‘फलानो मान्छे त रिसाएर आगो भयो’ भनेर कसैले कसैलाई भन्ने गरेको धेरैले सुनिसकेको हुनुपर्छ। कुनै पनि जलावन वस्तुलाई जलाउने र भस्म गराउने काम आगोले नै गर्दछ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो।
मान्छे रिसाएर आगो हुँदा कसैलाई कुनै किसिमको क्षति हुन जान्छ भने कतिपय अवस्थामा सो आगो वा क्रोधले आफैलाई नै क्षति पुग्दछ, मानव जीवनमा क्रोधलाई हानिकारक नै भनिन्छ। गाउँघरको उहिलेको चलन अहिलेका केटाकेटीलाई जानकारी नहुनु दुःखको कुरा ठान्नुपर्दछ।
हामी सानो छँदा काठको सानो मुढाको प्वालमा लट्ठी छिराएर दुई हत्केलाले च्यापेर दुईतर्फी रगड्दा धुवाँ निस्किएको थियो। अनि यसरी रगड्दा आगो उत्पन्न हुँदो रहेछ भन्ने थाहा भयो। आदिमानव कालमा मान्छेले दुई वस्तु एकआपसमा ठोक्काएर वा घर्षण विधिबाट आगो उत्पन्न गर्दथे र व्यवहारमा आगोको उपयोग गर्दथे भनिन्छ। रा
प्ती भेगतिर आगोलाई ‘आओ’ भन्ने चलन थियो, सायद अहिले पनि कताकतै त्यो चलन हुनसक्छ। म आफूले देखेका र भोगेका आगोका केही प्रसङ्गहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।
आगो बल्दै गरेको नल नाघ्ने काम
बर्खा सकिने सकिने बखतमा बारीबाट मकै भित्र्याइसकेपछि मकैको बोटको करिब एक-डेढ फिटको ठुटो छोडेर अनि काटेर नल (ढोड) रुखको कापमा मिलाएर राखिन्थ्यो र पानी पर्न छाडेपछि अर्थात् प्रायः असोज लागेपछि बारी जोतिन्थ्यो। जोतिसकेपश्चात् बारीमा रहेका मकैका बोटका ठुटाहरू सुकेपछि बारीमै ठाउँ ठाउँमा एकत्रित गरेर थुपारिन्थ्यो। नलको ठुटाको थुप्रोमा आगो लगाएर आगो नाघ्ने चलन पनि थियो किशोर-किशोरीहरूका लागि।
केराका सुकेका पात भेट्नैदेखि नै छिनेर त्यसको डल्लो बनाएर आगो सल्काएर हातले घुमाउने काम पनि गरिन्थ्यो। शास्त्रअनुसार आगो नाघ्न नहुने कुरा पछि मात्र थाहा भयो। किनकि हिन्दु धर्ममा आगोलाई ‘अग्नि भगवान्’ मान्नुपर्छ भन्ने मान्यता छ। तर केटाकेटीमा त्यसो गरिनु सामान्य नै ठानिन्थ्यो।
भोलिपल्ट बिहानका लागि बेलुकै आगो जोगाउने तरिका
पहिले पहिले बेलुका खाना खाइसकेपछि र तत्पश्चात् जुठा भाँडा सफा गरिसकेपछि भान्सामा गोबरले चोख्याउने गरिन्थ्यो। गोबरलाई डोलो आकार दिएर हत्केलाको सहायताले जुठो भुइँ सफा गर्ने कार्यलाई ‘लोटाउने’ भनिन्छ हाम्रो भेगतिर। यो चलन पछिल्लो समय गाई पाल्न छाडेपछि हराउँदै गएको पाइन्छ।
