ग्लोबल नेपाली
ललितपुरका प्रकाश ढोडारी सन् २००९ मा श्रीमती प्रतिमासँगै अस्ट्रेलिया गए। त्यसअघि उनी पण्डित काम गर्थे।
पण्डित काम गर्नु उनको पारिवारिक पेसा जस्तै हो। प्रकाशले शास्त्री पढेका पनि हुन्।
अस्ट्रेलिया जाने बेलासम्म उनलाई उता गएर के काम गर्ने होला भन्ने अन्योल थियो। किनभने, पण्डित काम गर्न पाइने हो नपाइने, केही टुंगो थिएन।
जे फेला पर्छ, त्यो गर्छु भनेर उनी अस्ट्रेलिया हिँडेका थिए।
'मभन्दा पहिले अस्ट्रेलिया गएका हाम्रा जजमानका छोराछोरीले मजाले काम पाइन्छ भनेका थिए। तर उता नगई थाहा हुने कुरा भएन,' प्रकाशले भने, 'गएको तीन दिनमै सिड्नीमा न्वारन गर्न पाएँ।'
उनी गएका बेला अहिले जस्तो धेरै नेपाली त्यहाँ थिएनन्। पण्डित्याइँ काम पनि कम थियो। त्यसैले उनले अरू जे काम पाए, त्यही गरे।
फाट्टफुट आउने कर्मकाण्ड गर्ने अनि अरू काम गर्दै केही समय बित्यो। केही समयपछि त्यहाँ नेपालीहरूले बनाएको मन्दिरमा पूजारी हुने मौका पाए।
१६ महिना मन्दिरको पूजारी भएका बेला उनलाई चिन्नेहरू पनि धेरै भए। उनलाई चिन्नेहरू बढेसँगै उनको काम थपिँदै गयो।
उनी कर्मकाण्डमै यति व्यस्त हुन थाले, अस्ट्रेलिया गएको एक वर्ष पुग्न नपुग्दै उनले अरू काम गर्नै परेन।
प्रकाश 'फुल–टाइम' पण्डित बने। सन् २०१० यता उनी पूर्ण रूपमा पूजापाठ र कर्मकाण्डकै काममा व्यस्त छन्। यसबाटै उनको जीविका धानिएको छ।
'अहिले सिड्नीमा नेपालीहरू धेरै छन्। त्यसैले जन्मदेखि मृत्युसम्मका सबै संस्कार गर्नुपर्ने पनि धेरै हुन्छन्। नेपालमा जसरी गरिन्छ, सम्भव भएसम्म यहाँ पनि त्यसरी नै गरिन्छ,' प्रकाशले भने।

नेपाली चाडपर्वहरूमा हुने पूजापाठ गर्ने प्रचलन पनि बढिरहेको उनले बताए। त्यस्तै छोटो समयका लागि अस्ट्रेलिया गएकाहरूले परेका बेला श्राद्ध समेत गर्न थालेका छन्।
प्रकाश सुरूआती दिनमा फिजी र भारतका हिन्दू धर्मावलम्बीहरूकोमा समेत काम गर्थे। हिजोआज नेपाली समुदायमै भ्याइनभ्याइ छ।
अस्ट्रेलियामा नेपाली समुदाय बढेसँगै पण्डितहरूको संख्या पनि बढ्दो छ। अहिले सिड्नीमा मात्रै २०/२५ जना पण्डित भइसकेको उनले बताए। प्रकाश आफूले नभ्याएका बेला अरू पण्डितसँग समन्वय पनि गर्छन्।
प्रकाश 'रजिस्टर्ड म्यारिज सेलिब्रेन्ट' समेत हुन्। यो भनेको कुनै जोडीको बिहे गराएर प्रमाणपत्र दिने काम हो।
'सो प्रमाणपत्रको कानुनी मान्यता हुन्छ। विवाह प्रमाणपत्र दिने अधिकार सबैसँग हुँदैन। यसका लागि अस्ट्रेलियन सरकारबाट लाइसेन्स लिनुपर्छ,' उनले भने।
उनका अनुसार पण्डित हुन शास्त्री पढेर, कर्मकाण्ड गर्न जानेर मात्र पुग्दैन। अध्ययन र क्षमतासँगै आचरण र अनुशासन ठूलो कुरा हुन्छ। कुनै पनि धार्मिक कर्म गर्दा त्यसको नीति, नियम र आचरण मान्नुपर्छ।
'तपाईं जुन क्षेत्रमा हुनुहुन्छ, त्यसमा दत्तचित्त भएर काम गर्नुभयो भने ब्रह्माण्डीय ऊर्जा पनि बढ्ने रहेछ भन्ने महसुस मैले गरेको छु। यो भनेको आफ्नो पेसाप्रति अनुशासित हुनुपर्छ भन्ने हो,' उनले भने।

अस्ट्रेलियामा पण्डितले आफ्नो शुल्क कति लिन्छन् होला त?
यसको जबाफमा प्रकाश भन्छन्, 'कर्मकाण्ड गर्दा यति शुल्क लिने भन्ने हुँदैन। अस्ट्रेलियाको अवस्था अनुसार बुझेर, आफ्नो क्षमता र हैसियतका आधारमा दिन्छन्।'
पण्डित्याइँ काममा धेरै वा थोरै दक्षिणा पाउनुलाई उनी स्वाभाविक मान्छन्। कतिपय अवस्थामा निःशुल्क काम गरेको उनले बताए। तर पूर्णकालीन पण्डितको आम्दानीको स्रोत नै पण्डित्याइँ भएकाले धेरैले आफ्नो परिस्थिति बुझेको उनको अनुभव छ।
अस्ट्रेलियामा पण्डित बन्न चाहने जो–कोहीलाई उनको एउटै सुझाव छ, 'शास्त्री पढेर आउनुस्, आचरण र अनुशासन राम्रो हुनुपर्छ। अस्ट्रेलियामा राम्रो अवसर छ। तपाईं बेरोजगार बस्नु पर्दैन।'
प्रकाश हिन्दु समाज अस्ट्रेलिया मार्फत परोपकारी काममा समेत सक्रिय छन्। बेलामौकामा पण्डितहरू मिलेर पुराण, एकाहा, अनुष्ठान गर्छन्। त्यसबाट उठेको पैसा नेपालका गुरूकुल, अनाथ आश्रम, मानव सेवा आश्रमजस्ता सामाजिक संस्थालाई सहयोग गर्छन्।
उनले पूजा सामग्रीको व्यवसाय समेत सुरू गरेका छन्। 'गुण मञ्जरी' ब्रान्ड नाममा १७ प्रकारका पूजा सामग्री नेपालमा उत्पादन गरेर नेपालसहित अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायत देशमा निर्यात गरिरहेको उनले बताए।
'सुरूमा हाम्रै लागि मात्र उत्पादन गरिएको थियो। तर माग बढ्दै गएपछि व्यवसाय नै बन्यो,' प्रकाशले भने, 'रूद्री, विवाह, ब्रतबन्ध, लक्ष्मी पूजा लगायत १७ वटा पूजापाठका लागि काम लाग्ने सामग्री यसमा छन्।'
