सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। खेल सकिएपछि पत्रकारसँग अन्तरक्रिया गर्दै खेलाडीले अम्पायरले गरेका त्रुटिमा असन्तुष्टि व्यक्त गरेका छन्।
खेलको १४औं ओभरको पहिलो बलमा चितवनले लुम्बिनीका कप्तान रोहित कुमार पौडेलविरूद्ध स्टमपिनको अपिल गरेको थियो।
त्यसपछि टेलिभिजन अम्पयार विनयकुमार झाले झण्डै चार मिनेट रिभ्यू गरेपछि नटआउट भएको निर्णय गरे।
चितवनका कप्तान कुशल मल्लको बलिङमा स्टमपिनको अपिल गर्दा रोहितको खुट्टा हावा भएको वा नभएको विषयमा टेलिभिजन अम्पायरले निकै लामो रिभ्यू गरेका थिए।
त्यस्तै यहिँ इनिङग्सको सुरूमा चितवनका तीव्र गतिका बलर रिजन ढकालले पनि एलबिडब्लूको अपिल गरेका थिए। यसमा पनि अम्पायरले आउट दिन अस्वीकार गरे।
तर उनै रिजनको बलमा लुम्बिनीका सन्दीप जोरा २८ रनमा क्याच हुन पुगेका थिए। त्यसपछि नो बलका लागि रिभ्यू गर्दा रिजनले लाइन पार गरेर बलिङ* गरेको देखिएको थियो। यसमा भने टेलिभिजन अम्पायरले नो बल नदिएर आउट भएको निर्णय गरे।
बुधबार पनि काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पनि अम्पायरको निर्णयको विषयमा आलोचना भएको थियो।
सुदूरपश्चिमका जोश ब्राउनलाई काठमाडौंका कप्तान करण केसीको बलमा एलबिडब्लू आउट दिइएको थियो। ब्राउनको ब्याटको भित्री किनारामा बल लागेको देखिएको थियो। तर उनलाई एलबिडब्लू आउट दिइएको थियो।
अम्पारिङको विषयमा चितवनका अलराउन्डर रवी बोपाराले प्रश्न उठाएका छन्। बोपाराले खेलमा गरिएका केही निर्णयबाट आफ्नो टोली थोरै निराश भएको बताएका छन्। उनले चितवनको विरुद्धमा केही निर्णय भएको पनि बताए।
उनका अनुसार रिजन ढकालले गरेको एलबिडब्लूको अपिलमा आफूहरू सुरूमै निराश भएको बताए।
यस्तै स्टमपिनबारे उनले भने, ‘निर्णय लिन आवश्यक सबै प्रविधि उपलब्ध हुँदाहुँदै पनि गल्ती गर्नु राम्रो होइन।’
तर अब अम्पारिङको कुरा छाडेर अघि बढ्नुको बिकल्प नभएको उनको भनाइ छ। उनले भने, ‘यी कुरामा तर्क गरेर बस्न सकिन्न। हामी अगाडि बढ्नुपर्छ।’
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले अम्पायरले पनि गल्ती गर्न सक्ने भन्दै अम्पायरका निर्णयहरूलाई मानवीय त्रुटिको रूपमा लिएको बताए।
यद्यपी चितवनको ठाउँमा आफू भएको भए पनि अम्पायरको निर्णयमा दु:ख लाग्ने उनको भनाइ छ।
‘अम्पायरका निर्णयमा गल्ती हुनु मानवीय त्रुटी हो, यस्ता गल्ती अन्तर्राष्ट्रिय*स्तरमा पनि हुन्छ।’
उनले अम्पायरिङमा भएको गल्तीलाई पिन प्वाइन्ट (दोष मात्र देखाउने) गर्नुको सट्टा अर्को सिजनमा डीआरएसको प्रयोगले सुधार गर्न मद्दत गर्न सकिने बताए।
एनपिएलमा लुम्बिनीले पहिलो खेलमै जित निकालेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो।
१४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्यो।
लुम्बिनीका लागि अफगान खेलाडी गुल्बादिन नइबले सर्वाधिक रन जोडे। उनले नटआउट ४४ रन जोड्ने क्रममा २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
नइबसँग कप्तान रोहितकुमार पौडेलेले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे। सुस्त ब्याटिङ गरेका रोहितले ३९ रन बनाउन ४४ बल खेलेर १ चौका प्रहार गर्न सके।
त्यसअघि लुम्बिनीका ओपनिङ ब्याटर डार्शी सर्टलाई चितवनका रिजन ढकालले ११ रनमा बोल्ड गरे। अर्का ओपनर सन्दीप जोराले २८ रन बनाए। उनले १८ बलमा ४ चौका प्रहार गरे। उनलाई पनि रिजनले कप्तान कुशल मल्लबाट क्याच गराए।
दिलीप नाथ दुई रन लिने क्रममा १० रनमा रनआउट भए। नाथले १५ बल खेल्दा १ चौका प्रहार गरे।
बलिङमा चितवनका रिजनले २ विकेट लिए। सोहेल तन्विरले १ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभरमा १४२ रन बनायो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। लगातार दुई अर्धशतक प्रहार गरेका इंग्लिस ब्याटिङ अलराउन्डर बोपाराले अन्तिम ओभरमा गुल्बादिन नइबको बलमा क्याच हुनुअघि ६६ रन बनाए। उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
उनले कर्णाली याक्सविरूद्धको खेलमा ५२ रन बनाएका थिए। अघिल्लो सिजन उनले तीन अर्धशतक प्रहार गरेका थिए। दुवै सिजनमा गरी पाँच अर्धशतक बनाइसकेका बोपरा सर्वाधिक रन बनाउने ब्याटरको शीर्षमा पुगिसकेका छन्। उनले गत सिजन २८६ रन बनाएका थिए। यो सिजन बोपराले २ खेलमा ११८ रन प्रहार गरिसकेका छन्।अघिल्लो सिजन जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक रन बनाएका थिए।
त्यसअघि चितवनका ओपनिङ ब्याटर डविन मलान शून्यमा आउट भएका थिए। उनी इनिङग्सको दोस्रो बलमै लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट बोल्ड भएका थिए।
अर्का ओपनर दीपक बोहराले १२ रनमा १० रन मात्र बनाउन सके। देव खनाल १९ बलमा १४ रन र कुशल मल्ल १८ बलमा २१ रन बनाएर पेभिलियन फर्के। सइफ जइबले ७ बलमा २ चौका र १ छक्काको मद्दतमा १५ रन बनाए। लयमा देखिएका लुम्बिनीका ट्रम्पलम्यानले कुशल र सइफलाई पनि क्याच गराएका थिए।
अर्जुन साउदले नटआउट ८ रन जोड्दा अन्तिम बलमा आउट भएका सोहेल तन्विरले ५ रन बनाउन सके।
बलिङमा लुम्बिनीका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले ४ ओभरमा २३ रन दिए। अभिषेस गौतम र गुल्बादिन नइबले २-२ विकेट हात पारे।
लिगमा शुक्रबार अपरान्ह चार बजे पोखरा एजेभन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले पहिलो खेलमा पराजय भोगेका थिए।