झापामा हालसम्मकै ठूलो राशिको सताक्षी गोल्डकपको तयारी शुरू भएको छ। आगामी कात्तिक २८ देखि झिलझिलेस्थित गणेशमानसिंह प्राविधिक शिक्षालयको खेल मैदानमा मंसिर ७ गते सम्म हुने प्रतियोगिताको तयारी तिब्र पारेको सतासीधाम स्पोटिङ क्लबले जनाएको छ।
पहिलो संस्करणको सफलतापछि हौसिएको आयोजक यो संस्करणको प्रतियोगिता पहिलो भन्दा भब्य बनाउने तयारीमा लागेको छ।
आयोजक समिमितका उपाध्यक्ष फुर्वा तामाङका अनुसार तीन साता पछि हुने प्रतियोगिताका लागि पहिलो चरणमा मैदान सम्याउने, झार काट्ने र घेरावारा गर्ने काम सम्पन्न भएको छ।
दोस्रो चरणको मैदान सम्याउने र झार काट्ने काम पनि तिव्र रुपमा भईरहेको उनले बताए।
पहिलो संस्करणको गोल्डकपबाट आयोजकले २१ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको थिय । मुनाफा मध्येको केहि रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको र बचेको नगदबाटै दोस्रो संस्करणको चालु खर्च गरिने आयोजक समितिले जनाएको छ।
पहिलो संस्करणमा आयोजकले ४७ लाखको अनुमानित बजेट तयार गरेको थियो । आयोजकले लक्ष्य भन्दा १९ प्रतिसत बढी प्रगति गरेको समितिका आर्थिक विभाग प्रमुख गणेश प्रधानले बताए।
५ हजार दर्शक बस्न सक्ने बेम्वो प्याराफिट निर्माण पनि शुरू गरेको छ। मैदानको चारैतर्फ प्याराफिट निर्माण हुनेछ भने आकर्षक डिजाईनको स्टेजको तयारी आयोजकले गरेको छ।
पूर्वपश्चिम राजमार्गमा प्रतियोगिताको लागि विभिन्न ठाउँमा स्वागतार्थ द्धार निर्माण हुने छ। प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न उपसमिति गठन गरि युद्धस्तरमा काम अघि वढाएको आर्थिक विभागका सचिवालय सचिव गणेश घिमिरेले बताए।
भारतको १ सहित नेपालका ७ वटा ए डिभिजनका टिमले प्रतियोगितामा सहभागी जनाउने आयोजक समितिका सचिव भाग्य सुव्बाले बताए।
यस्तै आयोजक र छिमेकी मोरङ ११ पनि सहभागी हुने पक्का भएको छ। सुव्बाका अनुसार भारतको मध्य प्रदेशस्थित डायमण्ड अफ फुटवल एकेडेमीले प्रतियोगितामा सहभागी जनाउने छ। यस्तै मनाङ्ग मर्स्याङ्दी, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, रुपन्देही ११, झापा ११ प्रतिश्पर्धा गर्ने पक्का भएको छ।
हिमालयन सेर्पा र संकटा क्लव मध्ये एउटा टिमले दोस्रो सताक्षी गोल्डकपमा सहभागी हुने तय भएको छ। यस्तै आयोजकले पनि होम टिम तयार गरेर प्रतियोगितामा सहभागी हुने जनाएको छ।
प्रतियोगिता बिजेताले नगद ५ लाख नगद सहित गोल्डकपको ट्रफि उचाल्ने छ । यस्तै उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफि र प्रमाण पत्र पाउने छ ।
यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद १० हजारले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ। सर्वाधिक गोलकर्ताले नगद २५ हजारको उपाधि हात पार्नेछ। उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ मिड फिल्डर, स्ट्राईकर, डिफेन्सलाई जनही २० हजार नगद प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
यता, टुर्नामेन्ट अफदि प्लेयरका विजेता लाई नगद ५० हजारले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ। प्रतिष्ठीत कम्पनिसँग कुरा भईरहेको छ यदि दाता पक्षले सहमति जनायो भने टुर्नामेन्ट अफदि प्लेयरका विजेताले पाउने ५० हजार जोडेर वाईक पाउन सक्ने आयोजक समितिका उपाध्यक्ष तामाङ्गले बताए।
प्रतियोगितामा कुल ८१ लाख लागतको वजेट आयोजकले यस अघि सार्वजनिक गरेको थियो। प्रस्तुत वजेट गेट मनि, विभिन्न संघसंस्थाबाट सहयोग, सरकारी निकाय,विदेशमा रहेका प्रवासी नेपाली , स्थानीयबासी दाताबाट हुने आर्थिक सहयोग नै आयोजकको मुख्य श्रोत भएको बताईएको छ।
आयोजकले ४९ लाख ५० हजार खर्च गरि ३१ लाख ५० हजार बचत गर्ने लक्ष्य लिएको छ।
पहिलो संस्करणको उपाधि नेपाल पुलिसले हात पारेको थियो।