आइसिसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले मंगलबार कीर्तिमानी शतक बनाइन्।
छनोट प्रतियोगिताकै इतिहासमा पहिलो शतक पूरा गरेकी पूजाले कुवेत विरूद्धको खेलमा पाँच विकेटसमेत लिइन्।
यससँगै पूजाले नेपाली महिला क्रिकेटमा दुर्लभ कीर्तिमान बनाइन्।
नेपालको उमेर समूहको महिला टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेकी पूजा समग्रमा नेपालका लागि शतक प्रहार गर्ने दोस्री महिला खेलाडी हुन्। यसअघि नेपालका लागि रूबिना क्षेत्रीले गत फेब्रुअरीमा माल्दिभ्सविरूद्ध पहिलो शतक प्रहार गरेकी थिइन्।
खेलमा पाँच विकेट लिएपछि उनले अर्को कीर्तिमान पनि बन्यो। उनी नेपालका लागि एकै खेलमा शतक प्रहार गर्ने र पाँच विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन्।
यूएईको अजमानस्थित द सेभेन्स रंगशालामा पूजाले नटआउट खेलमा १३० रन जोडिन्। उनले ६९ बल खेल्दा १७ चौका प्रहार गरेकी थिइन्।
जबाफ ब्याटिङ गरेको कुवेतलाई ४८ रनमा अलआउट गर्ने क्रममा पूजाले ५ विकेट लिइन्। नेपालले १६५ रनले जितेको खेलमा उनले ४ ओभरमा एक मेडन फ्याँक्दा ८ रन मात्र दिइन्।
नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजा नेपालको राष्ट्रिय टोलीबाट समेत खेलिसकेकी छिन्। राष्ट्रिय टोलीमा गरेको प्रदर्शनकै आधारमा उनलाई यू-१९ टोलीको कप्तानको जिम्मेवारी दिइएको हो।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ९ मा जन्मिएकी पूजाको बाल्यकाल भारतको दिल्लीमा बित्यो। जसका कारण उनमा सानै उमेरदेखि भारतीय क्रिकेटको छाप बसेको थियो। पूजा माइली छोरी हुन् भने उनका एक भाइ छन्।
जेठी दिदी अञ्जुको विवाह भइसक्दा परिवारका बाँकी दुई सन्तान पनि क्रिकेटमै छन्। बहिनी आरती र भाइ कृष्ण पनि क्रिक्रेट खेलाडी हुन्। भाइ कृष्णले नेपालको उमेर समूहको खेल खेलिसकेका छन्। आरती पनि राष्ट्रिय टिमको क्याम्पमा परिसकेकी छिन्। यद्यपि उनी टिममा परेकी छैनन्। अहिले आरती दिल्लीमा थप क्रिकेट सिकिरहेकी छिन्।
तीन सन्तानलाई क्रिकेटर बनाउनुमा बुवा रञ्जितको ठूलो योगदान छ।
‘रञ्जितले छोराछोरीलाई क्रिकेटर बनाउन गरेको संघर्ष ठूलो छ,’ नेपाल क्रिक्रेट संघ क्यानका उपाध्यक्ष तथा महोत्तरी क्रिकेट संघको अध्यक्षसमेत रहेका रोशन सिंहले भने, ‘मधेसमा अझै पनि छोरीहरूलाई घुम्टो लुकाएर राख्छन्, त्यसलाई चिरेर देशको लागि खेलाउँछु भनेर पूजाको बुवाको सपना थियो, त्यसैमाथि दिल्लीको क्रिक्रेटको माहोलले छोरीहरू क्रिक्रेटर भएको सपना देख्न थाले, त्यहीअनुसार सिकाउन थाले, देशका लागि खेलोस् भन्ने सपना रञ्जितको पूरा भएको छ।’
पूजाको सानो बुवा रामदयालका अनुसार रञ्जित घरमा आर्थिक अवस्था कमजोरका कारण सानैदेखि कमाउन दिल्ली गए। दिल्लीमा काम गर्न थालेको अहिले ४० वर्ष भयो। उनले ८ वर्षको उमेरदेखिनै दिल्लीमा चिया पसलमा काम गरे।
चिया पसलमा नोकरी गर्दै उमेर बढ्यो। विस्तारै रञ्जित अर्को काम गर्न थाले। थोरबहुत कमाउँथे, घर आउँथे जान्थे। विवाहपछि आमा रिता गाउँमै थिइन्। केही समयपछि उनी पनि छोराछोरी लिएर दिल्ली गइन्। रञ्जितको खानपान हेरचाह र सहयोगका लागि रिताले गाउँ छाडेकी थिइन्।
