अष्ट्रेलियाले न्यूजील्याण्डमाथि कीर्तिमानी जित दर्ता गरेको छ।
त्रिकोणीय टी-ट्वान्टी सीरीजको पाँचौ खेलमा शुक्रबार पहिले ब्याटिङ गर्दै न्यूजील्याण्डले दिएको २४४ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो।
यो क्रिकेटको ट्वान्टी ट्वान्टी इतिहासमा सबैभन्दा बढी रन पछ्याएर जितेको खेल हो।
अक्ल्याण्डको ईडन पार्कमा पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर न्यूजिल्याण्डले २४३ रन बनाएको थियो। उसका लागि मार्टिन गुप्टिलले सतकीय इनिङस् खेलेका थिए। गुप्टिलले ट्वान्टी २० करियरको दोस्रो सतक पुरा गर्ने क्रममा ४८ बलमा १०० रन बनाए। ५४ बलमा १०५ रन बनाएका उनले ६ चौका र ९ छक्का प्रहार गरेका थिए। यस्तै कलिन मुनरोले ७६ रन बनाएका थिए।
पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरेका उनीहरूले बिष्फोटक ब्याटिङ गर्दै १० ओभरमै ११० रन बनाएका थिए।
एड्रयू टाईको बलिङमा कलिन मुनरो छक्का प्रहार गर्ने क्रममा ७६ रनमा समातिए। मुनरो आउट हुनुभन्दा अगाडि लगातार तीन छक्का प्रहा गरेका थिए। चौथो छक्का लगाउने क्रममा उनी आउट भएका थिए। उनले ३३ बलमा ६ छक्का र ६ चौका प्रहार गरेका थिए।
२४५ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा ५ विकेट गुमाएर सहजै भेट्टायो। उसका लागि डिआर्सी सर्टले सर्वाधिक ७६ रन बनाए। डेभिड वार्नर ५९, आरोन फिन्चले १४ बलमा ३६ रन बनाएका थिए।
अष्ट्रेलियाले पनि पहिलो विकेटका लागि १३७ रनको साझेदारी गरेको थियो। वार्नर २४ बलमा ५९ रन बनाएर आउट भएका थिए।