सुदूरपश्चिमको विकट पहाडी जिल्ला, बैतडी। मेरो घर त्यहीँ हो। बाल्यकालका हरेक पदचापहरू त्यहीँका धुले बाटा र हरिया पाखाहरूमा कोरिएका छन्। तर समयको वेगले मलाई सपनाको भारी बोकाएर देशको राजधानी काठमाडौँ हुत्ताइदियो।
यहाँको भिडभाड, कोलाहल र व्यस्ततामा घुलमिल हुन खोज्दाखोज्दै पनि मेरो मनको एउटा कुनामा सधैँ बैतडीको सुमधुर सम्झना र शान्ति बसिरहन्थ्यो। काठमाडौँ मेरा लागि एउटा छुट्टै संसार थियो- अवसरहरूको, संघर्षहरूको र कहिलेकाहीँ नितान्त एक्लोपनको। म यहीँ रमाउँदै थिएँ, आफ्नै धुनमा, आफ्नै संसारमा।
कुरा हो यही साउन २६ गते सोमबारको। साउनको महिना, त्यसमाथि सोमबार, पशुपतिनाथको महिमा नै बेग्लै। म पनि केही साथीहरूसँग मिलेर पशुपतिमा हुने सन्ध्याकालीन आरती हेर्न जाने योजना बनाएँ। दिनभरिको कामको थकान मेटाउन र मनमा केही आध्यात्मिक शान्ति भर्नका लागि योभन्दा उत्तम विकल्प अरू के हुन सक्थ्यो र!
करिब ३ बजेतिर म पशुपति क्षेत्रमा पुगेँ। साथीहरू आइपुग्न अझै समय थियो। म एक्लै मन्दिर परिसरतिर टहल्न थालेँ। मानिसहरूको घुइँचो, धूप र फूलको मिश्रित सुगन्ध, घण्टीहरूको टङटङ आवाज र बागमतीको किनारमा आर्यघाटमा देखिने जीवनको अन्तिम सत्यको दृश्य। यो सबैको सम्मिश्रणले मनमा एकैसाथ वैराग्य र आस्थाको अनौठो अनुभूति गराइरहेको थियो। म आर्यघाटभन्दा मास्तिरको सिँढीमा बसेर बागमतीको बहाव र मानिसहरूको आवतजावत हेरिरहेको थिएँ।
त्यही बेला एउटा परिचित तर केही धमिलो स्वरले मलाई बोलायो, ‘ए... राम?’
मैले झसंग भएर आवाज आएतिर हेरेँ। केही बेर त चिन्नै सकिनँ। मास्क र बदलिएको हुलियाले मान्छे चिन्न गाह्रो हुने यो समयमा, ती आँखा भने कता कता देखेजस्तो लागिरह्यो।
‘चिनेनौ? म सिर्जना,’ उनले मुस्कुराउँदै मास्क हल्का तल सारिन्।
‘ओहो सिर्जना! तिमी?’ म आश्चर्य र खुसीले एकैचोटि उफ्रिएँ।
सिर्जना, मेरी पूर्व सहकर्मी। हामीले करिब एक वर्ष एउटै अफिसमा सँगै काम गरेका थियौँ। उनी निकै हँसिली, मिजासिली र सहयोगी थिइन्। अफिस छोडेपछि भने हाम्रो भेटघाट पातलिएको थियो।
‘तिमी त आजभोलि बेपत्ता छौ त! न फोन, न म्यासेज,’ उनले गुनासोको शैलीमा तर मुस्कुराउँदै भनिन्।
मैले पनि खुसी हुँदै भनेँ, ‘त्यस्तो होइन। आजभोलि म छुट्टै संसारमा रमाउँदै छु। आफ्नै काम, आफ्नै धुन। तिमी सुनाऊ, के छ खबर?’
