मृत्यु उत्सव पनि के यति भव्य, सुन्दर, मोहक, रोचक र आकर्षक हुनसक्छ?
यदि तपाईंलाई मृत्यु उत्सव पनि गुलजार हुन्छ भन्ने कुरामा पत्यार लाग्दैन भने तपाईं अबको सापारु (गाईजात्रा) एक हप्ता भक्तपुर घुम्न आउनुपर्ने हुन्छ। मरेका आफ्ना प्रियजनहरूको नाममा भव्य उत्सव मनाएर पुरै प्राचीन नगरीको प्रदक्षिणा मार्गमा घुम्ने चलन सायदै संसारको अरू सहरहरूमा पाइएला।
के यस्तो मृत्यु उत्सवमा गुलजार सहर अरू कुनै छ?
के मान्छेको मृत्युको उत्सव शोक नै मात्र हुने गर्दछ?
नश्वर मृत्युको जीवन्त उत्सव पनि मानिसहरूले खुलेर उमङ्गका साथ गाईको पुच्छर समाउन लगाई नगर घुमाएर वैतरणी तराउन पाए स्वर्ग पुगिन्छ भन्ने विश्वासले मात्र भक्तपुर नगरी यति विघ्न जीवन्त बनेको होला त?
त्यति मात्रै होइन, सुन्दर प्राचीन नगरी यो समय अलौकिक पुराना नाचगान, बाजागाजा, प्याखं र जात्राको अवलोकनले मन आह्लादित हुन्छ।
सापारुको दिनदेखि कृष्ण जन्माष्टमीको दिनसम्म प्राचीन नगरी भक्तपुरमा प्रत्येक बाटो, दबु, खुला ठाउँ, प्रत्येक नास द्य: र हामा द्य: को चोकहरू आधुनिक भाषाको थिएटरका रूपमा रूपान्तरित हुन्छन्। सम्पूर्ण सहरभरि नै पुराना मौलिक नाचगान, संगीत, वाद्यवादन, लोक नाट्य र लोकगीत सजीव भएर डुल्दछन्।
सहर नै यसरी रसरङमा झुम्ने संसारको अरू सहर छन् होला त?
थरीथरीका यति विधि विविध बाजा, लय, नृत्य संगीत जीवन्त बाँचेको सहर छन् होला त?
भक्तपुरको किसान ज्यापू वर्गले प्राचीन लोकगीत, लोक नृत्य र लोक साहित्य आफ्नो जनजीवनमा अँगालेर आएको त छँदै छ, आजको समयसम्म पनि समाजमा यस्ता प्राचीन लोकगीत र लोकनृत्य निरन्तर पुस्तान्तरण हुँदै जीवित बाँचेको छ, न कुनै आर्थिक सहयोग, न कुनै विदेशी सहयोग। आफ्नै नाङ्गो खुट्टाले हिँडेर केही अक्षर नपढेका पुर्खाहरूले कसरी थ्यासफूको पानामा लेखिएका रञ्जना लिपी, प्रचलित लिपी, मैथिली भाषाका श्लोकहरू, संस्कृत भाषाका श्लोकहरू भजनको रूपमा कण्ठ पार्न जाने होलान्! त्यस कारण समग्र यस्ता प्राचीन लोक गीत, लोक नृत्य र लोक सङ्गीत आजसम्म जीवित बचाइराख्ने श्रेय यी नै किसान वर्गलाई जान्छ।
यहाँका वाद्य वादक, नृत्य गुरु, सङ्गीत गुरुहरू आजको विश्वकै मै हुँ भन्ने सङ्गीतकार र नृत्याङ्गनाभन्दा कम छैनन्। कखरा नसिकेका यी किसान ज्यापू समुदायका गुरुहरू बिना शैक्षिक प्रमाणपत्रधारी विश्वविद्यालयका प्रोफेसरहरू हुन्। यो बेला भक्तपुर नगरी नै एउटा प्राचीन विश्वविद्यालय प्रतीत हुन्छ। किनकि कर्मठ र लगनशील व्यक्तिहरूले यहाँ निरन्तर प्राचीन नाचगान, बाजागाजा, कला र संस्कृतिको सिकाई र त्यसको हस्तान्तरण एवम् पुस्तान्तरण हुँदै र गर्दै आउनु गौरवको विषय छ।
यही कारण हुनुपर्छ भक्तपुरमा सापारुको एक हप्ता पुरै रसरङमा झुमेका नाचगान र जात्रा दृश्यावलोकन गर्न पाइन्छ। मृत्यु उत्सवमा पनि नगर गुलजार हुन्छ।
