वडा सचिवद्वारा घरबाट निकालिएकी नर्स सिर्जना खड्का छुट्टै ठाउँमा कोठा भाडामा लिएर बस्न थालेकी छिन्।
घोराहीको भरतपुरस्थित एक घरमा कोठा भाडामा लिएर बस्न थालेको उनले जानकारी दिइन्। ‘अहिले ठीक छ, म छुट्टै ठाउँमा भाडामा बस्न थालेकी छु’ उनले भनिन्।
घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० वर्षीया उनलाई कोरोना भाइरसको त्रासले गर्दा घोराही उपमहानरपालिका वडा नं २ का वडा सचिव नारायण आचार्यले आफ्नो घरबाट निकालेका थिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं १६ गणेशपुर घर रहेकी सिर्जना सचिव आचार्यको घोराही १८ नवलपुरस्थित घरमा गत मंसिरदेखि साथीहरूसँगै मिलेर भाडामा बस्दै आएकी थिइन्।
‘लकडाउन’ समयमा पनि नर्स खड्का हस्पिटलमा जाने आउने गरेको हुँदा कोरोनाको त्रासले आचार्यले उनलाई आफ्नो घरबाट निकालेका थिए।
त्यसपछि नर्स खड्का चैत १५ गतेदेखि घोराहीको गौरीगाउँस्थित बुढाथोकीको होटलमा केही दिन बसेकी थिइन्। त्यो खबर सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यालय घोराहीले वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएको थियो।
तर नर्स खड्काले वडा सचिवका विरूद्ध प्रहरीमा जाहेरी दिन मानिनन्।
‘हामीले वडा सचिवलाई नियन्त्रणमा पनि लियौं,’ दाङका प्रहरी प्रमुख जनक भट्टराईले भने, ‘उहाँले पीडकविरूद्ध जाहेरी दिन नमानेको हुँदा वडा सचिवलाई छोड्न बाध्य भयौं।’
पीडा दिनेले गल्ती महशुस गरेकाले जाहेरी नदिएको खड्काले बताइन्।
उनले भनिन् ‘गल्ती महशुस गरेपछि माफी दिनु पनि महानता हो।’
अब यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता आचार्यले जनाएका थिए। प्रहरीले घटना गम्भीर भए पनि पीडित पक्ष अगाडि बढ्न नचाहेको हुँदा आफूहरूले थप कदम चाल्न नसकेको बताउने गरेको छ।