आगामी फागुन १९ गतेदेखि झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।
झापा–११ फुटबल क्लबको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई यो वर्ष १२ लाख र उपविजेतालाई ६ लाख रूपैयाँ पुरस्कार दिइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। अघिल्लो वर्ष विजेता टिमले सात लाख रूपैयाँ पुरस्कार पाएको थियो ।
झापा गोल्डकपले सूदुरपश्चिमको खप्तड गोल्डकप र इटहरीको मदन भण्डारी गोल्डकपको विजेता राशीलाई उछिन्दै १२ लाख ५१ पुरस्कार दिन लागिएको हो। खप्तडको ११ लाख ११ हजार १ सय ११ छ भने मदन भण्डारी गोल्डकपको राशी १२ लाख थियो।
‘मोफसलमा आयोजना हुने गोल्डकप मध्ये सर्वाधिक राशीको प्रतियोगिताको रुपमा झापा गोल्डकपको तेस्रो संस्करणलाई बनाएका छौं,’ गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले भने।
प्रतियोगितामा एउटा विदेशी टिमसहित १० टिम सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।
प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार, आयोजक झापा–११, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११, रूपन्देही–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब सहभागी हुने पक्का भइसकेको छ।
त्यस्तै, भारतको सिक्किम युनाइटेडले पनि प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ।
प्रतियोगिता सम्पन्न गर्न एक करोड रूपैयाँ खर्च हुने आयोजकको प्रारम्भिक अनुमान छ।
गत बर्षको दोस्रो संस्करणमा ५३ लाख रुपैयाँ बचत भएको थियो । आयोजक झापा ११ फुटबल क्लवका प्रमुख जलकुमार गुरुङका अनुसार यस पटक उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।