प्राचीन नाचगानको राजधानी भक्तपुरमा निस्वार्थ रूपले आफ्नो सम्पूर्ण जीवन नै यस्ता सांस्कृतिक आयामहरूमा अर्पण गरेका गुरुहरू छन्। तिनीहरूले न आफ्नो व्यक्तिगत स्वार्थ हेरे, न त पैसालाई नै पछ्याए। बिना स्वार्थ आफ्ना कला, कौशल र सांस्कृतिक दायित्व निभाएका गुरुहरूबाट सिक्न जरुरी छ। यस्ता प्राचीन लोक संस्कृति कसैको व्यक्तिगत प्रयोजन हुन सक्दैन र हुनु पनि हुँदैन। त्यस्तो प्रयोजन केही समय लोभलाग्दो र फाइदाजनक रहेता पनि दीर्घकालीन हुन सक्दैन। यसको संरक्षण र दीर्घकालीन जीवन्तता सम्पूर्ण समुदाय र सांस्कृतिक समूहको उत्थानमै मात्र सम्भव देखिन्छ।
त्यसो भए यस्तो बृहत्तर सोच के सम्भव छ?
भक्तपुर नगरपालिकाले वर्षौँ पहिलेदेखि माग गरिँदै आएको ख्वप विश्वविद्यालयको सान्दर्भिकता यहाँनेर बोध हुन्छ। लोक सम्पदा, लोक नृत्य, लोकगीत र लोक साहित्यको संरक्षण, अध्ययन अनुसन्धान गर्न पनि विश्वविद्यालयको आवश्यकता तड्कारो रूपमा रहेको छ। यही नै अर्थ आर्जनको स्रोत हुनसक्ने वातावरणको निर्माण हुन पनि जरुरी छ। न कि जीवनभरिको सांस्कृतिक कर्म केवल सांस्कृतिक दायित्वबोधमा मात्रै नसकियोस्।
सापारुको एक हप्तासम्म यसरी सुन्दर नगरीमा भैल प्याखं, देवी प्याखं, महाकाली प्याखं, खिचा प्याखं, कवांचा प्याखं, ख्यागोरा, प्याखं, कलाली प्याखं, नागाचा प्याखं, लाखे प्याखं, गाइचा प्याखं, फाकंदली प्याखं, म्हेखा प्याखं लगायतका दर्जनौँ लोकनृत्यको अनुपम रसास्वादनको लागि सुन्दर नर्तकी जस्तो देखिने ख्वपदे अर्थात् भक्तपुर स्वागत गर्न पर्खिरहेछ।
यस्तो दर्जनौँ नृत्य र संगीतको भण्डार नै रहेको भक्तपुर सांस्कृतिक राजधानी नगर हो। कलाकारको भाव, भङ्गीमा, मुद्रा, चालढाल र ढाँचाले हामीलाई हर्षित, आनन्दित र विभोर बनाउँदो छ। त्यसभन्दा पनि एक समयको प्राचीन सजीवताको उभार देख्न सकिन्छ। केवल भक्तपुर साँच्चिकै मूर्त सम्पदामा मात्रै होइन, अमूर्त सम्पदाको पनि विलुप्त खानी हो भन्दा अतिशयोक्ति नहोला।
ऐतिहासिक तथ्य केलाउने हो भने भक्तपुरका मल्लकालीन राजाहरू कला, साहित्य र नाटकहरूमा बहुत रुचि राख्थे। राजाहरू स्वयम लेख्थे र नाटकहरू खेल्थे। विशेषतः महाभारत, रामायण र पुराणका केही अध्यायहरूको अथवा केही दृश्यहरू मञ्चन गरिन्थ्यो। नाटकहरू र सांस्कृतिक प्रदर्शनको निम्ति दरबार भित्र नासल चोकको व्यवस्था गरिएको थियो भने जनताको लागि डबूहरू बनाइएका थिए। दरबारको निमित्त विभिन्न शुभ अवसरमा नाचगान मनोरञ्जनको माध्यम थियो।
राजा भूपतिन्द्र मल्लको विवाहको लागि बुवा जितामित्र मल्लले ‘मदलसा हरण’ नाटक लेखे र मञ्चन गर्न लगाए। त्यस्तै भूपतिन्द्र मल्लले छोरा रणजीत मल्लको विवाहमा ‘मदलसा हरण’ नाटक लेखी मञ्चन गर्न लगाए। त्यस बेलाको मञ्चनमा भाषाको माध्यम विशेषतः नेवारी, संस्कृत, मैथिली र बङ्गाली थियो। नेवारी भाषाको प्रयोग गरी नाटक लेख्ने काम जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्लले गरे। रणजीत मल्लले सबैभन्दा बढी नाटक लेखे। उनले लेखेको विरहले रोदनपूर्ण घाटु गीत विस्का जात्रामा आज पनि गाइन्छ।