दयाराम र रञ्जित बाल्यकालको मित्र हुन्। ‘हामी सँगै दिल्ली गएको हौं, पछि कम्पनीमा पनि सँगै काम पनि गर्यौं,’ उनले भने, ‘मेहनत गरेर उहाँले आफ्ना छोराछोरीलाई क्रिकेटर बनाउनुभयो, आफूले परदेशमा पसिना बगाएर देशका लागि देश चिनाउन छोराछोरीलाई क्रिकेटर बनाउनुभयो।’
दयारामका अनुसार रञ्जितका हातमा ठेलाको डाम अहिले पनि छन्। उनी व्यापारको सिलसिलामा दिल्ली जाँदा रञ्जित र रिताले छोराछोरीको लागि अहिले पनि त्यहाँ संघर्ष गरिरहेको देख्छन्।
पूजाको हजुरबुवा र आमा महोत्तरीको गौशालामा बस्छन्। खेतीपातीको काम गर्छन्। आमाबुवा अहिले दिल्लीमा प्लाष्टिक कम्पनीमा काम गर्छन्। पहिला धेरै समय भाडामा बसे। अहिले ऐलानी जमिनमा सानो झुपडी घर बनाएर जीवन चलाइरहेका छन्।
‘यति धेरै दुःख गरेर, मँहगो शुल्क तिरेर एकेडेमीमा छोराछोरीलाई क्रिकेट सिकाउनुभयो, हाम्रो छोरी पूजा अन्तर्राष्ट्रिय खेलाडी हुँदा धेरै खुसी लाग्छ,’ उनले भने।
पूजाको बुवा भारतबाट आफ्नो आमाबालाई भेट्न कहिलेकाहीँ महोत्तरीको घर आउँछन्। पूजाले दिल्लीमै पढिन्, उनी पनि टिभीमा क्रिकेट हेर्न भनेपछि हुरूक्कै हुन्थिन्।
पूजा हजुरबुवा, आमालाई भेट्न कहिलेकाहीँ गौशाला आउँछिन्। तीन चार वर्षयता उनी खेलमै व्यस्त छिन्। फुर्सदमा उनी कहिले महोत्तरी र कहिले दिल्लीमा परिवारलाई भेट्न जान्छिन्।
पूजाको खेलले गाउँलेहरू पनि खुसी मिलेको बताउँछन्।
‘पहिला हामीहरू पूजालाई चिन्दैन थियौं, जब पूजा गाउँमा क्रिकेट खेल्न आइन् त्यसबेलादेखि चिन्न थाल्यौं, यो खेलले महोत्तरीवासी खुसीले गदगद भएका छन्,’ स्थानीय पिन्टु यादवले भने।
क्यानका उपाध्यक्ष रोशन सिंहका अनुसार उनलाई गाउँको एक जना साथीले ‘तपाईको गाउँकै बहिनीहरू दिल्लीमा क्रिक्रेट सिकिरहेका छन्, उनीहरूको खेल राम्रो छ, एकचोटी मौका दिनुहोस् न है’ भनेका थिए।
त्यसपछि उनीहरूको बारेमा रोशनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई जानकारी गराए। राम्रो छ भने एकचोटी हेरौँ भन्ने जबाफ अध्यक्षबाट आयो।
रोशन त्यसबेला क्यानको कोषाअध्यक्ष थिए। त्यहीबेला पूजाका भाइ १२ वर्षीय कृष्णा यू –१५ को अभ्यास गरिरहेका थिए। उनले पूजा र आरती क्रिकेट खेलेको भिडियोहरू रोशनलाई देखाए। बहिनी आरती स्पिनर हुन्। फोटो, भिडियो हेर्दा खेल राम्रो देखेपछि क्यानबाट दुवै जनालाई दिल्लीबाट काठमाडौं बोलाइयो।
‘उहाँहरूलाई मैले आफै राखें, मुलपानी क्रिकेट मैदानमा खेल हेरियो, दुवैको खेल प्रशिक्षक सबैले मन पराए, त्यसपछि सिनियर टिमको क्याम्पमा परेँ’, रोशनले भने।
क्याम्पमा उत्कृष्ट गर्दै २०२३ मा पूजा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीमा परिन्।
‘उनको आफ्नो समुदायबाट छोरीहरूलाई क्रिक्रेट खेलाउँछु, मेरो छोरीले देशका लागि क्रिक्रेट खेलोस् भन्ने ठूलो धोको थियो, उहाँले छोरीहरूलाई पैसा खर्च गरेर सिकाएका कारण पूजाले उत्कृष्ट खेल देखाइरहेकी छिन्,’ रोशनले भने।
गत वर्षको प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसमा पूजा उपकप्तान भइन्। उक्त प्रतियोगितामा वेष्ट बलर भइन्। प्रतियोगिताभर उनले २१२ रन र १२ विकेट लिएकी थिइन्।
उक्त प्रतियोगितामा गरेको उत्कृष्ट प्रर्दशनले पूजा सबैको आँखामा परेकी थिइन्। पूजा अहिले सिनियर टिममा छिन्। उनी क्यानको केन्द्रीय सम्झौतामा सी ग्रेडको खेलाडीको सूचीमा छन्। जसअनुसार उनले मासिक ३० हजार रुपैयाँ तलब पाउँछिन्।