लिएर आएको छैन' भन्दै छिमेकी अंकल सामाजिक सञ्जालमा मनको तितो नै ओकल्छन्। अचेल मानिसलाई कसैको नि डर छैन। कसैको विरोध गर्न र धज्जी उडाउन भनेपछि कम्मर कसेरै लाग्छन् सामाजिक सञ्जालमा।
फलानोको लोग्नेले त घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएको परिघटनादेखि लिएर विदेशबाट श्रीमानले पठाएको पैसामा मस्ती गर्दै अर्कैसँग सल्किएकी श्रीमतीको कथासम्म सामाजिक सञ्जालमा घन्किन्छन्। सुनैसुनले पहेलिएकी छिमेकीको श्रीमानले भन्सारमा भ्रष्टाचार गर्ने गरेको प्रमाण पनि सामाजिक सञ्जालमा भेटिन्छ।
अमेरिका गएको यतिका वर्ष भइसक्दा पनि छोराले घुम्नका निम्ति नबोलाएकोमा भर्खरै अष्ट्रेलियामा सुत्केरी बुहारी स्याहारेर आएका आडैको छिमेकी सामाजिक सञ्जालमा गद्गद् हुन्छन्। फलानोले छतमा घिरौला फलाउन नसकेकोमा खुसी हुँदै अन्टीहरू सामाजिक सञ्जालमा खुसी मनाउँछन्।
विदेशमा रहेका नेपालीहरूको झन् व्यथा उस्तै छ। खाडीमा रहेका नेपालीहरू देशले आफ्नो श्रमको मूल्य नबुझेको दुःख सामाजिक सञ्जालमा प्रकट गर्छन् भने अमेरिका-अष्ट्रेलियामा हुनेहरू देश त फर्किनै नपरे हुन्थ्यो झैँ गर्छन्। समुद्र किनारमा ह्विस्कीको स्वाद लिँदै नेपालका नेताहरू सबै चोर भएको भन्दै सामाजिक सञ्जालमा गाली गर्छन्।
अमेरिकामा सेटल हुन छिरेको एउटा विशेषज्ञ नेपाली डाक्टर, 'हुम्लाको स्वास्थ्य चौकीमा किन डाक्टर नपुगेको हो?' भन्दै न्युओर्कमा बसेर फेसबुक स्ट्याटसमार्फत प्रश्न सोध्छन्। सबैलाई देशमा लुट्न परेको छ भन्दै दुःख मनाउ गर्छन्।
यसरी नेपालीको सामाजिक सञ्जाल खोतल्दा आम जनताबाट नै सकारात्मकभन्दा नकारात्मक आह्वानहरूलाई सहजै स्वीकार गर्न खोजेको पाइन्छ। अझ आफै झुटा अफवाह र बाङ्गा प्रवृत्तिहरूमा बाँच्न अभ्यस्त भएको पाइन्छ। यो हाम्रो आम मनोदशा हो वा सत्य बुझ्न नचाहने क्रिया? जे होस् संरचनाको भूलभुलैयामा बाँच्न विवश छन् जनता। र यो अवस्था मिथ्याको विषम एडिक्ट अवस्था पनि हो।
यति धेरै नेगेटिभिटी छरिएको हाम्रा सामाजिक सञ्जालमा विज्ञहरूको प्रवचन र लेख पढ्दा पनि विचारधाराहरू विस्तारै बाङ्गिँदै गएको र असत्यको नै पक्षपोषण गरेको पाइन्छ। यसलाई कुराजनीतिक लगावको प्रतिफल वा स्वच्छ विचारको संहार, जे भन्दा पनि हुन्छ।
प्रतिपक्षमा हुने बित्तिकै सामाजिक सञ्जालमा सरकारका हरेक गतिविधिको उछितो काढ्न अभ्यस्त हुने र सरकारमा पुग्ने बित्तिकै गल्ती ढाकछोप गर्न असत्यको जलप लगाउने जस्ता घटनाक्रमले पनि समाजमा नकारात्मकतालाई बढी नै बढवा दिएको छ।
धर्म, जाति, लिङ्ग, भेषभुषा, चाडपर्व आ-आफ्ना निजी स्वतन्त्रताका विषयहरू हुन्, तर पनि यी यावत विषयहरूमा राजनीतिक दाउपेच सिर्जना गरेर हुँदै नभएको द्वेषको भावना सामाजिक सञ्जालमा नै जागृत हुनु पनि नेपाली समाजका लागि आत्मघाती छ। यो कुनै नितान्त एउटा समुदायको बहादुरीको विषय हुँदै होइन र सिंगो राष्ट्रलाई सकारात्मक विकासको पथमा लैजान यस्ता अड्चनहरूलाई बेलैमा निमिट्यान्न पार्नु पनि पर्छ।
