जापान आएपछि मलाई धेरै सोध्ने गर्नुहुन्छ- जापान कस्तो छ? महिनाको कमाइ कति हुन्छ?
यी प्रश्नको सही जवाफ दिने आधार मैले यो डेढ वर्षको अवधिमा अझै भेटाउन सकेको छैन। त्यसैले मैले भन्ने गर्छु हामी नेपाली नेपालमा बस्न नखोजेर मात्रै हो जापान ठिक भएको, अन्य देशमा के छ थाहा भएन तर जापान बसाइ भने गाह्रै छ!
यति भन्दै गर्दा मलाई कतिपयले भन्ने गर्नुहुन्छ- फलानोले त राम्रै छ भन्दै थियो, तिमीले खुबै झुट बोल्छौ है?
त्यति बेला म जवाफ विहीन जस्तै हुन्छु, मन नै भारी भएर आउँछ अनि ए हो र भनेर जवाफ फर्काइदिन्छु।
फेरि भन्छु, ‘सङ्घर्ष गर्न सक्नेहरूका लागि ठिकै छ। जापान अनुशासित, प्रविधि क्षेत्रमा अगाडि अत्यन्तै राम्रो वातावरण छ। तर यहाँ आएपछि आत्मबल भने बढाउनु पर्छ, गुमाउनु हुँदैन। आउँदा राखेका हजारौँ सपनाहरूलाई बिर्सनुपर्छ र नयाँ योजना साथ यहाँको वातावरणसँग घुलमिल हुँदै नयाँ जीवनको सुरुवात गर्न सक्नेका लागि राम्रै हुन्छ। तर सुनौलो सपनामा यहाँ आएपछि कहिलेकाहीँ कालो आँधी चल्छ। एक्लै सङ्घर्ष गर्नुपर्छ भाषाको अवरोध हुन्छ, आर्थिक चुनौती अनि भविष्यको चिन्ताले साहस बढाउनतिर होइन, निराशाको भारी थोपर्ने तिर लाग्छ। त्यति बेला हामीले सोच्नै पर्छ कि जीवन एक परीक्षा हो, हामी परीक्षार्थी हौँ।’
फेरि कतिपयले भन्नु हुन्छ, ‘अहिले पो विद्यार्थी भिजामा छौ, पछि वर्किङ गरेपछि राम्रो भइहाल्छ नि?’
यस प्रश्नमा पनि मेरो खासै राम्रो जवाफ छैन। यस विषयमा मलाई एउटा उदाहरण दिएरै प्रस्ट पार्न मन लाग्यो त्यसैले मैले यहाँ जापानको वर्किङ भिजामा रहेर कुनै एउटा कम्पनीमा काम गर्ने व्यक्तिको वास्तविक आम्दानी र खर्चको बारेमा जानकारी गराएर जवाफ फर्काउने प्रयास गरेँ।
जुन व्यक्तिले एक दिनमा ८ घण्टा काम गर्छ, एक हप्तामा ४० घण्टा काम गर्ने पाउने यहाँ नियम छ। हप्तामा दुई दिन चाहिँ बिदा हुन्छ। उसले हप्तामा ५ दिन मात्रै काम गर्ने गर्छ। यहाँ घण्टाको हिसाबले पैसा आउँछ, तपाईंलाई लाग्न सक्छ घण्टाको कति पैसा आउँछ? यो कम्पनीअनुसार फरक पर्ने जान्छ, प्रतिघण्टा १ हजारभन्दा माथि हुन्छ।
अहिलेलाई मानौँ उक्त व्यक्तिको पैसा महिना दुई लाख आउँछ। यो दुई लाख आम्दानीको हिसाब गरौँ, कहाँ कति खर्च हुन्छ अनि कति बचत हुन्छ? यो दुई लाख आम्दानीबाट उसैले महिनाको २५ देखि ३० हजार जति पैसा आम्दानी कर, स्वास्थ्य बिमा र बसोबास खर्चमा तिर्नुपर्ने हुन्छ। ५० देखि ६० हजारसम्म यहाँको कोठा भाडा लाग्छ, खाना खर्चमा महिनाको ३० देखि ४० हजारसम्म खर्च हुन्छ। मोबाइल फोन चलाएको ४ देखि ५ हजार। पानी, बत्तीको बिल १० देखि १५ हजारसम्म महिनामा बुझाउनु पर्छ, दैनिक उपभोग्य सामग्रीमा ५ देखि ८ सम्म खर्च हुन्छ अनि मान्छेलाई यति मात्रैले त पुग्दैन, उसलाई कहिलेकाहीँ बाहिर होटेल रेस्टुरेन्टहरूमा खाना खान मन लाग्छ। त्यति बेला १० देखि १२ हजारसम्म खर्च हुन्छ। कहिलेकाहीँ कहीँ कतै घुम्न जान साथीभाइहरू, आफ्ना मान्छेहरूसँग भेटघाट गर्न मन लाग्छ। त्यति बेला कति टाढा नजिकको दूरीमा जाने हो त्यसमा भर पर्छ। त्यति बेला कम्तीमा पनि १० देखि १५ हजारसम्म खर्च हुन सक्छ।
