आयोजक दमक ११ लाई फराकिलो गोल अन्तरमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी दोस्रो चरणमा प्रवेश गरेको छ।
दमक गोल्डकपको शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले आयोजक दमक ११ माथि गोल वर्षा गर्दै ६–० को फराकिलो जित दर्ता गर्यो।
दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। खेलको २०औं मिनेटमा कप्तान भरत खवासले गो गर्दै अग्रता दोब्बर बनाए।
एकपक्षीय खेलमा त्यसको दुई मिनेट पछि २२ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए।
पहिलो हाफसम्म ३-० ले अगाडि रहेको आर्मीले दोस्रो हाफमा थप तीन गोल थप्यो।
खेलको ५३ औं मिनेटमा विमल पाण्डेले गोल गर्दै अग्रता ४-०मा पुर्याए। खेलको ६८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गरेपछि आर्मीले अग्रता ५-० पुर्यायो।
झापाली टोलीलाई पुरै नियन्त्रणमा रखेको खेलको ८५ औं मिनेटमा नवयुगले टिमका लागि छैटौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए।
आयोजक दमकका खेलाडीहरुले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेनन्।
जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीले मनाङ मर्स्याङ्दी र सरस्वती क्लबबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच हुँदै ११ हजार रुपैया प्राप्त गरे।
वैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले सेतोपाटीलाई बताए।
गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छ।
गोल्डकपमा आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।