बेलुकी सुत्नुअघि आमाले आगोसहितको कोइलाको फिलिङ्गो खरानीले पुर्नुहुन्थ्यो। बिहान अगेनामा खरानी खोतलेर हेर्दा आगो जस्ता तस्तै देखिन्थ्यो र बिहान गाईभैँसीलाई कुँडो पकाउनका लागि समेत त्यही कोइलाको आगो सुकेको पतिङ्गरको सहायताले सल्काएर आगो बालिन्थ्यो।
आगोसहितको गुइँठा पड्काउने काम
मेरो जन्मथलो रोल्पाको खुंग्रीस्थित प्रमुख गौचरन ओगिल्जामा जाडो मौसममा सुकेका गुइँठा बालेर ताप्ने र च्याप्टो ढुंगामाथि थुक राखेर त्यस थुकमाथि आगो सहितको गुइँठा राखेर सैजन (कतै सजिवन भनी उल्लेख भएको) का हरिया डाँठले त्यस गुइँठालाई जोडले हिर्काउँदा विस्फोटको ठुलो आवाज आउँथ्यो। सायद यो चलन अहिले हराए जस्तो छ। किनकि गाईबस्तु पाल्न छोडिसकेका छन् गाउँघरतिर। केही महिनाअघि घुस्यान (पतिङ्गर) मा आगो सल्किएर गौचरन ओगिल्जामा आगो लागेर गाउँसम्म आगो आइपुग्दै गर्दा पिच बाटोले जोगायो। मैले लेखेको पुस्तक ‘ओगिल्जा’ मोबाइलमै कोरिएको पुस्तक भनेर चिनिन्छ।
अरिङ्गालको गोलो जलाउने
कसै कसैले अरिङ्गालको गोलोमा आगो लगाउने र अरिङ्गालका लार्भा-प्युपा खाने चलन अहिले पनि यथावत् छ। अरिङ्गालको बच्चालाई छोरा भन्ने चलन छ हाम्रो गाउँतिर। कसैले त्यो पोलेकै खान्थे त कसैले घिउमा भुटेर पनि खाने चलन थियो। त्यस्तै बारुलोको गोलो पनि पोल्ने गरिन्थ्यो पहिले पहिले। साथै पखेटा उमारेको धमिरा अर्थात् छिचिमिरा समेत खाने चलन थियो गाउँघरमा। भुईँको प्वालबाट पखेटा सहितका धमिरा (छिचिमिरा) र धमिरा सँगसँगै निस्कन्थे भुईँमाथि। छिचिमिरा तत्कालै उड्छन् र आकाशमा रहेका चराचुरुङ्गीहरूले आकाशमै चुच्चोले समातेर खाने गर्छन् छिचिमिरा। बेलुकी अँध्यारो हुनुअघि अर्थात् सन्ध्या कालमा निस्कने गर्छन् धमिराका साथमा छिचिमिराहरू।
डर लाग्ने ज्यालदाना
अँध्यारो भएपछि वारि बस्तीबाट खोलापारि वनमा गोरेटो बाटोतिर यदाकदा आगोको जस्तो ज्वाला देखिने, एउटा ज्वालाबाट दुइटा र दुइटाबाट बाँडिएर चार वटा देखिने दृश्यहरू यो मानसपटलमा ताजै छ। कसैले भूतको एक प्रकार हो ज्यालदाना भन्थे। त्यस्तै कसैले हड्डीमा फस्फोरस तत्त्व हुने र अँध्यारोमा त्यो चम्किन्छ भन्ने पनि सुनिन्थ्यो। यो त एउटा अध्ययन र अनुसन्धानको विषय भयो। त्यो ज्यालदाना देखेर हामीलाई डर लाग्थ्यो र खेत अनि मेलापातबाट घरतिर जान हतार हतार हिँड्थ्यौँ।
मुखबाट मट्टितेल फुरुरुरु पारेर आगो सल्काउँदा
