बाराको सिमरामा बुधबार जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएपछि उत्पन्न तनाव दोस्रो दिन पनि साम्य हुन सकेन।
बुधबार आफूहरूमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई पक्राउ गर्न माग गर्दै जेनजी समूहहरूले सुरू गरेको प्रदर्शनका कारण बिहीबार दिनभर सिमरा बजार तनावग्रस्त रह्यो।
त्रिभुवन राजपथ अन्तर्गतको वीरगन्ज-पथलैया सडक खण्डको आवागमन अवरूद्ध भयो। प्रदर्शनकारीहरू सडकमा भेला भएपछि लामो तथा छोटो दुरीका यात्रुवाहक तथा मालवाहक गाडी रोकिए।
दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। यहाँ साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको छ। झडपमा ६ जना प्रहरी र ४ जना जेनजी प्रदर्शनकारी घाइते भएका छन्।
घाइते हुने जेनजी प्रदर्शनकारीमा निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी, निलहरी सापकोटा छन्। तीमध्ये दुई जनालाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ भने दुई जनाको सिमरा अस्पतालमा उपचार भइरहेको छ।
यसबीच तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो नै जेनजी समूहलाई वार्तामा डाकेको थियो। तर जेनजी अगुवाहरूले आफूमाथि कुटपिट गर्नेहरू पक्राउ परेपछि मात्र वार्तामा जाने अडान लिए। यही अडानका कारण बिहीबार वार्ता हुन सकेन।
जेनजी प्रदर्शनकारीहरूले वार्तामा आउन अस्वीकार गरे पनि प्रदर्शन स्थगित गर्दा साँझबाट सवारी आवागमन सुरू भएको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी युवाले बिहीबारको प्रदर्शन स्थगित गरेपछि राजमार्ग सञ्चालनमा आएको जानकारी दिए।
'हामीले वार्तामा आउन आग्रह गरेका थियौं, आउँछन् भनेर साँझसम्म पर्खेर बसेका हौं, तर आएनन्,' उनले भने, 'बुधबारको घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेपछि मात्र वार्तामा आउँछौं भन्ने जेनजी समूहरूको माग छ। उनीहरूले सात-आठ जनाविरूद्ध जाहेरी दिएका छन्। प्रहरीले तिनको खोजी गरिरहेको छ।'
जेनजी समूहले जाहेरी दिएकामध्ये दुई जनालाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको थियो।
हामीले सिमरामा प्रदर्शन गरिरहेका जेनजी प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले बोलाएको वार्तामा नजानुको कारण सोधेका छौं।
जेनजी समूहका स्थानीय संयोजक सम्राट उपाध्यायले बुधबारको घटनामा मुख्य भूमिका निर्वाह गर्ने अरविन्द साहलाई पक्राउ गरेपछि मात्र वार्तामा बस्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालयबाट वार्तामा डाकिएपछि उनले सिमराको राजमार्गमै भेला भएका जेनजी युवाहरूका अगाडि आफ्नो अडान घोषणा गरेका थिए।
उनले भिडलाई 'तपाईंहरूलाई हाम्रो अडान स्वीकार्य छ कि छैन?' भनेर सोधेका थिए। भिडले एकै स्वरमा 'छ' भन्ने जबाफ दिएको थियो।
जेनजी मधेस प्रदेश संयोजक शिव यादवले पनि आफूहरूमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता आएपछि मात्र वार्तामा जाने बताए।
'प्रहरीले कम्तिमा चार-पाँच जनालाई नियन्त्रणमा लिएको भए वार्तामा जान हुन्थ्यो,' उनले भने, 'अहिलेसम्म दुई जनालाई मात्र नियन्त्रणमा लिएको छ। बाँकीलाई नियन्त्रणमा नलिएसम्म वार्तामा नजाने हाम्रो अडान छ।'
यति मात्र होइन, वार्ता कहाँ गर्ने भन्ने विषयमा पनि दुई पक्षबीच कुरा मिलेको थिएन।
जिल्ला प्रशासन कार्यालयले जेनजी समूहका प्रतिनिधिलाई आफ्नै कार्यालयमा वार्ता गर्न आउनू भनेको थियो भने जेनजी समूहले जीतपुर सिमरा उपमहानगरपालिको कार्यालयमा वार्ता गर्ने भनेको थियो।
यो पनि पढ्नुहोस्: