रूकुम पूर्वमा कृषि विकास बैंकका शाखा प्रबन्धक मृत भेटिएका छन्।
सल्यानको बागचौर नगरपालिका-८ घर भइ कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका हुन्।
रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार उनी आफ्नै क्वाटरमा अपराह्न ४ बजेतिर मृत भेटिएका हुन्।
क्वाटरमा बैंककै अरू तीन जना कर्मचारी पनि बस्थे।
गिरी बिहान ११ बजेतिर नुहाएर सुतेका थिए। ४ बजेसम्म पनि नउठेपछि अरू कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी पुगेर हेर्दा सुतेकै ठाउँमा उनको मृत्यु भइसकेको भेटिएको डिएसपी यादवले जानकारी दिए।
सल्यानबाट उनका परिवार आउँदै गरेको र परिवारको सनाखत पश्चात पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने डिएसपी यादवले जानकारी दिए।