त्यसपछि हामी त्यहीँ बसेर गफिन थाल्यौँ। पुराना दिनहरू, अफिसका रमाइला पलहरू, अहिलेको काम, भविष्यका योजनाहरू, परिवार, साथीभाइ; हाम्रा कुराका विषयहरू अनन्त थिए। करिब चार बजेतिर मेरा साथीहरू पनि आइपुगे। मैले उनीहरूसँग सिर्जनाको परिचय गराएँ। केही बेरमा सन्ध्याकालीन आरती सुरु भयो। हजारौँको भीडमा, बत्तीको उज्यालो र भजनको धुनले पशुपति क्षेत्र गुञ्जायमान भयो। हामी सबै जना त्यही आध्यात्मिक माहौलमा डुब्यौँ। त्यो क्षण साँच्चै अविस्मरणीय थियो।
आरती सकिएपछि पनि हाम्रो गफको सिलसिला रोकिएन। समय बितेको पत्तै भएन। घडी हेर्दा रातिको ८ बज्न लागिसकेको थियो। अब घर फर्कनुपर्छ भन्ने निधो गर्यौँ।
‘ल राम, कति लामो समयपछि भेट भयो। एउटा सेल्फी हानौँ न ल,’ सिर्जनाले आफ्नो खल्तीबाट आइफोन निकाल्दै भनिन्।
‘हुन्छ, हानौँ न,’ मैले पनि सहमति जनाएँ।
उनले विभिन्न कोणबाट चार/पाँच वटा सेल्फी लिइन्। केहीमा हामी दुई जना मात्रै थियौँ, केहीमा मेरा साथीहरू पनि। त्यसपछि हामी आ-आफ्नो बाटो लाग्यौँ। मनमा एक प्रकारको अनौठो खुसी थियो, पुरानो साथीसँगको त्यो अप्रत्याशित भेटले दिनलाई साँच्चै विशेष बनाएको थियो।
घर पुगेर खाना खाएपछि म ओछ्यानमा पल्टिएँ। दिनभरिको थकानले आँखा मिचिएका थिए, तर मन भने फुरफुर भइरहेको थियो। मैले मोबाइल निकालेर दिनभरि खिचेका फोटोहरू हेर्न थालेँ। सिर्जनासँग खिचेका सेल्फीहरू हेर्दै गर्दा एउटा फोटोमा मेरो ध्यान गयो। त्यो फोटो अलिकति हल्लिएको थियो र त्यसमा मेरो अनुहारको छेउमा सिर्जनाको अनुहार प्रस्ट नभई उनको लामो, सुन्दर कपाल मात्रै देखिएको थियो। फोटो अलिक कलात्मक र रहस्यमयी लाग्यो।
मलाई के सोच आयो कुन्नि, त्यही फोटोलाई आफ्नो फेसबुक स्टोरीमा हाल्ने विचार गरेँ। मैले फोटोसँगै एउटा सानो क्याप्सन पनि लेखेँ: ‘आजको साँझ... एक अविस्मरणीय भेट! #पशुपति #मेमोरिज’
मैले यो पोस्ट गर्दा कुनै गलत नियत राखेको थिइनँ। न त कसैलाई भ्रममा पार्ने सोच थियो। यो केवल मेरो व्यक्तिगत खुसीको एक सानो अभिव्यक्ति मात्र थियो। पोस्ट गरेर म मस्त निदाएँ। मलाई के थाहा थियो र काठमाडौँमा मैले पोस्ट गरेको त्यो सानो स्टोरीले सात सय किलोमिटर पर, मेरो गाउँ बैतडीमा कत्रो ठुलो भुइँचालो ल्याउँदै छ भनेर!
भोलिपल्ट बिहान म अल्छी मान्दै उठेँ। मोबाइल हेर्दा त म्यासेन्जर र ह्वाट्सएपमा म्यासेजको बाढी नै आएको थियो। फेसबुक नोटिफिकेसन पनि सयौँ पुगिसकेका थिए। म छक्क परेँ।
सबैभन्दा पहिले मेरो गाउँको मिल्ने साथी रमेशको म्यासेज खोलेँ। लेखिएको थियो, ‘ओइ राम, को हो त्यो केटी? बधाई छ है यार! हामीलाई त पत्तै नदिई यस्तो प्रगति गरिस्। बिहेमा चाहिँ बोलाउन नबिर्सिएस् नि!’
म अवाक् भएँ। के को बधाई? कस्तो बिहे? मैले सोचेँ, रमेशले ठट्टा गरिरहेको होला।
तर जब मैले अरू म्यासेजहरू हेर्न थालेँ, मेरो होस उड्यो। काकाको छोराले लेखेको थियो, ‘दाइ, भाउजू त कति राम्री! काठमाडौँमै बिहे गरेर बस्ने विचार हो कि क्या हो? घरमा त अर्कै कुरा चल्दै थियो त!’
अर्को एक जना गाउँले दाइको म्यासेज थियो, ‘भाइ, केटी कुन जातको हो? घरपरिवार कस्तो छ? हामीले पनि त बुझ्नुपर्यो नि!’
यति मात्र होइन, मेरा फेसबुकका साथीहरू, टाढा-टाढाका आफन्तहरू, सबैले त्यही स्टोरीको स्क्रिनसट पठाउँदै सोधपुछ गरिरहेका थिए। त्यो एउटा कपाल मात्र देखिएको फोटोलाई सबैले आ-आफ्नै तरिकाले व्याख्या गरिरहेका थिए। कसैले त्यसलाई 'मेरी हुने वाली' भनेर अर्थ्याएका थिए, कसैले 'लुकिछिपी गरेको इन्गेजमेन्ट' को प्रमाण मानेका थिए।
मेरो टाउको रननन घुम्न थाल्यो। स्थिति मैले सोचेभन्दा धेरै गम्भीर भइसकेको थियो। मैले हतार-हतार त्यो स्टोरी डिलिट गरेँ। तर ढिलो भइसकेको थियो। स्क्रिनसटको जमानामा, इन्टरनेटबाट केही कुरा डिलिट गर्नु भनेको आगो लागिसकेपछि पानी खन्याउनु जस्तै रहेछ, खरानी मात्रै बाँकी रहने।
त्यही बेला मेरो मोबाइलको घण्टी बज्यो। स्क्रिनमा ‘आमा’ लेखिएको थियो। मेरो मुटु ढक्क फुल्यो। अब के भन्ने होला! मैले लामो सास फेर्दै फोन उठाएँ।
‘हेलो, आमा।’
‘ए राम! सुन् त,’ आमाको स्वर अलि गम्भीर थियो, ‘गाउँभरि के हल्ला चलेको हो यो? तेरो बिहेको कुरा छ रे! हिजो राति पशुपतिमा केटीसँग घुम्दै गरेको रे! फोटो पनि पठाएका छन् गाउँका केटाहरूले। को हो त्यो केटी? हामीलाई एक बचन सोध्नु पर्दैन?’
मैले सम्झाउने प्रयास गरेँ, ‘आमा, त्यो हल्ला मात्रै हो। त्यस्तो केही होइन। उनी त मेरो पुरानो अफिसको साथी मात्रै हुन्। संयोगले भेट भएको थियो।’
‘साथी हो भने त्यसरी कपाल मात्रै देखाएर किन फोटो हाल्नुपर्यो? गाउँमा त केटीको मुख देखाउन लाज लाग्यो होला, पक्कै अर्कै जातको होली' भन्न थालिसके,’ आमाले एकै सासमा भन्नुभयो।
‘तेरो बा' पनि रिसाउनुभएको छ। घरमा सल्लाह नगरी यस्तो ठुलो निर्णय लिइस् भनेर। फलानोको छोराले त केटी भगायो रे भनेर कुरा काट्न थालिसके।’
मलाई हाँस उठ्नु र रिस उठ्नु एकैसाथ भयो। एउटा सामान्य फोटोले यत्रो ठुलो कथा कसरी बनायो होला? मैले पछि बुझ्दै गएँ।
