नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्पर्धा गर्न चाहेको प्रस्ट सन्देश दिएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको झन्डै ७ घन्टा लामो बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति र कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको सन्देश दिएको एक सचिवालय सदस्यले बताए।
'नेतृत्वको अभिव्यक्तिका कारण पार्टीमा संकट गहिरिँदै गएको छ। आन्दोलन पनि संकटकै अवस्थामा छ। अध्यक्षका लागि म योग्य छु। म प्रतिस्पर्धा गर्छु,' वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ उद्धृत गर्दै ती सदस्यले भने।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र स्थापित विधि, परम्परा र मूल्यको जगेर्ना गर्दै प्रतिस्पर्धा गर्ने र परिणाम जे आए पनि आफू स्वीकार्न तयार रहेको सन्देश पनि दिएका थिए।
'म प्रतिस्पर्धा गर्छु। हारजित जे भए पनि त्यो प्रतिस्पर्धाको सौन्दर्य हो। म त्यसलाई सहर्ष स्वीकार गर्छु,' पोखरेलले बैठकमा भने, 'प्रतिस्पर्धाका लागि म योग्य पनि छु।'
जबाफमा अध्यक्ष ओलीले पार्टी आन्दोलन संकटमा परेका बेला र नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला आफूले अध्यक्ष नछाड्ने बताएका थिए।
'प्रतिस्पर्धा गर्नुहुन्छ भने गर्नुहोस्। म नगर्नुहोस् भन्दिनँ। तर मैले अहिले नेतृत्व छाड्ने अवस्था छैन। तर प्रतिस्पर्धाले पार्टी, आन्दोलन र स्वयं व्यक्तिलाई पनि फाइदा पुग्दैन,' ओलीले भनेका थिए।
'मधेसमा एमाले एक्लियो'
बिहीबार बसेको सचिवालय बैठकमा मधेसमा एमाले एक्लिएको चिन्ता व्यक्त गरिएको थियो।
यसरी चिन्ता व्यक्त गर्नेमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ रहेको एक सचिवालय सदस्यले भने।
'मधेसमा हामीले ठूलो संकटबाट आन्दोलन जोगाएर ल्याएका थियौं। अनेकौं प्रतिकूलताबीच पनि त्यहाँ एमाले पहिलो शक्ति बनिसकेको थियो। आज एक व्यक्तिलाई मुख्यमन्त्री बनाउन जसरी हामीले विधि, पद्धति, परम्परा कुल्चियौं, त्यसले एमालेको धज्जी उडेको छ। आज मधेसमा एमाले एक्लिने परिस्थिति बनेको छ, यसको निर्मम समीक्षा होस्,' सात जना सचिवालय सदस्यले एक स्वरमा भनेका थिए।
सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउनकै लागि मर्यादा भुल्दा पार्टीलाई मात्रै नभई लोकतन्त्र, संघीयताप्रति पार्टीको प्रतिबद्धता नै कमजोर बन्न पुगेको उनीहरूले बताएका थिए।
गत कात्तिक २४ गते एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई त्यहाँकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको पानस होटलमा शपथ गराएकी थिइन्।
त्यसपछि मधेसको संकट गहिरिँदै गएको छ। एमालेविरूद्ध बाँकी दलहरू एकठाउँ उभिएका छन्। एमालेबाटै निर्वाचित भएका सभामुख रामचन्द्र मण्डललाई आचरणको प्रश्न उठाएर प्रदेशसभाले पदमुक्त गरिसकेको छ।
प्रदेश प्रमुख भण्डारीलाई सरकारले त्यही दिन बर्खास्त गरेको थियो। मुख्यमन्त्री यादवविरूद्ध पनि अदालतमा मुद्दा परेको छ। अदालतले कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। अहिले एमालेविरूद्ध अरू दलहरू आन्दोलित भएको अवस्था छ।
यसरी मधेसमा पार्टी पहिलो हुँदाहुँदै रक्षात्मक अवस्थामा पुगको भन्दै सदस्यहरूले प्रश्न उठाएका हुन्।
'किन चाहियो नेसनल भोलेन्टियर फोर्स?'
बिहीबारको बैठकमा सचिवालय सदस्यहरूले शुक्रबार गठन गर्न लागिएको नेसनल भोलेन्टियर्स फोर्सबारे प्रश्न उठाएका थिए।
एमालेको जनसंगठन समन्वय संयन्त्रले मार्च पाससहित उक्त नयाँ संगठन गठन गर्दैछ।
तर रघुवीरबाहेक ६ जना सचिवालय सदस्यहरूले यसको जमेर प्रतिवाद गरेको एक नेताले बताए। यसबारे उपाध्यक्ष विष्णु पौडेललेसमेत असहमति राखेको ती नेताले बताए।
'हामी कुन विधि, पद्धति र नीतिमा टेकेर यो संरचना बनाउँदैछौं। हाम्रो कार्यदिशासँग मेल नखाने संरचना किन चाहियो हामीलाई? यसको तात्पर्य के हो?' सचिवालयमा सदस्यहरूले प्रश्न उठाएका थिए।
यस्ता संरचनाले लोकतन्त्र, लोकतन्त्रप्रति पार्टीको प्रतिबद्धता र इमानदारीलाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि रोक्न उनीहरूले माग गरेका थिए।
'यस्तो संरचना र गतिविधिले लोकतन्त्र र पार्टीलाई फाइदा पुग्दैन,' सचिवालय सदस्यहरूले भनेका थिए, 'अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिन्छ।'
उपाध्यक्ष विष्णु पौडेलले पनि प्राकृतिक एवं मानवीय विपत्तिका बेला स्वयम्सेवी संगठन, संरचना बनाउने गरेको भए पनि अहिले आवश्यक नरहेको आसय व्यक्त गरेका थिए।
'जे माइन्युटमा लेख्न सकिन्छ, त्यही बोलौं'
बिहीबारको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले संस्थागत ढंगले गर्न सकिने निर्णय मात्र बाहिर बोल्न सुझाव दिएका थिए।
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भएको भन्ने अभिव्यक्ति आइरहेका बेला उनले यस्ता अभिव्यक्तिले पार्टीलाई फाइदा नगर्ने बताएका हुन्।
'जे अभिव्यक्ति बाहिर दिन सकिन्छ, जे निर्णय संस्थागत ढंगले गर्न सक्छौं वा माइन्युटमा लेख्न सक्छौं, बाहिर त्यही कुरा गरौं,' उनले भनेका थिए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा विचारमा छलफल हुँदैन भन्दै अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका थिए।
उनले महाधिवेशन बहसको थलो भएकाले त्यसो किन भनिएको भन्दै प्रश्न उठाएको एक सचिवालय सदस्यले बताए।
'तपाईंले मैले बोलेपछि महाधिवेशन सकिन्छ भनेर किन भन्नुभयो?' उनले प्रश्न गरेका थिए, 'महाधिवेशनको मर्यादा के हो? गरिमा के हो? यसको मानमर्दन गर्न पाइन्छ?'
उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक गतिविधि, राजनीतिक, विचार, दृष्टिकोणका हिसाबले अरूसँगको दूरी घटाउनुपर्ने धारणा राखेका थिए।
उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्षले आफूले उपाध्यक्ष, महासचिव बनाएको भनेर अभिव्यक्ति दिएको बताउँदै यसले पार्टीभित्र अन्तरविरोध मच्चाएको धारणा राखेका थिए।
उपाध्यक्ष रामबहादुर बादलले जेनजी आन्दोलन प्रतिक्रान्ति नै भएको बताउँदै यसविरूद्ध आन्दोलन गर्नुको विकल्प नरहेको बताएका थिए। आन्दोलनको स्वरूपबारे भने उनले केही नबताएको एक सदस्यले भने।
महासचिव शंकर पोखरेलले नेतृत्व, आन्दोलन संकटमा परेका बेला प्रतिरक्षा गर्नु नेता–कार्यकर्ताको धर्म रहेको बताएका थिए।
उपमहासचिव प्रदीप ज्ञवालीले पनि नेतृत्वको बचाउ नै गरेका थिए। उनले पार्टी अप्ठ्यारोमा परेका बेला नेता–नेताबीच विचार बाझिन नहुने धारणा राखे।
अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले राज्यका संरचनाहरू लोकतान्त्रीकरण गर्न नसक्दा निर्वाचित सरकारले पनि केही गर्न नसक्ने परिस्थिति आउनेतर्फ फेरि पनि सचेत हुनुपर्ने बताएका थिए।
सचिव गोकर्ण विष्टले एमालेले एक्लिने खालको गतिविधि गरिरहेको भन्दै असन्तुष्टि राखे। उनले पार्टीका पछिल्ला निर्णय र गतिविधिले एमालेलाई एक्लिन ठाउँमा पुर्याएको बताए।
लोकतन्त्र, प्रणाली, संविधान रक्षाका लागि कम्तीमा विचार मिल्ने शक्तिहरूबीच सहकार्य गरेर जानुपर्नेमा एक्लै अघि बढ्न खोज्दा परिणाम ननिस्कनेतर्फ उनले सचेत गराएका थिए।
'हाम्रा गतिविधिले हामीलाई आइसोलेट (एक्ल्याइरहेको) बनाएको छ भन्नेमा ध्यान दिन जरूरी हुन्छ,' उनले भने, 'वाम–लोकतान्त्रिक शक्तिहरू बीचको एकताले विगतमा हामीले ठुल्ठूला परिणाम हासिल गरेका थियौं। आन्दोलन जोगाएका पनि थियौं। लोकतान्त्रिक शक्तिहरूबीचको एकताले नै सुदृढ लोकतन्त्रको परिकल्पना सम्भव भएको थियो।'
सचिव योगेश भट्टराईले महाधिवेशन बेला कतिपय नेता–कार्यकर्तालाई कारबाही गरिएको भन्दै यसले महाधिवेशन स्वच्छ र स्वस्थ नहुने बताए। यसमा उपाध्यक्ष ज्ञवालीले पनि थपेका थिए। कतिपय स्थानमा सदस्यताको बखेडा झिकिएको उनले बताए।
सचिव छविलाल विश्वकर्माले राजनीतिक संकट बढेको भन्दै चनाखो हुनुपर्नेबाहेक ठोस कुरा नगरेको सचिवालय सदस्यको भनाइ छ।
***