अब आफै हिसाब गर्नुहोस्, उक्त व्यक्तिको बचत कति हुन्छ र कति पैसा नेपाल पठाउन सक्छ? यही हो जापानको अहिलेको वास्तविकता। आउँदा १५ देखि १८ लाख खर्च गरेर आएको हुन्छ। १५ लाख तिर्न करिब ३६ महिनाभन्दा बढी समय लाग्छ। कोही कसैले छिटै तिर्न पनि सक्छन्; थोरै ऋण लिएर आएका, नेपालमै राम्रो अध्ययन गरी भाषा राम्रो बनाएका, यहाँ आउने बित्तिकै २ वटा काम पाएर १ वर्षमै ऋण तिरेका उदाहरणहरू पनि छन् नभएका होइन। तर सबैलाई त्यस्तै हुँदैन परदेश। नेपालबाटै १ वर्षको स्कुल फी तिरेर आएको भएर यहाँ आएर थोरै ऋण तिर्न सुरुवात गरिएको हुन्छ, फेरि अर्को वर्षको लागि १० लाख स्कुल फी जम्मा गर्नुपर्ने हुन्छ। त्यो १० लाख तिर्न फेरि अर्को एक वर्षभन्दा धेरै लाग्छ।
यहाँको पढाइ पूरा भएपछि विद्यार्थी भिजालाई वर्किङ भिजामा परिवर्तन गर्नुपर्ने हुन्छ। त्यति बेला आफू बसेकै ठाउँमा कम्पनी भेटिँदैन। त्यति बेला नयाँ ठाउँमा जानुपर्ने हुन्छ, नयाँ कोठा नयाँ सामान जोड्नुपर्ने हुन्छ। सुरुमा कोठा लिँदा जापानमा पहिले नै इन्ट्री फी बुझाउनु पर्ने हुन्छ अनि फेरि ४-५ लाख खर्च हुन्छ। भिजालाई वर्किङ गरिसकेपछि बचत हुने आम्दानीको बारेमा मैले माथि उल्लेख गरिसकेँ। वर्किङ लागेपछि बचत हुने भनेको त्यही ५०-६० हजार!
अब त्यो ऋण तिरिसक्न पाएको हुँदैन, नेपाल जान मन लाग्छ। नेपाल गएर मात्रै कहाँ हुन्छ र, उमेर पुगिसकेको हुन्छ बिहे गर्न पर्यो। गाउँमा फेरि आफन्त परिवारलाई के हुन्छ जापान बसेर आएको, बाजागाजा बजाएर बिहे गर्नुपर्छ भन्ने हुन्छ। फेरि १२-१५ लाख खर्च! ऋणको भारी बोकेर फेरि जापान आयो, त्यो ऋण तिर्न फेरि त्यही एक डेढ वर्ष!
माइनस जिरो बराबर एक र एक बराबर जिरो हुने सिलसिला सक्किन नपाई आफ्नै देश जाऊँ भन्ने हुन्छ! आखिरमा सबै बराबर जस्तै न भविष्य, न सृजनशीलता, न कुनै नयाँ अनुभव न कुनै डकुमेन्ट साथमा, भाडा घोट्यो यस्तै छ जिन्दगी परदेशमा!
त्यसैले नेपालबाट सोचेको जापान र यहाँ आइसके पछिको वास्तविक जापान निकै फरक छ। मुख्य कुरा त नेपालबाट परदेश आउने व्यक्तिका बुवा, आमा र कागजात मिलाउने कन्सल्टेन्सी सबै जिम्मेवारीपूर्वक लाग्नुपर्छ। कन्सल्टेन्सीले जापानको शिक्षा, सुरक्षा र सम्भावनाबारे साँचो जानकारी दिने र अभिभावक अनि आउने व्यक्तिले पनि राम्रोसँग बुझेर मात्रै परदेश आउने सपना बुन्नुपर्छ।
विदेशमा बस्ने हामीले पनि यहाँ गरिने संघर्ष र परिश्रमका कहानीहरूलाई वास्तविक रूपमा देखाउनुपर्छ। विदेश आउँदा साहु महाजनबाट लिएको ऋण अनि हरेक महिना बैंकलाई तिर्ने किस्ता आदिले दिने पीडा, परदेशमा आएपछि होटेल, रेस्टुरेन्ट, अस्पताल, सुपरमार्केटमा खटेर गर्नुपर्ने काम, कामको सिलसिलामा हुने मानसिक तनाव र पीडाहरू, विदेशमा बस्दा घरपरिवार, समाज, रीतिरिवाज, चाडपर्व आदि सामाजिक कुराहरूको कारणले हुने पीडा, कति समय खट्नुपर्छ भन्ने कुरा सामाजिक सञ्जालमा देखिने तपाईंहरूको मोजमस्तीको जीवनशैलीभन्दा पनि यहाँको वास्तविकलाई देखाउँदा यस्ता समस्याहरूमा केही कमी आउँछ कि।
शहाफ पाइन्ट लगाएर समुद्र छेउको रमणीय दृश्य, चिल्लो कारको अगाडि-पछाडि बसेर खिचेका फोटो, परदेशका चिल्ला सडक बाटा र गगनचुम्बी घरहरूलाई देखेर अरूको लहलहैमा लागेर परदेश आउने सोच नराख्नु होस् र हामी कसैले पनि भ्रमको खेती गरेर कलिला बालबालिकाहरू माथि झूटो सपना नरोपिदेऊ।
एउटा भनाइ छ नि- काँचो माटोलाई जस्तो रूप दिइयो त्यस्तै बन्छ। अहिले त्यस्तै देखिन्छ। देशमा पढेर के हुन्छ? विदेशमा गएपछि त टन्न कमाउन र रमाउन सकिन्छ भन्ने भावना धेरै भाइबहिनीहरूमा देखिन्छ।