नौ महिनाअघिको कुरा हो।
काष्ठमण्डप पुनर्निर्माण अभियान सुरु भइसकेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच भएको चारपक्षीय सम्झौताअनुसार काम सुरु हुन लागेको थियो।
त्यही बेला नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य ‘आफैं पुनर्निर्माण गर्छु’ भन्दै अघि सरे। काष्ठमण्डप पुनर्निर्माणमा शाक्यलाई नै ‘दूत’ बनाइयो।
अहिलेसम्म काम भने सुरु भएको छैन।
‘काष्ठमण्डप महानगरपालिकाले पुनर्निर्माण गरोस् या अरु कसैले। हामीलाई कुनै आपत्ति छैन,’ अभियानका प्रवक्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘हामीलाई बनाउन दिए पनि तयार छौं। यत्ति हो, चाँडो बनाउनुपर्यो र मापदण्ड विपरित बनाउनु भएन।’
उपत्यकाको सभ्यतासँग जोडिएका काष्ठमण्डप तीन वर्षअघि भुइँचालोमा भत्किएको हो। सातौं शताब्दीमा बनेको यो सम्पदा कहिले बन्छ भन्ने जवाफ कोहीसँग छैन।
सरोकारवालाहरू काष्ठमण्डप, रानीपोखरी लगायत धरोहरका विषयमा स्पष्ट जवाफ दिन हिच्किचाउँछन्।
केही साताअघि यी धरोहर पुनर्निर्माण विवाद टुंग्याउन छलफल पनि भयो। पुरातत्व विभागले आयोजना गरेको छलफल कार्यक्रममा पुनर्निर्माण कसरी गर्ने भन्ने चर्चा भयो।
कहिले बनाउने? यसको स्पष्ट खाका भने सार्वजनिक भएन।
‘मान्छेमा सम्पदाप्रति लगाव हराउँदै गएको छ,’ अभियानका कार्यवाहक अध्यक्ष वैकुण्ठ मानन्धरले भने, ‘सरोकारवालाहरूले पनि सम्पदाबाट फाइदा लिने मात्र सोच्न थालेका छन्। जोगाउनतर्फ ध्यान जाँदैन।’
भुइँचालो गएको तेस्रो वर्षमा प्रधानमन्त्रीले धरहरा चाँडै बनाउने प्रतिबद्धता जनाए। ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरेका उनले कुटो, कोदालो लिएर आफैं अघि बढ्ने बताए। उपत्यकाकै संस्कृति बोकेको काष्ठमण्डपमा भने ध्यान नदिएको मानन्धरको गुनासो छ।
‘धरहरा बनाउनु हुँदैन भनेको होइन, तर काष्ठमण्डप प्राथमिकतामा पर्नुपर्यो,’ उनले भने।
‘पहिले हाम्रा मठ–मन्दिर बन्न जरुरी छ,’ उनले भने, ‘विदेशीले हेर्न आउने यिनै मठ–मन्दिर र सम्पदा हुन्। सम्पदाका भग्नावशेष यसै रहिरहँदा हाम्रो पुरानो घाउ सम्झाइरहन्छ। यसैले काष्ठमाण्डप यथाशिघ्र निर्माण हुन जरुरी छ।’
काष्ठमण्डप संरचना १२ औं शताब्दीमा निर्माण भएको इतिहासकारहरूको भनाइ थियो। भुइँचालोपछि बेलायतको डरहम विश्वविद्यालय र पुरातत्व विभागले उत्खनन् गरेपछि सातौं शताब्दीको भनेर पुष्टि भएको छ।
सरकारी निकाय आफैं हाम्रा सम्पदाबारे गम्भीर नभएको अभियन्ता आलोक तुलाधरको आरोप छ।
‘भुइँचालोको तेस्रो वार्षिकी आसपास हनुमानढोका संग्रहालयले काष्ठमण्डपलाई १२ औं शताब्दीको भनेर डिस्प्ले गरेको थियो,’ तुलाधरले भने, ‘सरकारी निकायले सम्पदाका विषयमा एक तह गहिरिएर सोचेकै छैनन्, अनुसन्धान नै गरेका छैनन्। म त भन्छु उनीहरूलाई बनाउन दिनु नै हुँदैन।’
पुनर्निर्माणमा भइरहेको लापरबाहीका कारण सरकारी निकायमा भरोसा नभएको तुलाधर बताउँछन्। ‘उनीहरू नै जिम्मेवार हुनुपर्नेमा जथाभाबी गर्छन्। लापरबाही नदोहोराई मापदण्डअनुसार बनाउनुपर्छ। यसो भए हाम्रो साथ छँदैछ,’ उनले भने।
उनीहरूको पहिलो माग हो, काष्ठमण्डप पुनर्निर्माण जिम्मा ठेकेदारलाइ नदिइओस्।
‘ठेकेदारलाई जिम्मा दिँदा कस्तो हालत हुन्छ भन्ने उदाहरण रानीपोखरी हाम्रै अगाडि छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘काष्ठमण्डपलाई अर्को रानीपोखरी बनाउन दिनु भएन।’
पुरानै शैलीमा निर्माण गर्ने र आधुनिक उपकरण प्रयोग गर्न नपाउने नियम पनि पालना गर्नुपर्ने उनीहरूको माग छ।
तेस्रो, विदेशी निकायसँग भर नपरी बनाउनु।
‘सर्वसाधारणले नै पुनर्निर्माण गर्छु भन्नु गर्वको कुरा हुनुपर्ने हो। तर त्यस्तो भएन,’ श्रेष्ठले भने, ‘अब जसले बनाए पनि यी मापदण्ड मान्नुपर्यो। सम्पदाप्रति कुनै अत्याचार हामी सहन्नौं।’
काष्ठमण्डप इतिहासमै पहिलोपटक ढलेको हो। पुरातात्विक अनुसन्धानले यसका बास्तुकला र कयौं भुइँचालो थेगेको सम्पदा यो पटक किन भत्कियो भनेर तथ्य बाहिर निकालेको थियो। अनुसन्धानमा यसका ४ खम्बामध्ये उत्तरपूर्वी खम्बा भत्किएकाले ढलेको पुष्टि गरेको छ।
काष्ठमण्डपलाई एउटै रुखबाट बनेको सत्तल मानिन्छ जसलाई ‘मरुसत्तः’ भनिन्छ। नेवारीमा सत्तः भनेको पाटी हो। यो सत्तलले नेपाल हुँदै तिब्बत र भारत ओहोरदोहोर गर्ने बौद्य धर्मावलम्बी र व्यापारीलाई आश्रय दिएको थियो।
‘यसका काठ अझै प्रयोग गर्न मिल्ने छन्। यसलाई पुनर्निर्माणमा प्रयोग गर्दा खर्च कम हुन्छ,’ श्रेष्ठले भने, ‘सरकारी निकायले बेवास्ता गरेर पुनर्निर्माणमा ढिलाइ गर्ने हो भने यी काठ कुहिने र हराउने सम्भावना बढेर जान्छ।’
सभ्यताको धरोहर काष्ठमण्डप पुनर्निर्माणमा महानगरले छिट्टै खाका सार्वजनिक गरेर काम अघि नबढाए आफूहरू चुप नबस्ने श्रेष्ठको भनाइ छ। ‘यो वर्ष पनि काम सुरु नभए हामी चुप लागेर बस्दैनौं,’ उनले भने।