मैले मुखभित्र मट्टितेल राखेर मुखबाट हावासँगै मट्टितेलका कणहरू (सूक्ष्म थोपा) बाहिर निकाल्थेँ र सलाई कोर्दा बित्तिकै आगोको ज्वाला आफ्नो अनुहार अगाडि डरलाग्दो किसिमले गोलाकार भएर ठुलो देखिन्थ्यो अनि केटाकेटीहरू रमाउने गर्दथे।
पटाका सल्काउँदा कचौरा नै रुखमा अड्कियो
हामी सानो छँदा घरको आँगनको छेउमा बाटोतिर एउटा फोर्सोको रुख थियो। त्यस रुखको मुनि छेउमा एक पटक पिताजीले इस्कुसको बिउ रोप्नुभयो, मंसिर लागेपछि मात्र फल्यो त्यो इस्कुस। एक दिन कसैले पटाका लिएर हाम्रो घरअगाडि पड्काउन खोजे। पटाकालाई कचौराले छोपियो र पटाकाको फ्युजको टुप्पो भने बाहिरै देखिने गरी राखियो। फ्युजमा सलाई कोरेपछि एकछिनमा विस्फोट भएर कचौरा निकै माथि पुग्यो। कचौरा फोर्सोको रुखको हाँगामा अड्किदा हामी छक्क परेका थियौँ।
आगोले बाहुनटोलाका छ घर नष्ट
हाम्रो धारापानी गाउँमा सुवेदीहरूको बस्ती भएको टोललाई बाहुनटोला भनिन्थ्यो, विष्टटोला र भुसालटोला भने झैँ। त्यहाँ एक दिन खम्बे कोछापि भनेर चिनिनुहुने खम्बबहादुर गिरीको घरबाट सुरु भएको आगलागी त्यहाँबाट राइँलाबाजे केशवराज सुवेदीको घरमा सल्कियो। हावा चलेका कारण त्यसपछि ठुलाघर भनेर चिनिने कान्छाबाजे तिलकराम सुवेदीको घर स्वाहा भयो। लगत्तै वेदुवा जेठाबा चेतप्रसाद सुवेदीको घर पनि स्वाहा पार्यो आगोले र पाथीमा रहेका पुराना सिक्काहरू डल्लो परेको दृश्य पनि देखियो। घर गोठ गरेर छ वटा भौतिक संरचना ध्वस्त भए। त्यसको केही वर्षअघि दलबहादुर विष्ट माइलाबाको घर जलेको थियो; पँधेराबाट बाल्टिन, गाग्रीबाट पानी ओसारेका दृश्यहरू सम्झनामै छन्।
बास बस्नेहरूलाई आगो दिनुपर्ने
२०३०/३१ सालतिर बनेको हाम्रो नयाँ घरमा पछिसम्म पनि बटुवाहरू बास बस्ने गर्दथे, उनीहरूले भाँडाकुँडा बोकेकै हुन्थे। आगो मागेमा हामीहरू आगोसहितको कोइला नै दिन्थ्यौँ, जहाँतहीँ सलाई र लाइटर पाइँदैनथ्यो।
परालको आगो र मकैको फूल
मंसिरतिर दाङमा ढुँडी (हुस्सु) लाग्ने गर्छ। हामी सानोमा दाङमा गएको बखत परालमा बलिरहेको आगोमा मकैका गेडा हालेपछि फुल उठ्थ्यो र खाने गर्थ्यौँ।
गहुँको उभी वा वाह्रा
गहुँ काट्ने बखत गहुँको हरियो तर छिप्पिएको बालालाई पोलेर खाने चलन पनि थियो। पोलेको गहुँलाई उभी वा वाह्रा भनिन्थ्यो।
जथाभाबी खोटो संकलन र अग्निदहन
