सर्वनाम नाटकघरको नियमित कार्यक्रममा 'हामी: कवि र कवितामा' आइतबार सुनिता खनाल र लीला अनमोलले कविता सुनाएका छन्। हरेक महिनाको पहिलो यो कार्यक्रमको ५० औं श्रृङखलामा धादिङकी कवि खनाल र झापाकी अनमोल प्रस्तुत भएका हुन्।
'आमा' शीर्षकको कविताबाट खनालले प्रस्तुति थालिन्। यसपछि उनले मानव सभ्यताको क्रुरतालाई प्रकृति र जीवजन्तुसँगै दाँज्दै 'दुइटा पृथ्वी' कविता सुनाइन्। 'ओ नायक', 'चिसो घाम', 'पातमा प्रेम', 'ऐनाको देश', 'रातो रुमाल', 'गर्भिणी थियो मेरो नाम', 'साँझ पर्नुअघि', 'आगोको ठेगाना', 'अँध्यारो घामको गीत' लगायत १२ वटा कविता सुनाएकी थिइन्।
अन्तिममा बुबाप्रति समर्पित गर्दै 'पैसा फल्ने रुख' शिर्षकको कविता सुनाएर दर्शकलाई निकै भावुक बनाइन्। दोस्रो चरणमा कवि अनमोलले केही प्रेम–प्रणयका कविता सुनाइन्।
नेपाली नारीहरुको अवस्था र राजनीतिले विभाजित पारेको मनोविज्ञानमाथि लेखिएको कविता प्रस्तुत गरिन्। २०६७ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत अनमोलले 'आमा', 'अन्तिम कुमारी रात', 'चंगा', 'कर्फ्य', 'दुर्घटना', 'सपनाको घर', 'दुर्घटित विश्वास', 'तिमी नभएको भए', 'लोकतन्त्र', 'कान्छा सहर नजाऊ' लगायतका कविता सुनाइन्।