अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन्।
मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं रहेका छन्। यस्तै, महासचिवमा चलचित्र निर्माण नियन्त्रक शंकर पाण्डे, सचिवमा राजिन पनेरु र कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा गायक खुमन अधिकारी, गायिका एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियंका प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी चयन भएका छन्। निर्वाचन मण्डलको प्रमुख निर्वाचन आयुक्तमा अधिवक्ता सेमन्तमणि खराल रहेका थिए।
यसैगरी, सञ्चारकर्मी विष्णु शर्मालाई इनासको ‘ग्लोबल सञ्चार प्रतिनिधि’ (जीसीआर) चयन गरिएको छ। उनले संस्थाको ग्लोबल कमिटी र राष्ट्रिय कमिटीबीच सञ्चार समन्वयको भूमिका निर्वाह गर्ने जनाइएको छ।
इनास नेपालका निवर्तमान अध्यक्ष एवं एसिया संयोजक गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्ले प्रमुख अतिथि थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले संस्थाको विश्वव्यापी सञ्जालमार्फत नेपाली कला, साहित्य, संस्कृति, भाषा र खेलकुदजस्ता विधाको विकास तथा प्रवर्धनमा पहल गर्ने बताए। उनले गैरआवासीय नेपाली संघ (एनआरएन) को दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने उद्देश्यले ‘नेपाली पाठशाला’ स्थापनाको कार्य अगाडि बढाइएको जानकारी समेत दिए।
सन् २०२५–२०२७ को कार्यकालका लागि निर्वाचित अध्यक्ष लामिछानेले विधानको मर्मअनुसार कार्य गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे।
एसिया संयोजक पाण्डेयले वर्तमान कार्यसमितिमा चलचित्र, गीतसंगीत, भाषा, साहित्य, पत्रकारितालगायत बहुविधाका विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्यकताअनुसार परिष्कृत गर्दै लैजाने बताए। कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए।
विश्वभर छरिएका नेपाली कलाकारहरूको हकहितका पक्षमा काम गर्ने र नेपाली संस्कृति, भाषा, साहित्य तथा कलालाई विश्वव्यापी बनाउने उद्देश्यले सन् २०१२ मा पोल्याण्डमा इनासको स्थापना भएको हो। हालसम्म विश्वका करिब ७३ देशमा यसको शाखा विस्तार भइसकेको छ।