रोल्पातिर व्यावसायिक किसिमले खोटो संकलनका कामहरू भएको देखिन्छ। सल्लोको फेदमा घाउ पारेर सोली टाँसेर खोटो संकलन गरिन्छ र टिनमा भरेर टर्पेन्टाइन उद्योगहरूमा आपूर्ति गरिन्छ। फेदमा ७५ प्रतिशत भागसम्म भ्वाङ पारेर दियालो काढ्ने र त्यसैमा आगो लगाउने चलन पहिले देखिकै हो। जुन पर्यावरणीय हिसाबले राम्रो होइन। सल्लो कमजोर हुने र बोटै सुक्ने हुँदा यसरी आगो लगाउनु उपयुक्त ठानिँदैन। धेरै खोटो भएकोलाई दियालो र खोटो नभएकोलाई कत्तर भनिन्छ।
ठोस्ने (चकमक) र झुलो
उहिले कसै कसैले धूम्रपानका लागि पटुकामा ठोस्ने (चकमक) र झुलो बोक्ने गर्दथे, अहिले सलाई वा लाइटर बोके झैँ। हामी पनि कल्लेरीमा काटिएको केराको बोटको भित्री भाग अर्थात् गुभोलाई टुक्रा पारेर मादल झैँ बनाएर घाँटीमा झुन्ड्याएर मादल बजाए झैँ गर्थ्यौँ। त्यही गुभोबाट झुलो बनाएर सुकाएर राख्थ्यौँ। साढे तीन दशक अघिसम्म गाउँघरमा मट्टितेल प्रयोग गरेर बालिने लाइटर प्रचलनमा थियो।
रकेट भनिने नागबेली चम्किलो लहरो
हामी सानै छँदा एक दिन दिउँसो सकिने सकिने बेलामा आकाशमा गडगड आवाज आउने र लामो सर्प झैँ देखिने चम्किलो वस्तु देखा पर्यो। त्यसलाई गाउँका कतिपयले रकेट पनि भने। गाउँका मान्छेले आखिर रकेट कतै देखेका थिएनन्, अन्दाजको भरमा रकेट भनिएको थियो किनकि त्यो नागबेली चम्किलो वस्तु रकेटको आकारमा थिएन।
आकाशमा धुवाँको लहरो
एक पटक पूर्व डाँफेधारा-डाँडागाउँको धुरीले छोएझैँ देखिने आकाशदेखि पश्चिम खुंग्रीकोटमाथिको डाँडाले स्पर्श गरेझैँ देखिने आकाशसम्म धुवाँको लहरो देखिएको थियो। अहिले पनि त्यस्तो दृश्य काठमाडौँको आकाशमा पनि देखिने गर्छ आक्कलझुक्कल।
बन्चरेढुंगा
म सानो छँदा बुढोमावल नम्जा गएको बखत एक दिन असिना बताससहित ठुलो पानी परेको थियो। मान्छेमा निकै त्रास सृजना हुने खालको सो बर्सादलाई रोक्न परम्परागत शैली अपनाउने चलन पनि रहेछ त्यहाँ। ओदान, बन्चरो र अन्य साधन तथा हतियार उत्तानो पारेपछि भीषण वर्षा रोकिने मान्यता रहेछ। एउटा घरमा त्यसो गरेको देखेपछि म छक्क परेको थिएँ। चिर्को (चट्याङ) ले ढुंगाको बन्चरो झार्छ भन्ने पनि गरिन्थ्यो। हाम्रो घरमा पनि बन्चरे ढुंगा थियो बन्चरो आकारको।
सुल्फा वा चिलिममा भरिँदाको आगो
२०३०/३२ सालसम्म हाम्रा पिताजीले पनि चिलिममा सुर्ती भरेर आगो सल्काएर धूम्रपान गर्नुहुन्थ्यो। त्यस सालपछि उहाँले धूम्रपान गर्न छोड्नुभएको मलाई राम्ररी सम्झना छ। गाउँघरका मान्छे जम्मा हुने र धूम्रपान गर्ने चलन एक प्रकारले सामाजिक चलन नै बनेको थियो। पिताजीले धूम्रपान गर्न छाडेपछि हामीहरू पनि खुसी भएका थियौँ।