नेपालमा रहेका सामाजिक सञ्जालमा देखिने तमाम सञ्चारकर्मीहरूले पनि राजनीतिक असमझदारी, बिग्रिएका, भत्किएका र असम्भव भएका घटनाक्रमहरूलाई प्रमुख समाचार बनाउनुको साट्टो केही सुधार भएका, विकासका थालनी भएका, राजनीतिक एकता भएका, मन्त्रीले नवीन कार्य सुरुआत गरेका, स्वास्थ्यकर्मी-सुरक्षाकर्मी दत्तचित्त भएर कोरोनाको रोकथाममा तैनाथ भएका, निको भएर धेरै बिरामी घर फर्किएका जस्ता विषयहरूलाई पनि प्राथमिकता दिनुपर्छ।
सामाजिक सञ्जालमा आपसी कलहजस्ता देखिने भद्दा राजनीतिक संवादका लाइभभन्दा साहित्य सिर्जना कलाका पारखीहरूसँगको अनरंग कुराकानी निकै चाखाग्दो र रोचक हुन्थ्यो होला। हाँस्यरसले भरिपूर्ण सन्देशमूलक तरिकाले गरिने विरोधहरू पनि मानिसको मन मस्तिष्कमा सकारात्मक ढंगले प्रवेश गर्थे होलान्।
शान्त रहने प्रकृतिको चेष्टा, चराको चिरीबिरी, हिमालको मुस्कान, तालतलैयाको मनमोहकता अनि जवानीमा हुर्कंदै गरेको गाउँले परिवेशको शैशवकाल यी सबै-सबै पनि सामाजिक सञ्जालका स्क्रीनमा अटाउन सके कति राम्रो हुन्थ्यो होला।
देखासिकी र फेसनकै आवरणमा भन्दा पनि मोलतोल कै तराजुमा अब सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफूले कत्तिको सकारात्मक सन्देश प्रवाह गर्दैछु? भन्ने कुरा जोख्न जरुरी भइसकेको छ। सधैँ राजनीतिको ढिक्किच्याउँ खेललाई प्रसारण गर्न पनि त कतिन्जेल सुहाँउछ र?
अनि आम सर्वसाधरणहरूले पनि जे जति कुराहरू फेसबुकका स्क्रीनमा आइपुग्छन् तिनलाई नबुझी र नपढी लाइक, कमेन्ट र सेयर गर्ने हतार किन गर्ने? कत्तिको सकारात्मक खबरहरू आफूले आफ्नो जीवनमा अनुसरण गर्ने आफूमा भर पर्ने कुरा पनि हो।
युट्युबका च्यानलहरू सबस्क्राइब गर्ने नाउमा हामीले अनावश्यक कुराहरूलाई निरन्तर हेरिरहने बानी त बसालेका छैनौँ? यो पनि सोचनीय छ।
हामी हाम्रा जनप्रतिनिधिहरूले स-साना गल्ती गर्दा, बाटो बिराउँदा पनि सोसल मिडियामा च्याँठिन्छौँ, रिसाउँछौँ। यो जरुरी पहलकदमी हुनसक्छ तर मनोवैज्ञानिक रुपमा हामी हाम्रो आचरण र प्रवृत्तिलाई नकारात्मक दिशातर्फ मोड्दै पो छौँ कि? भन्ने कुरा पनि हेक्का राख्नु पर्छ। यसले कालन्तरमा हामी स्वयमलाई मानसिक समस्या उत्पन्न गराउने अनि समाज र राष्ट्रको भविष्य पनि अन्धकार बाहेक केही नदेख्ने अवस्थामा पनि पुर्याउन सक्छ।
नेताहरूले पनि झुटको बदलामा झुट थुपार्दै जाने र जनताले पनि प्रतिरोध स्वरुप सामाजिक सञ्जालमा सिधा गालीमाथि गाली गर्दै जाने क्रियाहरू अप्राकृतिक छन्। अब उप्रान्त सम्पूर्ण क्षेत्रले सामर्थ्यवान भएर थोरै भए पनि सकारात्मक निचोड निकाल्न ढिला गर्नु हुँदैन।
जसरी ह्याप्पी इन्डिङ भएका फिल्महरू हिट हुन्छन् उसैगरी सामाजिक सञ्जाललाई दीर्घकालीन रुपमा सकारात्मक बनाउन हामीले आजैदेखि आ-आफ्नो कदम चाल्नुपर्छ।