सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूवात गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित निकालेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो।
१४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्यो।
लुम्बिनीका लागि अफगान खेलाडी गुल्बादिन नइबले सर्वाधिक रन जोडे। उनले नटआउट ४४ रन जोड्ने क्रममा २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
नइबसँग कप्तान रोहितकुमार पौडेलेले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे। सुस्त ब्याटिङ गरेका रोहितले ३९ रन बनाउन ४४ बल खेलेर १ चौका प्रहार गर्न सके।
त्यसअघि लुम्बिनीका ओपनिङ ब्याटर डार्शी सर्टलाई चितवनका रिजन ढकालले ११ रनमा बोल्ड गरे। अर्का ओपनर सन्दीप जोराले २८ रन बनाए। उनले १८ बलमा ४ चौका प्रहार गरे। उनलाई पनि रिजनले कप्तान कुशल मल्लबाट क्याच गराए।
दिलीप नाथ दुई रन लिने क्रममा १० रनमा रनआउट भए। नाथले १५ बल खेल्दा १ चौका प्रहार गरे।
बलिङमा चितवनका रिजनले २ विकेट लिए। सोहेल तन्विरले १ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभरमा १४२ रन बनायो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। लगातार दुई अर्धशतक प्रहार गरेका इंग्लिस ब्याटिङ अलराउन्डर बोपाराले अन्तिम ओभरमा गुल्बादिन नइबको बलमा क्याच हुनुअघि ६६ रन बनाए। उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
उनले कर्णाली याक्सविरूद्धको खेलमा ५२ रन बनाएका थिए। अघिल्लो सिजन उनले तीन अर्धशतक प्रहार गरेका थिए। दुवै सिजनमा गरी पाँच अर्धशतक बनाइसकेका बोपरा सर्वाधिक रन बनाउने ब्याटरको शीर्षमा पुगिसकेका छन्। उनले गत सिजन २८६ रन बनाएका थिए। यो सिजन बोपराले २ खेलमा ११८ रन प्रहार गरिसकेका छन्।अघिल्लो सिजन जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक रन बनाएका थिए।
त्यसअघि चितवनका ओपनिङ ब्याटर डविन मलान शून्यमा आउट भएका थिए। उनी इनिङग्सको दोस्रो बलमै लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट बोल्ड भएका थिए।
अर्का ओपनर दीपक बोहराले १२ रनमा १० रन मात्र बनाउन सके। देव खनाल १९ बलमा १४ रन र कुशल मल्ल १८ बलमा २१ रन बनाएर पेभिलियन फर्के। सइफ जइबले ७ बलमा २ चौका र १ छक्काको मद्दतमा १५ रन बनाए। लयमा देखिएका लुम्बिनीका ट्रम्पलम्यानले कुशल र सइफलाई पनि क्याच गराएका थिए।
अर्जुन साउदले नटआउट ८ रन जोड्दा अन्तिम बलमा आउट भएका सोहेल तन्विरले ५ रन बनाउन सके।
बलिङमा लुम्बिनीका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले ४ ओभरमा २३ रन दिए। अभिषेस गौतम र गुल्बादिन नइबले २-२ विकेट हात पारे।
लिगमा शुक्रबार अपरान्ह चार बजे पोखरा एजेभन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले पहिलो खेलमा पराजय भोगेका थिए।