आइसोलेसमा रहेका विरामीको स्वाब परीक्षणका लागि काठमाडौं जाने मानिस कोही फेला नपारेपछि एक हप्ताअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी आफै गइन्।
‘कोही जान मानेनन्, विरामी प्रतिष्ठानको आइसोलेसनमा बसिरहेका थिए,’ भण्डारीले भनिन् ‘अनि मैले आफ्नै गाडीमा स्वाब लगेर जानु परेको थियो।’ प्रतिष्ठानको आइसोलेसनमा कोरोना आशंकामा उपचाररत पाँचै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर गइसकेका छन्।
फर्किँदा विरामीमा कोरोना भाइरस परीक्षण तथा उपचारका लागि आवश्यक उपकरण ल्याउने योजना रहेको भण्डारीले बताइन्। उनका अनुसार चिकित्सकलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर लगायतका सामाग्री ल्याउन लागिएको छ।
दाङ तुलसीपुरको कोरोना विशेष अस्पतालका सदस्य सचिव तथा राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माका अनुसार शुक्रबार मात्रै विशेष अस्पतालको आइसोलेनमा रहेका थप ४ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।
बाँकेस्थित राँझा विमानस्थलबाट स्वाब काठमाडौं पठाउन थालिएको शर्माले जानकारी दिए। आइसोलेसनमा उपचाररत चारको रिपोर्ट शनिबार बेलुकासम्म आइपुग्ने उनले बताए।
बेलझुण्डीको कोरोना विशेष अस्पतालमा हालसम्म ६७ जना ज्वरोका विरामी सेवा लिन पुगेका छन्। जसमध्ये आइसोलेसनमा बसेका १७ जनामध्ये १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन्। डा शर्माका अनुसार बिहीवारदेखि थप कुनै पनि विरामी विशेष अस्पतालमा भर्ना हुन आएका छैनन्।
भोलि कुनैपनि समस्या आउन सक्छ, त्यसको लागि तयारी गर्नु आवश्यक छ,’ प्रतिष्ठानकी उपकुलपति डा भण्डारीले भनिन्। देशका अरु प्रदेशहरुमा कोरानाको परिक्षण सुरु भइसकेको भएपनि प्रदेश नं ५ मा भने अझै सुरु भएको छैन।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले निकट भविश्यमै कोरोना परीक्षण गर्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने जानकारी दिए। ‘हामी आइतबारदेखि बुटवलमा कोरोना परीक्षण सुरु गर्दैछौं,’ मन्त्री बरालले भने ‘ उपकरण सबै आइसकेको छ।’
उनले बुटवलमा आएको उपकरणले एक घन्टामै एकजनाको रिपोर्ट दिने जानकारी दिए। त्यसपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालमा पनि कोरोना जाँच गर्ने ल्याव छिट्टै आइपुग्ने उनले बताए।