कालिकोटका युवक कोहलपुरमा ब्राउन सुगरसहित पक्राउ परेका छन्।
कालिकोट खाँडाचक्र नगरपालिका– ५ का २६ वर्षीय नबिन शाही कोहलपुर नगरपालिका –११ चौराहाबाट शुक्रबार बेलुकी पक्राउ परेका हुन्।
शाहीको साथबाट २२ ग्राम ३ मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन्।
प्रहरी बिट बसपार्क कोहलपुरका सहायक निरीक्षक कर्णबहादुर बलामीको नेतृत्वमा खटिएको टोलीले बाटोमा शंकास्पद अवस्थामा हिँडिरहेका शाहीलाई नियन्त्रणमा लिई शरीर खान तलासी गर्ने क्रममा उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको थियो।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।
त्यसअघि नेपालगञ्जबाट दुई दिनको अवधिमा ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट ३०० ग्राम बढी ब्राउन सुगर बरामद भएको थियो।
शुक्रबार बिहान प्रहरी नेपालगञ्ज बसपार्कमा गोली चलाएर चार जना लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिका– ११ त्रिभुवन चोक नजिकबाट सोही ठाउँ बस्ने ४४ वर्षीय रसुल अहमद कबाडिया पक्राउ परेका हुन्।
उनको साथबाट ९८ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताए।