‘आइएसएफ जिम्नासाइड समर गेम्स’ को बक्सिङमा स्वस्तिका तिरुवाले नेपाललाई स्वर्ण जिताइन्।
बहराइनको मानामास्थित ‘अल अहली क्लब’ मा मंगलबार भएको फाइनल खेलमा उनले ब्राजिलकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
‘महिला ५४ केजीमुनि’ फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरिन्। सेमिफाइनलमा पनि ब्राजिलकै बारोस फरेरा मार्सेलो डीलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।
उक्त प्रतियोगितामा स्वस्तिका बक्सिङतर्फ नेपालबाट एक्ली महिला खेलाडी थिइन्।
‘यो जितको खुसी परिवारजनमा साट्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेकी छु,’ उनले भनिन्, ‘यो ऐतिहासिक जितमा सबै जनाको सपोर्ट (समर्थन) र माया पाएँ। म आबद्ध रहेको जेनेस क्लब र कोच दीपक मर्हजनलाई धेरै धन्यवाद।’
उनका आमाबुबा, दाजु र दिदीले उनको खेल टेलिभिजनमा लाइभ हरेका थिए।
‘घरका मान्छेहरू नर्भस (निराश) थिए। मैले स्वर्ण (पदक) जितेपछि सबै खुसी भएका छन्,’ उनी भन्छिन्, ‘बक्सिङबाट मेरो परिवार, मेरो देश र मेरो क्लबका लागि फेरि पनि स्वर्ण जिताउन सकूँ। सबैको माया र साथले मलाई बक्सिङमा अझै धेरै अघि बढ्न भरोसा मिल्नेछ।’
स्वस्तिकाले कोरोनाकाल (कोरोना भाइरस संक्रमण फैलिएको समय) मा बक्सिङ खेल्न थालेकी थिइन्। उनका कान्छा दाजु पनि बक्सिङका खेलाडी थिए तर उनले निरन्तरता दिन सकेनन्।
कोरोनाकालको दोस्रो पटकको लकडाउन चलेको थियो। स्वस्तिका घरमा बस्दाबस्दा दिक्दार भएकी थिइन्। उनले आफ्ना दाजुसँग बक्सिङ सिक्ने विचार गरिन्।
दाजु पनि सिकाउन तयार भए। रमाइलो मान्दै दाजुसँग बक्सिङ सिक्न रंगशाला जान थालिन्। उनीहरू लकडाउनको समयमा दैनिक एक घण्टा हिँडेर रंगशाला जान्थे।
‘लकडाउनको बेला गाडी चल्दैनथे। रंगशाला पुग्न एक घण्टा हिँड्नुपर्थ्यो,’ स्वस्तिकाले भनिन्, ‘मैले असहज वातावरणमा बक्सिङ खेल्न सुरु गरेकी थिएँ। कठिन समयमा गरेको मिहिनेतले अहिले स्वर्ण पदक जितायो। धेरै खुसी लागेको छ।’
दाजुसँग बक्सिङको प्रारम्भिक सिप सिकेपछि उनले प्रशिक्षक तेजबहादुर थापामगरसँग सिक्न थालिन्।
‘सिक्दै गएपछि आत्मबल पनि बढ्दै गयो। प्रशिक्षण लिन थालेपछि हेयर कट पनि मिलाएँ। अभ्यासले मेरो आत्मविश्वास बढ्यो,’ उनले भनिन्, ‘बक्सिङमा दाजुको सपना पनि थियो तर निरन्तरता दिन सक्नुभएन। म उहाँको सपना बोकेर अघि बढें।’
उनले बक्सिङ खेलका केही अग्रज दिदीहरू चिनेकी थिइन्। उनीहरूको सफलताले पनि प्रेरणा मिलेको थियो। उनी बक्सिङ खेलप्रति निकै आशावादी छिन्।
भन्छिन्, ‘बक्सिङ खेल विगतभन्दा राम्रो भएको छ। हाम्रो देशमा पनि बक्सिङ खेल विकास भएको छ। यसले पनि साहस बढाएको छ।’
स्वस्तिकाले हालसम्म अन्तर्राष्ट्रियस्तरका तीनवटा प्रतियोगिता खेलेकी छन्। अन्तर्राष्ट्रियस्तरमा उनले जितेको यो पहिलो स्वर्ण हो।
बक्सिङ सिक्न थालेको पाँचौं महिनामा उनले सन् २०२१ मा दुबईमा भएको ‘एसियाली जुनियर बक्सिङ प्रतियोगिता’ मा कास्य पदक जितेकी थिइन्।
उनी जोर्डनमा भएको ‘एएसबिसी युथ एन्ड जुनियर बक्सिङ’ मा पनि सहभागी भएकी थिइन्।
दुई वर्षअघि भएको ‘खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ मा स्वर्ण जितेकी थिइन्। उनले हालसम्ममा राष्ट्रियस्तरका १० वटा प्रतियोगिता खेलेकी छन्। यी मध्ये आठ खेलमा कुनै न कुनै पदक जितेकी छन्।
स्वस्तिकाका आमाबुबा ४० वर्षअघि बाजुराबाट बसाइँ सरेर कञ्चनपुरको पुनर्वास आएका थिए। पाँच वर्षयता काठमाडौंमा बस्दै छन्।
बुबा नेपाल प्रहरीमा थिए, हाल अवकाश प्राप्त हुन्। आमा गृहिणी हुन्। स्वस्तिका तीन दाजु र एक दिदीकी कान्छी बहिनी हुन्। दाजुहरू काठमाडौंमा काम गर्ने भएकाले आमाबुबा पनि त्यतै बस्न थालेका हुन्। काठमाडौंमा तरकारीखेती गर्छन्।
स्वस्तिकाले कक्षा सातसम्म पुनर्वासकै जीवनज्योति विद्यालयमा पढिन्। त्यसपछिको पढाइ काठमाडौंमा भयो।
बक्सिङ निकै चुनौतीपूर्ण खेल हो भन्ने अनुभव स्वस्तिकाको छ।
भन्छिन्, ‘बक्सिङ खेल्न सजिलो छैन। छोरीमान्छेका लागि त सामाजिक वातावरण पनि सहज छैन। यसमा हरेक दिन कडा अभ्यास गर्नुपर्छ। डाइट (पोषण) पनि त्यसैअनुसार हुनुपर्छ।’
बक्सिङ छोरीमान्छेको खेल होइन भनेर उनलाई हतोत्साहित बनाउन प्रयास गर्नेहरू पनि थिए। आमाबुबा पनि पढाइमा लाग्नुपर्छ भन्थे तर एकपछि अर्को सफलताले उनलाई सजिलो भयो।
घरपरिवार र आफू आबद्ध क्लबबाट राम्रो सहयोग पाएको उनले बताइन्। खेलमा निरन्तरता दिन नपाएका दाजुबाट पनि निकै राम्रो सहयोग पाएकी छन्।
उनी दाजुलाई नै आफ्नो पहिलो ‘खेल आइडल’ मान्छिन्।