गाउँको हाम्रो एक जना भाइले मेरो स्टोरी देखेछ। उसले तुरुन्तै स्क्रिनसट लिएर गाउँको ह्वाट्सएप ग्रुपमा 'राम दाइको प्रगति' भन्दै हालिदिएछ। त्यहाँबाट कुरा फैलिन सुरु भयो। पशुपतिमा भेटिएको हुनाले 'भगवानकै साक्षी राखेर सम्बन्ध गाँसेको' भन्ने अर्थ लाग्यो। मैले क्याप्सनमा 'अविस्मरणीय भेट' लेखेको थिएँ, त्यसलाई 'जीवनभरको लागि अविस्मरणीय सम्बन्ध' भनेर बुझियो। फोटोमा केटीको अनुहार नदेखिनुलाई 'गोप्य राख्न खोजेको' वा 'अन्तरजातीय भएकोले घरपरिवारले नमान्लान् कि भनेर डराएको' प्रमाण मानियो। सिर्जनाले आइफोनबाट सेल्फी खिचेकी थिइन्, त्यसैले 'केटी आधुनिक र सहरिया छे' भन्ने निष्कर्ष पनि निकालियो।
हेर्दाहेर्दै, 'रामले काठमाडौँमा केटी भेट्टायो' भन्ने खबर, 'रामले केटी पट्यायो' हुँदै, 'रामले केटीसँग बिहे गर्ने पक्का गर्यो' र अन्त्यमा 'रामले घरमा पत्तै नदिई काठमाडौँमा बिहे नै गर्यो' सम्मको संस्करणमा परिणत भइसकेको रहेछ।
मैले आमालाई लगभग एक घण्टा लगाएर सबै कुरा विस्तारमा सम्झाएँ। सिर्जना को हुन्, कसरी भेट भयो, फोटो किन त्यस्तो आयो, सबै बेलिबिस्तार लगाएँ। बल्लतल्ल आमा केही शान्त हुनुभयो। तर गाउँको हल्ला साम्य पार्न उहाँलाई पनि हम्मे हम्मे पर्ने वाला थियो।
त्यस दिन मैले कम्तीमा बिस-पच्चीस जनालाई फोन गरेर स्पष्टीकरण दिनुपर्यो। साथीभाइलाई सम्झाउन त सजिलै भयो तर गाउँका ठुलाबडाहरूलाई विश्वास दिलाउन महाभारत नै पर्यो। कतिले पत्याए, कतिले 'कुरा लुकाउन खोज्दै छ' भनेर सोचे होलान्।
यो घटनाले मलाई धेरै कुरा सिकायो। पहिलो, सामाजिक सञ्जालमा केही कुरा सेयर गर्नुअघि हजार पटक सोच्नुपर्छ। हाम्रो लागि सामान्य लागेको कुराले अरूको नजरमा कस्तो अर्थ राख्छ भन्ने कुराको ख्याल गर्नुपर्दो रहेछ। दोस्रो, सहरको गुमनाम जिन्दगी र गाउँको पारिवारिक एवं सामाजिक सञ्जालबिच कति ठुलो खाडल छ भन्ने कुरा मैले प्रत्यक्ष अनुभव गरेँ। काठमाडौँमा मेरो छिमेकीलाई मेरो बारेमा केही थाहा हुँदैन तर बैतडीको मेरो गाउँमा मेरो हरेक सानो गतिविधिमाथि पूरै समुदायको नजर हुन्छ। यो माया हो, चासो हो तर कहिलेकाहीँ यो निकै बोझिलो पनि बन्दो रहेछ।
अहिले त्यो घटना घटेको केही महिना भइसक्यो। गाउँमा हल्ला बिस्तारै साम्य भएको छ। तर अझै पनि कसैले फोन गर्दा ठट्टा गर्दै सोध्छन्, ‘अनि भाइ, काठमाडौँकी बुहारी कहिले भित्र्याउने त?’
म हाँसेर टारिदिन्छु। त्यो दिनको एउटा सानो गल्ती मेरो जीवनको लागि एउटा अविस्मरणीय र हास्यास्पद कथा बनेको छ। यो कथाले मलाई सधैँ सम्झाइरहन्छ- बैतडीको छोरो काठमाडौँमा जति नै रमाए पनि, उसको जरा गाउँमै जोडिएको हुन्छ, जहाँ एउटा सानो झिल्कोले पनि डढेलो लगाउन सक्छ।