मल्ल कालमा राजाहरूले गीत संगीत, नाचगान, काव्य र कविताहरू लेखे पनि त्यो सायद दरबार भित्रै सीमित थियो कि जनताले पनि अंगालेको थियो भन्ने विषय अध्ययन गर्न जरुरी छ। किनकि प्राय सापारुमा गाइने नाचगान, गीत संगीत र प्याखंहरू कुनै राजा महाराजाले लेखेर वा चलाएर निरन्तरता पाएको हो भन्ने जस्तो देखिँदैन।
सापारुको लोकगीतमा त लोकजन आफैले सृजना गरी आफ्नै पिर बेथा, दुःख वेदना र सत्तासँग प्रतिरोध र प्रतिशोध गरिएको विम्ब वा छनक पाइन्छ। ‘सिलु म्ये’ गीतमा एउटी अबला नारीले पितृसत्तात्मक समाजविरुद्ध प्रतिरोधको भाषा बोलेको छ। ‘मचा वाय येङ्केगु’ गीतमा सत्तासँग प्रतिशोध छ। ‘सांदेश वानेग’ गीतमा समाजकै दुष्ट व्यक्ति र चरित्रसँगको प्रतिशोध र प्रतिरोध एउटी नारीले व्यक्त गरेको छ। गाइचा र फाकंदलीले सत्ताको विरुद्ध ओकलेकै देखिन्छ।
देवी प्याखं, भैल प्याखं, कवांचा, ख्यागोरा, जंगली प्याखंहरू पनि समाजको विकाससँगै उत्पत्ति भएका र उनीहरूले समयसँगै अंगालेको लोकनृत्य जस्तो देखिन्छ। सापारुका यी लोक नृत्य र लोकसंगीत लोकले नै रचे, जनताले नै गाए र आजसम्म पनि लोकजनले नै जोगाए। उसो भए यी लोकगीत र लोकसंगीत लोकजनकै सम्पत्ति हो भन्नेमा दुई मत छैन। जनता या लोकबाट सिर्जित लोक संगीत र संस्कृति नै जन जनमा बाँचिने रहेछ।
भक्तपुरको यस्तो कला र संस्कृतिको विषयमा जुन स्तरमा छलफल, अन्तरक्रिया, शोध, अनुसन्धान र खोज हुनुपर्ने हो, त्यो भएको जस्तो लाग्दैन। अथाह लोक संस्कृति, लोक नृत्य र लोक संगीतबारे केही दस्ताबेज, तथ्याङ्क, पुराना लिखित प्रमाणहरू, त्यसबारे भएको प्रामाणिक इतिहासको खोज गर्नुपर्यो भने जो कोहीलाई पनि हम्मे हम्मे पर्छ।
जर्मनी वाद्यवादक तथा प्रोफेसर गेर्ट माटिअस वेगनरले वर्षौँसम्म भक्तपुर बसेर यहाँको गीत संगीत, वाद्यवादन, बाजागाजामा आफ्नो जीवन नै सुम्पेर गए। उनले ‘ड्रमिङ इन भक्तपुर’ पुस्तक लेखेर भक्तपुरको लोक सङ्गीत र लोकनृत्यको खोज एवम् अध्ययन अनुसन्धानमार्फत दस्ताबेजीकरण पनि गरे। त्यसपछि जगदीश शमशेर राणाले ‘नाचगानको राजधानी भक्तपुर’ पुस्तक लेखे। यी पुस्तकहरूमा भक्तपुरका प्राचीन कला संस्कृति, नाचगान र बाजागाजाको महत्त्व, आवश्यकता र संरक्षणको उपाय एवं चिन्ता व्यक्त गरिएको छ।
यी बाहेकको यदाकदा पुस्तकहरू होलान् तर लगभग यस विषयका दस्ताबेजहरू छैनन् भन्दा गलत नहोला। त्यस कारण आधुनिक यस्ता सांस्कृतिक धरोहरहरूको तथ्याङ्क सङ्कलन, फोटो तथा भिडियो सङ्कलन गरी दस्ताबेज बनाई अगामी समयको अनुसन्धानात्मक पाटोतिर लम्किनु जरुरी भइसकेको छ।
नाचगानको राजधानी भक्तपुरमा रहेका यस्ता अति आकर्षक, मोहक र प्रत्येक व्यक्तिको मथिङ्गलै हल्लाउन सक्ने खुबी रहेको, मनलाई नै अति चञ्चल बनाउने तागत बोकेको नाचगान र बाजागाजाप्रति जति न्यायोचित सम्मान हुनुपर्ने हो, त्यति नभएको पो हो कि? जुन रूपमा हेरिनु पर्थ्यो, त्यसमा नजर अन्दाज पो भएको हो कि? या एक चोटिको सांस्कृतिक प्रदर्शन जोहो गर्न कति गाह्रो हुँदो छ भन्ने कुराको महसुस तत् तत् रूपमा बोध गर्न नसकिएको पो हो कि?
यी लोकनृत्य, लोकबाजा, लोक संस्कृति र लोक साहित्यको महत्त्व आजको व्यस्त, व्यक्तिगत र स्वार्थमुखी समाजमा के होला? एक फेर केलाउन परेको छ। कुनै समय थियो सायद भक्तपुरको त्यस्तो फल्चा हुन्थेन सायद, जहाँ साँझ वा बिहान दाफा भजन र ढल्चा भजनले गुञ्जायमान नभएको होस्। समयको क्रमसँगै आज एकाध फल्चाहरू बाँकी छन्, जहाँ यस्ता आनन्द लाग्ने भजन सुन्न पाइन्छन्।
पुरानो थ्यासफूमा लेखिएका रागहरू र ऐतिहासिक श्लोकहरू गुन्जिछन्। सापारुमै देखाइने पुरानो मौलिक प्याखंहरू विभिन्न कारणले ओझेलमा परेका छन्। कति त लोप पनि भइसेकेका होलान्। कति चाहिँ जाँगरिला युवाहरू नभएर बाजागाजा,पोसाक र सरसामान भए तापनि सेलाएर बसेका छन्।
उसो भए अब यस्ता चीजहरूको अपनत्व बोध कसरी सम्भव छ?
के सापारुको एक हप्ता प्रदर्शन भएपछि यसको उपादेयता वर्ष दिनको लागि सकिन्छ त?
छलफल र शोधको विषय हुनुपर्छ।
आजको वर्तमान समयमा मौलिक लोकनृत्य र लोकसंगीत कसरी जनजीवनमा समाहित गर्न सकिन्छ?
त्यसको बहस हुन जरुरी छ। पुराना बाजागाजा, भजन, नृत्य र संगीत फेरि पनि जीवित गर्नेबारे सोचनीय हुन परेको छ। यस्ता लोक संस्कृतिको विज्ञ हाम्रै कखरा नजानेको आदरणीय बाजेहरू तथा गुरुहरू हुन्। उहाँहरूको उचित ज्ञानलाई लिपिबद्ध गर्नु जरुरी छ।
जहाँसम्म जनजीविकाको सवाल छ, यी नै लोक गीत, लोक संस्कृति र लोक नृत्य हाम्रो जीविका र पर्यटनको लोभलाग्दो अवसरको रूपमा खोजिनु पर्दछ। यसको जगेर्ना र पुस्तान्तरणको निम्ति अध्ययन अनुसन्धान हुनुपर्छ। तब मात्र यसका महत्त्व र अपनत्व बोध भइरहन सक्छ र कालान्तरसम्म जीवित बाँचिरहन सक्छ।
अमूर्त सम्पदाहरू एक चोटि नासिइसकेपछि फेरि फेरि जोगाउन असम्भव छ। त्यस कारण यस्ता अमूर्त धरोहरहरू हाम्रो मौलिक ज्ञान र मौलिक सम्पदा हुन्। यसको पुनर्निर्माण र पुनर्जागरण अति आवश्यक भइसकेको छ।
फोटोहरू

-1754984498.jpg)
-1754984497.jpg)
-1754984497.jpg)