जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउँदे प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । हारसँगै दिल्ली प्लेअफबाट बाहिरिएको छ ।
टस जितेर व्याटिङलागि उत्रेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको चुनौती हैदरावादलाई दिएको थियो । रिसभले ६३ बलमा १५ चौकासहित ७ छक्काको मद्दतमा १२८ रन जोडेका थिए।
फिरोज शाहा कोटाला मैदानमा दिल्लीका ओपनर चल्न सकेनन् । पृथ्वी शा ९ र जेसन राय ११ रनमा आउट भए ।
उनीहरु दुवैलाई शाकिब अल हसनले आउट गरेका थिए । चौथो ओभरमा २१ को स्कोरमा शाकिबले पाँचौं र छैठौं बलमा ती दुबैलाई आउट गरेका थिए । कप्तान श्रेयस ऐयर ३ रन र हर्षल पटेल २४ रनमा आउट भए ।
बलिङतर्फ भुवनेश्वर कुमारले एक विकेट लिए ।
जवाफी ब्याटिंका लागि मैदानमा उत्रेको हैदरावादले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा १९१ रन बनाएर जित हात पार्यो ।
सो खेलमा हैदरावादका शिखर धवन ९२ र केन विलियम्सन ८३ रनमा नटआउट रहे । हैदरावादले १५ रनमा आफ्नो पहिलो विकेटको रूपमा एलेक्स हेल्सलाई गुमाउन पुगेको थियो। उनलाई १४ रनमा हर्षल पटेलले एलबिडब्लु गर्दै आउट गरे ।
त्यसपछि कप्तान केन विलियम्सन र शिखर धवनले जीतका लागि १७६ रनको साझेदारी गरे । धवन प्लेयर अफ दि म्याच भए ।