पहिलो पटक हुन गइरहेको राष्ट्रिय फुटबल प्रतियोगिताको लागि दाङमा तयारी तीव्र पारिएको छ। आगामी माघ २ गतेदेखि ६ गतेसम्म दाङमा २८औं राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएपछि त्यसको तयारी तीव्र रुपमा भइरहेको दाङ जिल्ला फुटबल महासंघका महासचिव सुशील श्रेष्ठले जानकारी दिए ।
दाङमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हुँदा खेल मैदानदेखि अन्य धेरै प्राविधिक पक्षको व्यवस्थापन तीव्र रुपमा भइरहेको उनले बताए । घोराही मैदानको तयारी पुरा भइसकेको भएपनि तुलसीपुरको अरनिको मैदान सम्याउने तथा ट्याङकरवाट पानी हालेर झार उमार्ने काम भइरहेको महासचिव श्रेष्ठले सेतोपाटीलाई बताए।
पाँच विकास क्षेत्रवाट एकएक टोली र तीनवटा विभागिय टोली गरी कूल आठ टिमका बीचमा प्रतिपर्धा हुने महासचिव श्रेष्ठले बताए। विभागिय टिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको एकएक टोली हुनेछन्।
उक्त प्रतियोगिताको तयारी स्वरुप पुस २५ देखि २७ गते सम्म मध्यपश्चिमको टिमको छनोट गरिसक्ने महासचिव श्रेष्ठले बताए। उनले पुस २७ गते टिम इन्ट्रिको लागि समय तोकिएको जानकारी दिए।
प्रतियोगिताको उद्घाटन माघ २ गते तुलसीपुरको अरनिको मैदानमा हुनेछ भने समापन घोराहीको भरतपुर मैदानमा हुनेछ ।